नेपालको पहिचान संकटमा : मौलिक भाषा, संस्कृति र परम्परा जोगाऔँ

नेपालको पहिचान संकटमा : मौलिक भाषा, संस्कृति र परम्परा जोगाऔँ


नेपालको पहिचान केवल भौगोलिक सीमामा मात्र सीमित छैन, यसको आत्मा भनेकै नेपाली भाषा, धर्म, संस्कृति, इतिहास, भेषभूषा र मौलिक परम्परा हो । तर पछिल्ला केही वर्षयता यी आधार स्तम्भहरूमा गम्भीर चुनौती खडा भएको विज्ञहरूले चेतावनी दिएका छन् ।

भूराजनीतिक संवेदनशीलता, राजनीतिक अस्थिरता, युवाशक्ति विदेश पलायन, भाषिक र सांस्कृतिक उपेक्षा, साथै धर्मनिरपेक्षताको गलत व्याख्याले नेपाललाई कमजोर बनाउन थालेको जानिफकारहरूको भनाइ छ ।

राष्ट्रको आत्मा हराउने खतरा

विशेषज्ञहरूको भनाइमा, नेपालले केवल सीमा सुरक्षित गरेर आफ्नो अस्तित्व जोगाउन सक्दैन । नेपालको पहिचान रक्षा केवल अतीत सम्झनु मात्र होइन, भविष्य सुरक्षित गर्ने कार्य हो । यदि हामीले भाषा, धर्म, संस्कृति र इतिहास जोगाउन सकेनौँ भने भौगोलिक सीमा रहे पनि राष्ट्रको आत्मा हराउनेछ ।

समाधानका दिशा

■ विद्यालयदेखि विश्वविद्यालयसम्म नेपाली भाषा, इतिहास र संस्कृतिलाई अनिवार्य बनाउनुपर्छ ।
■ राष्ट्रिय पोशाक र परम्परागत पर्व-उत्सवलाई युवापुस्तामा लोकप्रिय बनाउनुपर्छ ।
■ प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार गरी पर्यटनसँग जोड्नुपर्छ ।
■ भारत र चीनबीच समान दूरीको कूटनीति र राष्ट्रिय सुरक्षा रणनीति बलियो बनाउनुपर्छ ।
■ युवालाई स्वदेशमै रोजगारी दिन कृषि, पर्यटन, ऊर्जा र सूचना-प्रविधिमा लगानी बढाउनुपर्छ ।

जनतालाई सचेत रहन आह्वान

नेपाललाई कमजोर पार्ने रणनीति बाह्यशक्तिबाट मात्र होइन, आन्तरिक विभाजनकारी प्रवृत्तिबाट पनि उत्पन्न भइरहेको विज्ञजनको ठहर छ ।

हामी नेपाली प्रायः व्यक्तिगत चिन्तामा मात्र अल्झिन्छौं । राष्ट्रियता चितामा पुग्न लागेको खतरालाई बुझ्न सकिरहेका छैनौं । यही सबैभन्दा ठूलो चिन्ताको सन्दर्भ हो ! अवस्था बुझौँ र कर्तव्य निर्वाह गरौँ !! जय मातृभूमि !