एनआरएनए डेनमार्कद्वारा आगामी अधिवेशनका लागि निर्वाचन र सहमति सम्वाद समिति गठन

एनआरएनए डेनमार्कद्वारा आगामी अधिवेशनका लागि निर्वाचन र सहमति सम्वाद समिति गठन


कोपेनहेगन, डेनमार्क

गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको नवौं अधिवेशन आगामी सेप्टेम्बर १४, २०२५ मा कोपेनहेगनमा सम्पन्न हुने भएको छ। डेनमार्कमा बसोबास गर्ने नेपाली समुदायको साझा मञ्च एनआरएनए डेनमार्कले वर्तमान विधानको मर्म र भावनाको प्रतिकूल नहुने गरी, सक्दो धेरै सहभागीलाई समेटेर अधिवेशन र निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेको छ।

यसै सन्दर्भमा कमलराज शर्मा नेतृत्वको वर्तमान कार्यसमितिले निर्वाचनलाई पारदर्शी, निष्पक्ष र व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि एनआरएनए डेनमार्कका पूर्व अध्यक्ष यमलाल सुवेदीलाई प्रमुख निर्वाचन आयुक्तको रूपमा चयन गरेको जानकारी दिएको छ। नवनियुक्त प्रमुख निर्वाचन आयुक्त सुवेदी डेनमार्कको नेपाली समुदायमा प्रभावशाली र सक्षम व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ, उहाँलाई  नजिकबाट बुझ्नेहरुले बताएअनुसार सुवेदीले  प्रतिकूल परिस्थितिलाई पनि सहज र अनुकूल बनाउन सक्ने क्षमता राख्नुहुन्छ । प्रमुख निर्वाचन आयुक्तलाई सहयोग गर्न आवश्यकतानुसार अन्य निर्वाचन आयुक्तहरू पनि थप गरिने कार्यसमितिले जनाएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रमा उत्पन्न विवादमा अदालतको प्रवेशसँगै अझ गहिरिएको तिक्तताले डेनमार्कमा समेत प्रभाव पार्ने प्रयास देखिए तापनि डेनमार्कको वर्तमान कानुनी आधारमा क्रियाशील कार्यसमितिमा त्यसको प्रत्यक्ष प्रभाव परेको देखिँदैन। तर कतिपय गैरआवासीय नेपालीहरूमा स्पष्टताको कमी देखिएकाले संस्थाले सबैलाई बुझाएर एकताको डोरीमा बाँध्ने प्रयास गरिरहेको छ।

संस्थाका अध्यक्ष कमलराज शर्मा र उहाँको कार्यसमितिले विवादभन्दा माथि उठेर कार्य सम्पादन गरिरहेको देखिन्छ। यही प्रक्रियालाई अगाडि बढाउँदै संवादका माध्यमबाट विशेष किसिमले कार्यसम्पादन गर्न तथा सामाजिक एकता कायम राख्न पूर्व अध्यक्षहरू समेत समेटिएको चार सदस्यीय ‘सहमति संवाद समिति‘ गठन गरिएको छ । उक्त समितिमा दीपक सापकोटा, दिपेन्द्र चुडाल, यमलाल सुवेदी र निवर्तमान अध्यक्ष शैलेन्द्र अधिकारी रहनुभएको जनाइएको छ।

निर्वाचन आयोग गठनसँगै अब सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तारमा उत्साहजनक वातावरण देखिएको छ । आयोगले चाँडै नै मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया तथा मतगणनासम्बन्धी सम्पूर्ण कार्यतालिका तय गर्नेछ।

संघका पदाधिकारीहरूका अनुसार यो अधिवेशनलाई ऐतिहासिक र सफल बनाउन डेनमार्कवासी सम्पूर्ण नेपाली समुदायको सक्रिय सहभागिता अपरिहार्य रहनेछ । त्यसैले सेप्टेम्बर महिनाको ७ तारिक सम्म नयाँ सदस्यताको आवेदनसंगै पुराना सदस्यहरुलाई पनि नवीकरणको प्रक्रियामा आउनको लागि अनुरोध गरेको छ। 

यसैबीच, एनआरएनए डेनमार्कले एक विज्ञप्ति जारी गर्दै सबैलाई समयमै सदस्यता नवीकरण गर्न, विधानतः सदस्य बन्नसक्ने गैरआवासीयहरूले अनलाइन पोर्टलमार्फत नयाँ सदस्यता लिन र अधिवेशनमा सहभागी भइ आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ।

एनआरएनए डेनमार्कको नवौं अधिवेशन र निर्वाचनलाई लिएर नेपाली समुदायभित्र उत्साह र अपेक्षा दुवै उच्च रहेको डेनमार्कस्थित एनआरएनसँग आबद्ध व्यक्तित्वहरूले बताएका छन्।