धार्मिक दृष्टिले गाई अति पूजनीय प्राणी ! टन्न प्रसाद, बेलपत्र, अक्षता चढाएर पुजा गरिने । तर गोरु ? त्योचाहिँ खेतबारीमा दिनभरि हलो तान्दै बिताउँछ र गाली मात्र खान्छ । गाइलाई आमा भनेपछि गोरुलाई बाउ भन्न किन नसकिएको ?
✍ खेम दाहाल
हिजो राति सुत्नुभन्दा पहिले नारायण गोपालले गाएको नातिकाजीले सङ्गीत भरेको कवि भूपि शेरचनले रचना गरेको ‘आजै र राति के देखेँ सपनी मै मरी गएको…’ बोलको गीत सुन्दै थिएँ । श्रीमतीचाहिँ राजेन्द्र कार्कीले लेखेको खाइराइड नामको हास्यब्यंग्य किताब पढ्दै थिइन् । म भुसुक्क निदाएछु । राति सपना देखेँ, त्यो पनि अचम्मको- सपनामा श्रीमतीले मलाई लेखनाथ पौडेलको प्रसिद्ध कविता सुनाउँदै थिइन्-
गुनको बैरी मानिस जाति,
सुस्क गराइ गुणीको छाती ।
मकन हरे शिव शान्ति र चैन,
सपनाभरि पनि रतिभर छैन !
हेर्दाहेर्दै उनी त सुगा पो भइन्, अनि भन्न थालिन्- ‘सुन बुडा.. हाम्रा पुराना अनुजीवन र संस्कृतिमा पशुहरूले महत्वपूर्ण स्थान ओगटेका छन् । गाईलाई आमा भन्छौ, तर गोरुलाई भने दिनमा १७ पटक ‘गोरु’ भनिरहेको हुन्छौँ – त्यो पनि गालीको रूपमा ! के गोरु गाईको दाजु होइन ? अनि दाजु भनेर त सम्मान गर्नुपर्ने हो, अनि गोरू गाइको पोइ होइन ? हो भने गौबा भन्नु परेन ? होइन र ?’
जुन समाजले गाईलाई दूध दिने अमृतदातृ मानेर पूजा गर्छ, त्यसैले गोरुलाई खेती गर्न लगाएर वर्षभरिलाई अन्न जोड्छ, अनि काम सकियो कि त ‘गोरु !’ भनेर थर्काउँछ पनि । यत्रो अन्याय ?! गोरु त कृषक वर्गको सहयोगी हो – असली ‘ग्रीन टेक्नोलोजी’ भनेपनि हुन्छ – तर, सम्मानको साटो गाली खानुपर्ने ! अब भन्नु त, कसैलाई ‘तँ गोरु’ भनेर हकार्न पाइन्छ ?
किन आजभोलि मानिसहरू गधा, कुकुर, सुंगुर, बाँदर, उल्लु, गोरु, काग, चमेरो, मल्साप्रो, सर्प, गोही, छेपारो – सबै जनावरको नामलाई गालीको रूपमा प्रयोग गर्छन् ? के यिनको कुनै ‘गालीय सम्मान’ छ र ? के कागले कहिले सोचेको थियो, ‘आज म बिहान सबेरै उठेर करिव २७ जना मान्छेलाई ‘काग’ भन्न प्रेरणा बनिदिउँ ?’ ल मानौँ, मानिसलाई गाली दिन मन लाग्छ, केही ‘मिलेको’ गाली खोज्नुपर्छ । तर, ‘तँ गोरु !’, ‘तँ गधा !’ भन्नु कति न्यायोचित होला ? गधा त हो नि साह्रै मेहनती प्राणी । उसले कहिल्यै कसैलाई काम गर्न अवरोध गरेन । पानी खान नपाएको दिन पनि ऊ मुस्कुराउँदै भारी बोक्दछ । तर, हामी भन्छौं- ‘यति पनि थाहा छैन, तँ गधा !’ यसको औचित्य के ?
‘सुंगुर’लाई त सरासर गिज्याउने गरिन्छ । एउटा निरीह प्राणी, जो बिहानदेखि बेलुकासम्म हिलोमै रमाउँछ- काठमाडौंको ट्राफिक जामजस्तो लाइफमा बाँचिरहेको ऊ प्राणीलाई पनि हाम्रा शब्दहरूद्वारा सम्मान मिल्दैन । पशुअधिकारवादीहरू सुंगुरको लागि कानुन ल्याउँछन् कि ल्याउँदैन्, त्यो त पछि हेरुम्ला, तर आम नेपालीको बोलीचालीमा ‘सुंगुर’ भनेको कुनै चरित्रहीन, नालायक मान्छेको गालीमात्र हो ।
त्यस्तै, कुकुर ! ‘कस्तो कुकुर हो – तँ कुकुर्नी’ भनिन्छ हामीकहाँ । अङ्ग्रेजीमा नि ‘सन अफ ए बिच’ भनेर कुर्लिन्छन् । तर कुकुर भनेको त बफादार जनावर होइन र ? हामीले कहिल्यै धोखा नदिने प्राणी उसैलाई ‘कुकुर’ बनाएर गाली गरेपछि निष्ठावान कुकुरहरू बसेर सोच्न थाल्या छैनन् होला र- ‘के हामी साँच्चै यति खराब छौँ ?’
अब कुरा गरौँ गाई र गोरुको । धार्मिक दृष्टिले गाई अति पूजनीय प्राणी ! टन्न प्रसाद, बेलपत्र, अक्षता चढाएर पुजा गरिने । तर गोरु ? त्योचाहिँ खेतबारीमा दिनभरि हलो तान्दै बिताउँछ र गाली मात्र खान्छ । गाइलाई आमा भनेपछि गोरुलाई बाउ भन्न किन नसकिएको ?
हामी त्यो समाज हौँ, जहाँ आफ्नो रिस व्यक्त गर्न जनावरहरूको माध्यम खोज्छौँ, तर प्रेम व्यक्त गर्दा कि फूल वा चन्द्रमा चाहिन्छ कि त जीवनोपयोगी नभएका मृग, परेवा र डल्फिन जस्ता जनावर चाहिन्छ । ‘तिम्रो मुहार चन्द्रमा जस्तो छ’ भनेर माया देखाउने, तर रिस उठ्दा ‘तँ गधा, बाँदर, गोरु’ भन्ने ! आखिर जनावरहरूले के बिगारेका छन् त ? महिलाको सुन्दरता बर्णन गर्न परेवाआँखी, मृगनयनी भन्ने । के मृगले गोरुजति काम दिएको छ ? अनि परेवाले चाहिँ के दिएको छ त ?
अब पहिला आफैलाई हेर्नुपर्छ- हामीले गरिरहेको हिंसा शब्दमै लुकेको छ । वास्तवमा, ‘गोरु’ भएर हलो जोत्नुभन्दा सजिलो त कामदार भइ कम्प्युटरमा रिपोर्ट लेख्नु हो !
तर खास कुरा त सौन्दर्यको पनि छ कि, हाम्रो समाजमा स्त्रीको सौन्दर्यको बयान गर्न नयाँ-नयाँ प्राणीहरू जोड्न पाउँछ । पढ्नुभयो त ‘तिम्रो आँखा त परेवाको आँखाजस्तो छ !’ परेवाआँखी अरे ! परेवाको आँखाले के देखायो त ? परेवालाई हरेक गुफामा, धानको गाँसमा हेर्न मनपर्छ, त्यसै भएर होला- लाजमा झुल्किएको सुन्दरता परेवाकै आँखामा देखियो भन्छन् ।
त्यस्तै, शरीरको कुरा आयो भने अहिले इन्टनरनेटमा ‘डल्फिनको शरीर’ चर्चामा छ । नेपाली समाजले त इन्डियन फिल्मजस्तै ‘तिम्रो शरीर त डल्फिन जस्तो’ भन्न थालेपछि, पक्का सौन्दर्य प्रमाणपत्र पाइहालियो । डल्फिन- चिल्लो, चनाखो, पानीमा फुर्तिले पौडिने – स्त्रीसौन्दर्य कस्तो हुनुपर्छ भनेर प्राणीबाटै प्रमाणित गरिन्छ । अब त कामदार महिलाले सोच्छिन्- ‘मेरो शरीर डल्फिनको जस्तो छ कि छैन ?’ भनेर !
सौन्दर्यको यस्तो परिभाषाले ब्यापार बढायो कि सुन्दरता प्रतिस्पर्धामा, ‘परेवीआँखाको ब्रान्ड’ र ‘डल्फिन शरीरको जुम्लाख’ आयो । सौन्दर्य प्रतियोगितामा ‘सर्वश्रेष्ठ परेवाआँखा’को पुरस्कृत हुने र ‘डल्फिन शरीर’को विशेष उपाधि पाउने । भर्खरै स्वस्तिकाले भन्या, ‘म त डल्फिन जस्ती’, साथी भन्छ, ‘त्यो त ठीकै हो, तर परेवाको आँखाले फिक्स गरिदिएको छ ।’
यसको अर्थ, जनावरहरूको नाम गालीमा मात्रै सीमित छैन, सौन्दर्यमा पनि प्रयोग हुन्छ । अनुहारको उदाहरणमा ‘ब्राह्मण कपाल’ हुन्थ्यो, अहिले ‘प्यारी परेवीआँखा’ भयो । अनि शरीरको लचकता डल्फिनको शरीरमा खोज्न थालियो । अब त ‘स्त्री’ भन्नेबित्तिकै एक हातमा परेवा, अर्कोमा डल्फिन अनि गाईको दूध सम्झिएर पूजा गर्नुपर्ने होला ! कहिलेकाहीं विचार गर्छु सुन्दरता को परिभाषा कति ‘जैविक नजिक’ पुगेको छ ! अब ‘तेरो त आँखा परेवाको जस्तो, शरीर डल्फिन जस्तो’ भनेर मायालुलाई चिठी लेख्ने चलन आयो, विचरी मायालु भन्छिन्, ‘अब म के गरौं ? छानेर नयाँ अंग लाउन त सकिन्न नि !’
हाम्रो समाजमा कुकुर, बाघ, काग, गधा, गोरु-गालीमा त परे, अब परेवा, डल्फिन, मृग-सौन्दर्यमा परे । अर्को पुस्ता आउँदा त सायद ‘तेरो मुस्कान त खरायोको कानजस्तो लामो’ भन्ने ट्रेनिङ सुरु होला कि के थाहा !
अब सुन सौन्दर्यता र गालीमा जनावरलाई बलि दिने हाम्रो संस्कारको पुनरावलोकन गर्नुपर्छ । आखिर, ‘परेवाको आँखा र डल्फिनको शरीर’ पाउन त सजिलो छैन नि । न गोरुले सम्मान पाउँछ न त सुंगुरले । जनावरका नाम हाम्रो गालीमा पनि छ, सौन्दर्यमा पनि । अर्कोपटक तपाईं कोहीसँग रिसाउँदा, गधा, कुकुर, गोरु भन्नुअघि एकछिन सोच्नु- तपाईं उसलाई गाली गरिरहनुभएको हो कि कुनै निरीह, मेहनती, एकनिष्ठ जनावरलाई अपमान गरिरहनु भएको हो ? उनले अन्त्यमा भनिन्, ‘बुडा हेर जर्ज ओरवेलले एमिनल फार्ममा भने जस्तै सबै जनावरहरू संगठित भएर अन्दोलन गरे भने यी मनुवाहरुको के हविगत हुनेहोला ?’ यो सुनेर म त डराएछु अनि झसङ्ग बिउँझेँ र आँखा मिच्दै वरिपरि हेरेँ । श्रीमती मस्त निन्द्रामा थिइन् । सुगा त कतै थिएन । ज्ञानवर्द्धक प्रबचनको लागि श्रीमतीलाई मनमनै धन्यवाद दिँदै फेरि फेरि पनि यस्तै ज्ञानवर्द्धक कुरा सुनाउने याचना गर्दै फेरि निदाउने जमर्को गरेँ ।
(भ्यानकुवर निवासी लेखक अर्थशास्त्री हुन् ।)
प्रतिक्रिया