>स्कुले–जीवनमा इतिहासको किताब पढ्ने क्रममा वीर बलभद्र कुँवरले काँगडामा अङ्गे्रगसँग नेपाली भूभाग जोगाउन देखाएको बहादुरीको कथा हाम्रो पुस्ता या त्यसभन्दा पछिकाले पनि पढे होलान् । त्यो पाठ पढ्दा म आफूलाई कुँवर भएकोमा गर्व लाग्थ्यो । जंगबहादुर कुँवरले भारत र नेपाल छुट्याउने सिमाना जङ्गेपिलर गाडेर आफ्नो सार्वभौम सत्तालाई सीमाकृत गरेको कुरा अलिक माथिल्लो कक्षामा पढियो, त्यसमा पनि मलाई गौरव नै लाग्दथ्यो । मेरा पुर्खाले नै सिंहदरबार बनाएका थिए जहाँ अहिले प्रधानमन्त्री कार्यालयसमेत छ । मलाई पनि आफ्नो या ‘मेरो’ जातले यो मुलुकको रक्षाका लागि विगतमा दिएको योगदानले नेपाली हुनुमा गौरवान्वित बनाउनु स्वाभाविकै थियो । मजस्तै यस देशको सीमा रक्षा, स्वतन्त्रता र विकासमा योगदान दिने सबै जातजाति आफ्ना पुर्खा र जातसँग गौरव गर्नु स्वाभाविकै हो । ०६२÷६३ को आन्दोलनपछि माओवादीले बुझेर हो वा नबुझेर हो जातीय आधारमा राज्य हुनुपर्ने कुरा अगाडि ल्यायो । आज त्यही कारणबाट जात–जातबीच वैयमनष्यताको बीउ रोपिएको प्रस्ट देखिएको छ । जब प्रत्येक जातजाति, जातको आधारमा मात्र होइन स्थानविशेषको आधारमा पनि राज्य माग्न थाले त्यसपछि क्षेत्रीहरूले पनि आफ्नो अस्तित्वरक्षाका लागि सामूहिक हुने कार्यक्रम अगाडि बढाए । एक दिन केही क्षत्री मित्रहरू मेरो कार्यालयमा आए । उनीहरूले मलाई पनि क्षत्री सङ्गठनमा लाग्न अनुरोध गरे । मैले स्पष्टसँग आफू जातीय सङ्गठनमा नलाग्ने कुरा बताएँ । मैले भने, ‘जात केवल आफ्ना पुर्खाहरू चिन्न सजिलो होस् भनी बताएको टाइटल मात्र हो । मानौँ नेपालमा तीन करोड जनता छन् ती सबले आ–आफ्ना पुर्खाबारे जान्नुपर्यो भने आ–आफ्नो टाइटलबाट खोज्दा सजिलो हुन्छ । कुँवर टाइटलवालाले कुँवर टाइटलकै खोजे पुग्यो, यादवले यादव मात्र खोजे पुग्यो, तामाङले तामाङ टाइटलबाट खोजे पुग्यो । त्यसैले हरेक मुलुकमा विभिन्न टाइटल राखेका मानिस हुन सक्छन्, तर हाम्रो वास्तविक जात त नेपाली हो । म त्यसैले टाइटलकै नाममा नेपालको समग्र नागरिकको भावनामा चोट पुर्याउने गरी प्रयोग हुन सक्ने गुट–उपगुटमा लाग्न सक्दिनँ । तपाईंहरूले पनि यसो गर्नुहुँदैन । मेरो कुरा क्षत्री समाज भनिने त्यो समूहलाई मन परेन । त्यसपछि उनीहरूले पुनः मलाई सम्झाउने शैलीमा भने, ‘हेर्नुस्, देशभर जात–जात भएर गोलबद्ध हुने काम भइरहेको छ । यस परिवेशमा यदि हामी पनि गोलबद्ध भएनौँ भने हाम्रो सुरक्षा र हक–अधिकारमा नै आघात पुग्न सक्छ ।’ सो तर्कको खण्डन गर्दै मैले भने, ‘त्यो टे«न्डलाई हामीले रोक्नुपर्छ । त्यसलाई रोक्नतिर नलागी उल्टो आफू पनि त्यस्तै सङ्गठन बनाउँदै जाने हो भने त मुलुकमा दुर्घटना हुने निश्चित छ ।’
त्यस दिन लामै कुरा भयो । उनीहरूले मलाई सल्लाहकारको भूमिका निर्वाह गरिदिन अनुरोध गरे, तर म जातीय सङ्गठन बनाउने र त्यसभित्र गोलबद्ध हुने कुरामा तयार भइनँ । मैले पछि भने– नेपाली नै हाम्रो जाति हो । हरेक जातजातिले गौरवसाथ राज्यको नागरिक भएर बाँच्न पाउनुपर्छ ।
त्यसपछि उनीहरू अलिक नराम्रै मानेर फर्किए । वास्तवमै त्यस दिन मलाई क्षत्री सङ्गठनमा लाग्न उनीहरूले धेरै उदाहरणहरू दिएर सम्झाएका हुन् । उनीहरूले यो तर्कमा जोड दिएका थिए कि यो मुलुकको सीमारक्षा गर्न, सयौँ वर्षअगाडि अङ्गे्रजलाई हराउन, बाइसे–चौबीसे राज्यहरूलाई एउटा विशाल नेपालका रूपमा ऐक्यबद्ध तुल्याउन विशेष योगदान दिने खस जातिलाई हालको संविधानमा ‘अन्य’ जातिमा राख्न खोजिएको छ, के हामी कुनै पहिचान नभएको ‘अन्य’मा पर्दछौँ ?
वास्तवमा यो कुरा सही नै थियो । त्यो सुनेपछि मलाई आफ्नै अस्तित्वरक्षाका लागि पनि त्यो गुटमा लाग्नैपर्ने हो भनेजस्तो पनि नलागेको होइन, तर त्यस दिन मैले आफ्नो जातभन्दा ठूलो ‘नेपाली’ हुन नै गौरव महसुस गरेँ । यो घटनापछि मैले यसै पत्रिकाको नियमित स्तम्भमा एउटा लेख लेखेँ जसमा लाइबेरियाको गृहयुद्धको एउटा सत्य घटना उदाहरणस्वरूप प्रस्तुत गरिएको थियो । एकपटक पुनः उक्त सत्य घटना स्मरण गराउन चाहन्छु ।
मेरो भेट लाइबेरियाका दुई काला युवकहरूसँग भयो जो ड्रग्स सेवन गर्दथे । उनीहरू ड्रग्सबाट बाहिरिन मेरो मद्दत चाहन्थे । कुरैकुरामा उनीहरूले देश छोडेर भाग्नुपरेको र देशमा गृहयुद्ध चर्किएपछि ड्रग्स सेवन गर्न बाध्य हुनुपरेको कथा बताए । उनीहरूले भने, ‘हामी हाम्रो मुलुकमा जानै सक्दैनौँ किनकि हामी बाँच्न चाहन्छौँ ।’ उनीहरूले एक उदाहरण दिँदै भयावह स्थितिको चित्रण यसरी गरे, ‘जब त्यहाँ गुरिल्ला विद्रोह सुरु भयो त्यसपछि गाउँ–गाउँमा पनि आफ्नो सुरक्षाका लागि प्रतिकार समूह खडा गर्न थालियो । लडाइँ अगाडि बढ्दै गएपछि खाद्यान्न सङ्कट हुन थाल्यो र एक गाउँका सशस्त्र फौजले अर्को गाउँमा लुटपाट गर्ने क्रम सुरु भयो । यसबाट वैमनष्यता यति बढ्यो कि एउटा गाउँको मानिस अर्को गाउँमा पुग्दा त्यहाँका गाउँलेले गोली ठोकेर मारिदिन थाले ।’ घटना यसरी अघि बढ्छ । एकपटक ती युवकका गर्भवती दिदी–बहिनी अर्को गाउँको आफन्तलाई भेट्न जाँदा त्यहाँका बन्दुक बोकेका अल्लारे युवकको फेला परिछिन् । ती युवकले ती चेलीलाई जिस्क्याउनुसम्म जिस्क्याई अन्तमा उनको गर्भमा छोरा होला कि छोरी ? भन्दै बाजी थापेछन् । त्यही बाजीको फैसला गर्न ति अल्लारे सशस्त्र केटाहरूले ती चेलीको भँुडी छुरीले फुटाई बच्चा निकाली हेरेछन् । त्यसपछि पीडाले छटपटाएकी ती चेलीलाई छोडिदिएछन् । पेट बाहिर निस्केको ती चेलीले केही परसम्म सर्दै पाइला सारिछिन् र ड्याम्म लडेर त्यहीँ प्राण त्यागिछिन् ।
जात–जात, क्षेत्र–क्षेत्र, समूह–समूहबीच वैमनष्य भई आफू–आफूमै काटाकाट गरेका अनगिन्ती घटना मलाई थाहा थियो, यसैले गर्दा म क्षत्री भएर पनि नेपालमा क्षत्री सङ्गठन बनाउनुपर्छ भन्ने पक्षमा थिइनँ । सुडान यिनै कारणले टुक्रियो । जातीय र क्षेत्रीय कुरा गर्दागर्दै श्रीलङ्कामा हजारौँले ज्यान गुमाउनुपर्यो । अरू क्षेत्र अति विकसित भइसक्दा पनि लडाइँकै कारणले जाफ्नाको जनजीवन गरिबीमै रहन बाध्य भयो । ०४८ सालपछि राजनीतिक दलमा आबद्ध भएर चुनावमा भोट हालेकै कारणले पनि आज नेपालका कति घर–घर एक–अर्काका जानिदुश्मन भएको छ । मान्छेलाई यही राजनीतिक आस्थाकै कारण खुलमखुल्ला रूपमा झुन्ड्याएर मार्ने क्रम यहीँ देखिसकियो । त्यसमाथि अब जात–जात र क्षेत्र–क्षेत्रको आधारमा पनि मान्छे छुट्याइदिने हो भने हाम्रो मुलुकको हालत पनि लाइबेरियाकै जस्तो हुने निश्चित छ । त्यसैले पहिलेदेखि नै धर्मको नाममा, राजनीतिको नाममा, मानिस–मानिसबीच वैमनष्यता सिर्जना भइरहेको अवस्था यो मुलुकमा हुँदै छ र त्यसमा अझ यदि जातीयता–क्षेत्रीयताको पनि बीउ रोपिदिने हो भने सम्हाल्न नसक्ने गरी यहाँ लडाइँ हुन सक्छ भन्दै आएको हुँ ।
मानिसको पहिलो अवस्था घुमन्ते थियो । अहिले संसारकै विकसित भनिने अमेरिकाजस्तो मुलुकमा संसारभरिबाट मानिस आएका छन्, तर खोइ त त्यहाँ आदिवासी र नयाँबासी भन्दै लडाइँ छैन त । अझ त्यो देशले चिठ्ठा खोली–खोलिकन अन्य देशबाट मान्छे लगेर आफ्नो नागरिक बनाएको छ । खोइ त त्यहाँ ‘तिमी नयाँ अमेरिकी’ भनी कसैलाई औंलो ठड्याइएको छैन । मैले त्यहाँ हुँदा टीबीमा एउटा विज्ञापन देखेको थिएँ जसमा विभिन्न मुलुकबाट आफू अमेरिका आई सफल भएको हुँदा त्यस स्थानमा तपाईंहरू पनि आउनुहोस्, बस्नुहोस् र प्रगति गर्नुहोस् भनेर अनुरोध गरिएको थियो । जब अमेरिका, बेलायत, अस्टे«लियाजस्ता देशमा शरणार्थी भएर गएकालाई नागरिक बनाई बराबर सम्मान प्रदान गरिन्छ भने हाम्रोजस्तो गरिब मुलुकमा चाहिँ आफ्नै देशवासीको जातीय पहिचान किन चाहियो ? के नागरिकता प्रमाणपत्र राज्यले दिएको जातीय पहिचान होइन ?
यहाँ राज्य सञ्चालन तहमा बसेका जिम्मेदार मन्त्री नै जात, क्षेत्र र वर्गविशेषको कुरा गरेर सद्भाव खलबल्याउने कुरा गर्न हिचकिचाउँदैनन् । केही दिनअघि मन्त्री हृदयेश त्रिपाठीले टेलिभिजन–अन्तर्वार्तामा यस्तै कुरा गरेको भन्ने मैले सुनेँ । उनले क्षेत्री–बाहुनका सम्बन्धमा बढो होच्याएर बोलेछन् । उनले भने रे, ‘अब तिनको पालो गयो उ’ हिजो अङ्गे्रजसँग हिन्दुस्तानजस्तो विशाल मुलुकले आफ्नो सार्वभौम सत्ता जोगाउन नसकेको अवस्थामा यिनै पहाडका नेपालीले नै हातमा खुकुरी समाई यो मुलुकको रक्षा गरी उपनिवेश बन्न नदिएको कथा सायद त्रिपाठीजीलाई राम्ररी थाहा भएको भए सायद उनले त्यस्तो अभिव्यक्ति दिने थिएनन् कि ?
जातीय राज्यको घनघोर वकालत गर्ने प्रचण्डसँग जान्न चाहन्छु, के तपाईंहरूले खोजेको जातीय राज्य मन्त्री त्रिपाठीले भनेझैं नै हो ? वा, अहिले देशभर सुरु भएको जातीय दङ्गा नै त्यसको मोडेल हो ? के तपाईंहरूले जातीय राज्यको नाममा देशलाई लाइबेरियाजस्तो गृहयुद्धमा धकेल्नै खोजेको हो ? वा, जातीय राज्य नभएकै कारण नेपालको विकास र सार्वभौम सत्तामा कहाँ असर परेको थियो ? होइन भने यदि तपार्इंहरूको कारणले नेपाली समाजमा पैदा हुन लागेको भयङ्कर गृहयुद्धको जिम्मा कसले लिने ? कामरेड प्रचण्डसँग मेरो सीधा प्रश्न र चेतावनी यही छ, कतै तपाईंहरूको कारणले देश लाइबेरिया वा सुडान नबनोस् ।
प्रतिक्रिया