विगततिर फर्केर सोनाम ग्याल्जेनलाई सुने भइहाल्छ त !

विगततिर फर्केर सोनाम ग्याल्जेनलाई सुने भइहाल्छ त !


राणाहरूको जहानियाँ शासनलाई अहिलेको तानाशाही प्रकृतिको शासकीय सत्तादलीय हुकुमतन्त्रले पुनरावृत्त गरिरहेको छ । छ्यालिससाले प्रजातन्त्र अहिले ३६ वर्षमा प्रवेश गरिरहेछ र यी यतिका वर्षहरूमा एकाध वर्षबाहेक प्रायः सम्पूर्ण वर्ष बूढा-पुराना तीन अघोषित ‘राजनीतिक सामन्त’हरूको परोक्ष हक-भोगको ‘प्राइभेट लिमिटेड’रूपी हुकुमी मातहतमा ‘देश’को परिभाषामा पर्ने मुख्य तत्वहरू (अन्तर्राष्ट्रिय सीमारेखाभित्रको भूमि वा भूगोल, जनता आदि) कँजिंदै आएका छन् । र, अहिले दुई दलले त्यो ‘तानाशाही’लाई ‘नाङ्गो स्वेच्छाचारिताको ऊर्जा’ समेत थपेर लादिरहेका छन् ।

२०४६ अघिको शासन व्यवस्थाभन्दा राम्रो, उन्नत, प्रगतिशील, जनउत्तरदायी, जनमुखी आदि-इत्यादि व्यवस्था हुने ‘भावनात्मक साहित्य’रूपी प्रतिवद्धताले नागरिकलाई सम्मोहित गरी उनीहरूको पवित्र र निश्छल सहभागिताको बलमा स्थापित ‘परिवर्तन’को आबरु हालका एमाले सांसद सोनाम ग्याल्जेन सेर्पाले गत असारको अन्त्यतिर भनेजस्तै गरी ढाक्नुपर्ने अवस्था पो छ कि अहिले ? वा कस्तो छ ? उनले हाल सत्तारथि पार्टी एमालेको एउटा गत्तिलै औपचारिक कार्यक्रममा फुर्किंदै भनेका थिए- ‘….पहिला हामी सेर्पाहरू सालमा एकखेप नुहाउने गर्थ्यौं, अहिले दिनदिनै नुहाउने भएका छौँ । यो सुधार हो कि होइन ? अनि देशमा सुधार भएकोे छैन भन्ने ?’

एमाले माननीय सोनाम ग्याल्जेनले साँच्चै भनेका हुन् । नपत्याए, २०४६ साल चैत २७ गते रोपेका सखुवाका विरुवाहरू, नमरी बाँचेजति, अहिले नाम्ले रुख भइसकेका छन् । त्यसै दिन वा त्यसै हप्ता वा त्यसका हाराहारी जन्मिएका शिशुहरू आज ३५/३६ वर्षका भइसकेका छन् र कतिपय त हजुरबा-हजुरआमा पनि भइसकेका होलान् । त्यसबेलाका गोठाला-खेतालाका शाखा-सन्तानमध्ये झन्नै अधिकांश अहिले, उसबेलाका साहू-महाजनको दर्जामा वा त्यसभन्दा पनि माथिका, रइस-बडाद्मी बनिसकेका होलान् ! अथवा, ३५/३६ वर्ष अघिका अधिकांश ‘रामे’हरू आज ‘रामबाबु’ बनिसकेका होलान्, ‘हर्के’हरू ‘हर्कमान’ भइसकेका होलान्, कतिपय ‘गरिबदास’हरू आज ‘कुबेरप्रसाद’ बनिसकेका होलान् !… होइन त ? आदि-इत्यादि !

त्यसोभए प्रजातन्त्र, लोकतन्त्र हुँदै आज गणतन्त्रमा आइपुग्दासम्म भएका यतिका ‘परिवर्तन’ के हुन् त ? २०४९ सालसम्म सुकुमवासीमा बाकाइदा सूचिकृत व्यक्ति आज देशकै तिजोरी चलाउने ताला-चाबीको जिम्मेवार बनेर विशाल महलमा लखनवी-नवाबी जीवन उग्राउँदो छ । २०२८ साल अघिसम्म झापा घैलाडुबाको दाहाल मिलको हल्कारा ठिटो आज ‘देशकै एकाधिपति हूँ’ भनेझैँ मातिएर सिँगौरी खेल्ने भएको छ । र, बीचमा हत्याराको संगतमा बगालिएर ‘निर्दाेष मान्छे’ काट्ने क्रममा पक्राउ परी जेल बसेको १४ वर्षलाई ‘राजनीतिक संघर्षका वर्ष’हरूको मोठमा जोडाउँदो छ र, ‘संघर्ष’को खातामा हिसाब दर्ज गराउँदो छ । के यी सबै एमाले सांसद सोनाम ग्याल्जेनले भने झैँ प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका उम्दा परावर्तन वा प्रतिबिम्बहरू होइनन् त ? त्यसोभए अहिले सरकारबाहिर रहेका पार्टीका अगुवाहरू हावामा सरकारको विरोध गरेर ‘नेता’ हुँदै त छैनन् ?

यसरी पनि कुरो नबुझी नहुने दिन पनि आउँदै होला कि ! उहिले राणाकालमा रैती-रैतान मानिने नागरिकले ‘बाङ्गो रुख’लाई ‘अहा ! कति सोझो रुख !’ नभने गर्धनले तुरन्तको तु दुःख पाउँथ्यो, अरे । खोइ, इतिहास त्यसै भन्छ !…. पछि राजा नेतृत्वको पञ्चायतकालमा देशको सेरोफेरोका भालुभुत्ते, कालकाँधे, रिट्ठे, कैटे, कौडे, कन्दने, हरिपुङ्ताम, हरिलठ्ठक, डेढअक्कली, ढेउडा इत्यादि वर्गकाहरू पनि ‘पञ्च’मा उल्था भएपछि ‘हामेरका सिरि पान्सर्खारले बक्स्या पञ्चेती ब्यवस्तामा बिस्सोकै उत्किस्ठ पर्जातन्त्र छ ! अ.त,-का पढ्के बाउँठहेरू तेस्सै टिमुर्किन्छ, झ्याक्नेका बाऊहेरू !’ – भन्दै बुर्कुसी मारिडिंड्थे । एमाले सांसद सोनाम ग्याल्जेनले पनि अहिलेको शासकीय चलखेललाई झन्नै त्यति नै जति र त्यही पाराले न सराहना गरे भने विचराको बोधशक्ति, अनुभूति र अभिव्यक्तिको क्षमता हेरेरै त एमालेले सांसद बनाएको होला भन्ठान्न किन अक्मकाउनु ? भनेपछि, किन उनको बुझाइलाई पछ्याई-पछ्याई गिज्याउँदै पखालिरहने हँ ?!?