हमासको आक्रमणमा प्रेमिका गुमाएका व्यक्तिद्वारा आत्महत्या

हमासको आक्रमणमा प्रेमिका गुमाएका व्यक्तिद्वारा आत्महत्या


सन् २०२३ अक्टोबर ७ मा नोभा सङ्गीत महोत्सवमा हमासको आक्रमणमा बाँचेका रोई शालेभको आत्महत्यापछि इजरायल शनिबार (११ अक्टोबर) दुःख र आघातले ग्रसित बनेको छ।

शालेभलेसामाजिक सञ्जालमा आफ्नो जीवन समाप्त गर्ने मनसाय व्यक्त गरेको केही घण्टापछि शुक्रबार राति तेल अभिभको उत्तरमा उनको शव जलेको कारमा फेला परेको थियो ।

‘म अब यो पीडा सहन सक्दिनँ, म भित्रभित्रै जलिरहेको छु, म यो पीडा अन्त्य होस् भन्ने चाहन्छु..- उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन् ।

यहूदी शबाथको समयमा सामाजिक सञ्जालमा सक्रिय रहने अधिकांश सत्तारूढ गठबन्धनका सदस्यहरूको विपरीत धेरै धर्मनिरपेक्ष विपक्षी राजनीतिज्ञहरूले शनिबार पीडितको आत्महत्याको समाचारप्रति दुःख व्यक्त गर्दै अक्टोबर ७ को आक्रमणमा बाँचेकाहरूको लागि ठूलो मानसिक स्वास्थ्य सहयोगको लागि आह्वान गरेका छन् ।

‘यो इजरायल राज्यको लागि मानसिक स्वास्थ्य समस्याबाट पीडितहरूलाई नायकको रूपमा व्यवहार गर्ने समय हो, तथ्याङ्कको रूपमा होइन’- हकिश इजरेल बेटेनु पार्टीका नेता एभिग्डोर लिबरम्यानले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

‘रोईले पीडा सहन सकेनन्, तर अरू अझै पनि यहाँ पीडाबीच जीउने सङ्घर्ष गरिरहेका छन्, निराश जीवनको सामना गरिरहेका छन्, बाँच्ने प्रयास गरिरहेका छन् । हामीले उनीहरूलाई सक्दो सहयोग गर्नुपर्छ ताकि उनीहरू एक्लो महसुस नगरून्’- डेमोक्र्याट्स पार्टीका प्रमुख याइर गोलनले लेखेका छन् ।

शालेभकी प्रेमिका मापाल आदम र उनका सबैभन्दा मिल्ने साथी हिली सोलोमनको दक्षिणी इजरायलको नोभा सङ्गीत महोत्सवमा अक्टुबर ७ मा उनको आँखाअगाडि हत्या गरिएको थियो।

हमास नेतृत्वको लडाकुहरूले दक्षिणी इजरायलमा अभूतपूर्व आक्रमण सुरु गर्दा तीनै जना कारमुनि लुक्ने प्रयास गरिरहेका थिए।

नरसंहारको दुई हप्तापछि शालेभकी आमाले पनि आत्महत्या गरेकी थिइन् । इजरायली सञ्चारमाध्यमका अनुसार उनी आदमसँग निकै नजिक थिइन् र उनको मृत्युले उनी स्तब्ध भएकी थिइन् ।

सन् २०२३ अक्टोबर ७ को बिहान प्यालेस्टिनी लडाकुहरूले गाजाबाट इजरायल प्रवेश गरी संगीत उत्सवमा सहभागी ३७० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए भने नजिकैका धेरै समुदायहरूमा पनि आक्रमण गरेको थिए।