दशैंको नवमीका दिन गाडीमात्र होइन जहाजको पनि पूजा गरेर बलि दिएको देख्न सकिन्छ । हाम्रो विश्वासमा नवमीका दिन यदि सवारी साधनलाई बलि दिएर रगत नचढाएमा त्यस सवारीले त्यो वर्ष कुनै न कुनै दिन दुर्घटना भएर मानिसको मृत्यु भइ बलि खाएर छोड्छ । यसर्थ नवमीको दिन सवारी साधनमा बलि चढाउने गरिन्छ ।
✍ सुनिल उलक

आज (महानवमी) नेवाःहरुको मोहनी नखःको अर्को महत्वपूर्ण दिन स्याक्वत्याक्व । ‘कुछिभ्वय्को’ भोलिपल्टलाई ’स्याक्वत्याक्व’ भनिन्छ । यस दिन खासगरी काटमारको काम हुन्छ । सवारी साधनको पूजा तथा बलि दिने काम पनि आजकै दिन गरिन्छ । साथै घरमा प्रयोग गरिने विभिन्न ज्यावलहरु, पुस्तकहरु, हतियारहरु सबैलाई पूजा गर्दछन् । यस दिन पूजा गर्ने हुँदा नेवाःहरु विश्वकर्मा पूजाको दिन सवारी साधनको पूजा गर्ने गर्दैनन् । तर अचेल देखासिखी गर्दै विश्वकर्मा पूजाको दिन सवारी साधन तथा ज्यावलहरु पूजा गर्ने चलनको शुरुवात भएको पाउँछौ ।
नवमीका दिन रक्सी बनाउनेहरुले रक्सी बनाउने भाँडा (थापिंचा) पनि पूजा गर्ने गर्दछन् । यसका साथै ओखल, ढिकी, चुल्हो आदिलाई पनि पूजा गर्ने गरिन्छ । यस दिन नेवाःहरु विशेष गरेर कुभिन्डो स्थापना गरेर पूजा गर्ने गर्दछन् । यसरी पूजा गर्दा कुभिन्डोमा स्वस्तिक वा अनुहारको चिन्ह पनि बनाउँछन् । यसका साथै घरमा रहेका विभिन्न ठाउँमा पनि पूजा गर्ने गरिन्छ ।
‘स्याक्वत्याक्व’ शब्द भने सयेकुक्व त्यात शब्दबाट अप्रभंश भइ भएको भन्ने मान्यता छ । सयेकुक्व त्यातको अर्थ जति सिक्यो त्यति फाइदा हो । यसरी जति सिक्यो त्यति राम्रो भनिएको शब्द अचेल काटमार गर्ने दिनको रुपमा बुझ्ने गरिन्छ ।
स्याक्वत्याक्वलाई अर्को रुपमा महिषासुर मर्दिनीको कथासंग पनि गासिएको देखिन्छ । आजको दिनमा महिषासुर मर्दिनीको रुपमा भगवतीले रक्तविज रुपी राक्षसको हत्या गरेको दिनको रुपमा लिने गरिन्छ । रक्तविजलाई मार्न त्यति सहज भएको थिएन । विभिन्न रुप परिवर्तन गर्न सक्ने यि रक्तविजले विभिन्न जनावरको रुप लिएका थिए । यसै क्रममा हरेक जनावरहरुको हत्या गरिएको थियो । यसरी रुप परिवर्तन गर्दै जाने क्रममा अन्तमा रकतविज कुभिन्डोभित्र पसेपछि निस्कन पाएन । र, कुभिन्डोलाई काटेपछि रक्तविजको मृत्यु भयो । यसैले आजको दिन बिभिन्न जनावरहरुको काटमार गर्ने चलन चलेको भन्ने पनि कथ्य सुनिन्छ ।
नेवाःहरु आजको दिन कुभिण्डोलाई काट्ने गर्दछन् । कुभिन्डोलाई सफा गरिएको भुइमा राखिएको पिर्कामाथी राखिन्छ । परिवारको पुरुष सदस्यहरु सबै गोलाकार रुपमा कुभिन्डोलाई चक्कर लगाउने गरिन्छ । सबैभन्दा अगाडी परिवारको जेष्ठ पुरुषको हातमा बोकेको खुकुरी वा तलवारले कुभिन्डोलाई काट्ने काम गरिन्छ । काटिएको कुभिन्डोमा अबिर बोकेको कनिष्ठ सदस्यले अबिर दल्ने काम गर्दछ । यसरी रक्तविजको हत्या घर-घरमा गर्ने गरिन्छ । अचेल यो परम्परा पनि हराउदै गएको छ ।
सिकाःभू
घरमा काटिएको जनावर (कुखुरा वा खसी)को टाउकोको भागलाई ‘सिकाःभू’ लिने गरिन्छ । शरिरको सबैभन्दा महत्वपूर्ण पाँच इन्दिय ग्रहण गर्ने रुपमा सिकाःभू लिने प्रचलनको शुरुवात भएको मानिन्छ । पाँच इन्द्रियहरु आँखाले हेर्ने, कानले सुन्ने, नाकले सुँघ्ने, जिब्रोले स्वाद लिने तथा छालाले स्पर्ष गर्ने अंगका रुपमा लिइन्छ । दुइ आँखा, दुइ कान, एक नाक, एक जिब्रो, र बङ्गाराको दुई भाग गरेर आठ भाग बनाइन्छ । यसरी लगाइएको आठ भाग आठ शिर्ष सदस्यहरुमा सिकाःभूका रुपमा बाडिन्छ । यसरी सिकाःभूमा पनि परिवारको जेष्ठ सदस्यलाई दाहिने आँखा, त्यसपछि बाँया आँखा, त्यसपछि तेश्रो सदस्यलाई दाहिने कान, चौथो सदस्यलाई बाँया कान, पाँचौ सदस्यलाई नाक, छैठौं सदस्यलाई जिब्रो, सातौँ सदस्यलाई माथिल्लो बङ्गरा र आठौं सदस्यलाई तल्लो बङ्गरा दिइन्छ । यदि परिवारमा पुरुष सदस्य यस भन्दा कम भएमा बाकी रहेको भाग पनि थकाली सदस्यलाई नै दिने गरिन्छ । सिकाःभू खाइसकेपछि बल्ल भोज खाने गरिन्छ । भोजका पनि आफ्नै नियमहरु हुने गर्दछ । तर अचेल नियम विपरित खाने गरिँदा भोज खाएर पेट दुख्यो वा विमार भयो भन्ने गरिन्छ । भोज कसरी खाने, के के खाने तथा कति खाने भन्ने छुट्टै विवरण लेखिएको पुरानो थ्यासफूहरु भेटिन्छ ।
भोजनका चार चरण हुन्छ । यसमा थप्ने क्रम भोजन बाँड्नेले नै तय गरेको हुन्छ । यसभन्दा बढि कुनै सदस्यले लिएमा पछिल्लो चरणका खानेकुराहरु खान सकिदैन । र विमार हुने सम्भावना हुन्छ ।
खानाको परिकारमा पहिलो चरणमा ठूला देखि सानासम्म लहरै बस्ने कार्य गर्नुपर्दछ । त्यसपछि लहरै केराको पात ओछ्याउने कार्य शुरू हुन्छ । केराको बोटलाई शुद्ध मानिने हुँदा केराको पातमा खाने प्रचलनको शुरुवात भएको हो । यसपछि च्युरा राख्न थालिन्छ । च्युरा राख्दा एक एक मुठी मात्र राखिन्छ । यसपछि पकाएको मासु राखिन्छ । त्यसछि हरियो साग राखिन्छ । यसपछि प्रत्येकले बलि दिने (पितृलाई भाग दिने) कार्य पछि चिपंथि (जुठो हाल्ने) गरिन्छ । यसपछि छ्वेयला, फर्सी, बोडीको तरकारी राखिन्छ । यो भोजन पहिलो चरणमा हुने गर्दछ ।
दोश्रो चरणमा सबैभन्दा पहिलो च्युरा नै राखिन्छ । दोश्रोमा भुटेको मासु, सिमि तरकारी, केराउ, चना दिइन्छ । यि परिकारहरू करिव करिव सुख्खा परिकारहरू हुन् । तेश्रो चरणमा फेरी च्युरा राखिन्छ र अमिलोमा पाउँ क्वा अथवा मि क्वा, अयला (रक्सी), ह्याउ थ्व(जाँड) दिइन्छ । यी परिकारहरू खाना पचाउनका लागि नै दिने गरिन्छ ।
चौथो चरणमा अन्तिम रूपमा फेरि च्युरा राखिन्छ । च्युरासंगै दहि राखिन्छ । दहीको साथमा आवश्यकता र स्वादअनुसार चिनी पनि राखिन्छ । दही पछि फलफूल राखिन्छ । यसपछि भोजनको परिकार समाप्त हुन्छ । यसरी खाना समाप्त भएपछि आबश्यकता अनुसार दाँत कोट्याउने सिन्को दिइन्छ । यसपछि बाटा तथा पानीको भाडा लिएर आउँदछन् । र मुख चुठ्ने कार्य गरिन्छ । सबैभन्दा अन्तमा ल्वाङ, सुकुमेल, सुपारी दिइन्छ । यसरी भोज समाप्त हुन्छ ।
नवमीको रात म्वःनि सिन्हः अर्थात दशैंको मूख्य टीका मोहनी सिन्ह बनाउने गरिन्छ । यहि मोहनी सिन्हको नामबाट नै यो चाडको नाम मोहनी रहन गएको हो । बलिरहेको दियोमा माथिबाट अर्को पाला घोप्टाएर दियोको ध्वाँसो जम्मा गरिन्छ । यसरी जम्मा गरेको ध्वाँसोलाई नै मोहनी सिन्ह भनिन्छ । यस टीकालाई पहिले तान्त्रिक विधिबाट बनाइ यसलाई परिवारको सदस्यको निधारमा लगाइदिएमा सिद्धी प्राप्त हुन्छ भन्ने जनविश्वास गरिन्छ ।
दशैंको नवमीका दिन गाडीमात्र होइन जहाजको पनि पूजा गरेर बलि दिएको देख्न सकिन्छ । हाम्रो विश्वासमा नवमीका दिन यदि सवारी साधनलाई बलि दिएर रगत नचढाएमा त्यस सवारीले त्यो वर्ष कुनै न कुनै दिन दुर्घटना भएर मानिसको मृत्यु भइ बलि खाएर छोड्छ । यसर्थ नवमीको दिन सवारी साधनमा बलि चढाउने गरिन्छ ।
प्रतिक्रिया