नेपाली महिलाको महान् पर्ब तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजार तीजगीतका भाकाले उल्लसित बन्न थालेको छ । यस्तै बेला, लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले सार्वजनिक गरेको ‘छड्के कपाल किन कोरेको…’ गीतले नेपाली मौलिक तीज गीतमा नयाँ तरङ्ग पैदा गरेको छ।
तीजको मौलिक परम्परा, नारी सशक्तिकरण र सांगीतिक सौन्दर्यको त्रिवेणीलाई संयोजन गर्ने यो गीतले आजका युवापुस्तासँगै ग्रामीण महिलाहरूको मनको भाव बोकेको छ। सांगीतिक साधनामा दुई दशकदेखि सक्रिय खनालले यस वर्षको तीजमा आफ्ना दर्शक–श्रोतामाझ तीजको मौलिकतासङ्गै भिन्नै स्वाद प्रस्तुत गरेका छन् । जति सुन्यो त्यति सुन्न मन लाग्ने खालको लय र शब्दले गीतलाई कालजयी बन्ने आभास दिलाएको छ ।
छाडा र उत्ताउला गीत बनाए मात्र चल्छ भन्ने विपरीत सोचबाट ग्रसित जमातले खनालको सृजना सुनेर मनन गर्नुपर्ने देखिन्छ । खनालको सुपा देउराली भजन पनि दर्शकबाट अत्याधिक रुचाइएको थियो । उनका दर्जनौं गीत सांगीतिक बजारमा कालजयी बनेर छाएका छन् ।
गीतमा स्वयम् मोतिराज खनाल र लोकप्रिय गायिका राधिका हमालको सशक्त स्वर सुन्न सकिन्छ । साथमा दिपेश बिष्ट, कृष्ण खत्री, रश्मि भुजेल र कल्पना मल्लको समूह-स्वरले गीतलाई अझै सुमधुर र सशक्त तुल्याएको छ । शब्द, संगीत र स्वर खनालकै हुन् भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । रेकर्डिङ तथा मिक्सिङ कृष्ण बाजुरालीले गरेका हुन् ।
थुप्रै म्युजिक भिडियोदेखि अतिभो सिरियल र ख्याल ठट्टामा समेत निर्देशकको भूमिका निभाइसकेका चर्चित भिडियो निर्देशक सुरज खनालले यस गीतमा निर्देशन गरेका छन् भने कोरियोग्राफर शिवजी क्षेत्रीको नृत्य संयोजन रहेको छ । छायाङ्कन, सम्पादन र रङ संयोजन सुशील डाँगीले गरेका छन् ।
भिडियोमा कृष्ण खत्री र रिना गुरुङको अभिनयले गीतमा उर्जा भरेको छ । रिना गुरुङ्ग सांगीतिक बजारमा आफ्नो नाम स्थापित बनाउन सफल मोडल हुन् । उनको अभिनय रहेको म्युजिक भिडियोहरुले दर्शकको मन जित्न सफल भएका छन् । साथमा गीता खनाल, अस्मिता खनाल र कृष्टिना शाहको अभिनयले गीतमा रङ भरेको छ । ललितपुरको यूएन पार्कमा छायाङ्कन गरिएको भिडियोलाई जीवन पासाको मेकअप, विशाल राईको आईटी समर्थन र शिवजी डान्स सेन्टरको पोस्ट प्रोडक्सनले थप जीवन्त बनाएको छ ।
गीत युट्युब, फेसबुक र टिकटकमा छोटो समयमै भाइरल बन्दै गएको छ। यसअघि खनालले सार्वजनिक गरेको ‘सुपादेवी देउरालीकी माइ’ भजन पनि अत्यधिक मन पराइएको थियो । त्यही निरन्तरतामा आएको ‘छड्के कपाल किन कोरेको’ले विशेषगरी महिला दिदीबहिनीहरूको भावना अभिव्यक्त गर्दै यस तीजमा आत्मीयता जगाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया