लन्डन । नेपालमा गएको महाभूकम्पले पुर्याएको पीडाको असर एक महिना पुग्दासम्म पनि सकिएको छैन । राहत संकलनदेखि लिएर उक्त घटनामा ज्यान गुमाउन पुगेकाहरुको लागि समवेदना प्रकट गर्ने कार्यक्रम निरन्तर रुपमा चलिरहेकोछ । त्यस्तैगरी यही मे २३ तारिख शनिबारका दिन लन्डनस्थित हान्स्लो हाई स्ट्रिटको होली ट्रिनिटि चर्चको अगाडि एक भब्य कार्यक्रमको आयोजना गरिएको थियो । लन्डन बरोह अफ हान्स्लोको सक्रियतामा हेल्प नेपाल नेटवर्क र पत्रकार महासंघ बेलायतको सहकार्यमा गरिएको उक्त कार्यक्रममा सयौंको संख्यामा नेपाली तथा बेदेशीहरुको उपस्थिति रहेको थियो ।
साँझ ७ बजेबाट ९ बजेसम्मको कार्यक्रम तय गरिएको भए पनि शुरुवातमा भने केही ढिला भएको थियो । भुइंमा नेपालको झण्डा आकारले मैनबत्ति राखेर दीप प्रज्वलन गरिएको थियो । नेपाल तथा बेलायतको झन्डा फहराएर क्विन्स गुर्खा सिग्नलको तर्फबाट पेपर धुन बजाउनुका साथै रोयाल ब्रिटिश लीजनको तर्फबाट झन्डा आधा झुकाइएको थियो भने भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति स्मरण गर्दै १ मिनेट मौन धारण गरिएको थियो । लन्डन बरोह अफ हान्स्लोका मेयर कोरिना स्मार्ट संसदहरु रथ क्याडबरी,सीमा मलहोत्रा मेट्रोपोलिटन पुलिस सार्जेन्ट मार्क ओन्वी,लन्डन बरोह अफ हान्स्लोका हानवोर्थ इलाकाका काउन्सिलर बिष्णु गुरुङ तथा गोर्खा नेपलिज कम्युनिटि हान्स्लोका अध्यक्ष्य राम पोमुले आ-आफ्नो तर्फबाट मन्तब्य ब्यक्त गरेका थिए ।
मन्तव्यमा सबैले नेपालमा भएको बिपत्तिबाट आफूहरु अत्यन्त दुःखी भएको र उक्त घटनामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्दान्जलि ब्यक्त गर्दै पीडितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै उनीहरुको सहयोगको लागि सबैले एक हुनु पर्नेमा जोड दिएका थिए । काउन्सिलर बिष्णु गुरुंगद्वारा सन्चालित उक्त कार्यक्रममा नेपाली लामा, चर्च अफ इंग्ल्याण्ड, गुरुद्वारा, जामिया मस्क र हिन्दू मन्दिरको तर्फबाट पनि प्रार्थना गरिएको थियो । काउन्सिलर गुरुंगले नेपालले बेहोर्नु परेको क्षतिप्रति बिदेशमा बस्ने नेपाली तथा बिदेशीहरुले गरेको योगदानको प्रशंशा गरेका थिए । मन्तब्यपछि मैनबत्तिद्वारा निर्मित नेपालको झण्डालाई उपस्थित अतिथिलगायत सर्वसाधारण सबैले दीप प्रज्वलन गरेका थिए । उक्त कार्यक्रममा हेल्प नेपाल नेटवर्कको तर्फबाट स्वयम् सेवक रीना आचार्य, मीना थापा, अन्जना तामांग र बिनिता बस्नेतले भूकम्प पीडितको सहयोगार्थ ८ सय ९० पाउण्ड अर्थात बर्तमान विनिमय दर अनुसार १ लाख ३६ हजार ९ सय रुपैयाँ बराबरको रकम संकलन गरेका थिए । कार्यक्रममा बेलायतस्थित पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।
अन्तमा क्विन्स गोर्खाको तर्फबाट धुन बजाएर करीब ९ बजेतिर कार्यक्रमको समापन गरिएको थियो ।
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया