अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले प्रोस्टेट क्यान्सरसँग लड्न विकिरण र हार्मोन थेरापी लिइरहेका उनका प्रवक्तामार्फत जानकारी गराइएको छ। प्रोस्टेट क्यान्सरको उपचार योजनाको एक भागको रूपमा पूर्व राष्ट्रपति बाइडेन हाल ‘रेडिएसन थेरापी’ र हर्मोन उपचार गराइरहेका बाइडेन प्रवक्ताको भनाइ छ ।
गत मे महिनामा ८२ वर्षीय पूर्व राष्ट्रपतिको कार्यालयले बाइडेनलाई हड्डीसम्म फैलिएको प्रोस्टेट क्यान्सरको आक्रामक रूप पत्ता लागेको घोषणा गरेको थियो ।
‘क्यान्सरले हामी सबैलाई छुन्छ। तपाईंमध्ये धेरैले जस्तै जिल र मैले पनि थाहा पाएका छौं कि हामी पीडा सहनका लागि सबैभन्दा बलियो स्थानमा छौँ, हाम्रा लागि प्रेम र सहयोगसहित प्रार्थना गरिदिनुभएकोमा सबै शुभेच्छुकलाई धन्यवाद छ’, बाइडेनको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।
ज्ञातव्य छ,पूर्व राष्ट्रपति बाइडेनका छोरा ब्यू बाइडेनको सन् २०१५ मा क्यान्सरका कारण मृत्यु भएको थियो ।
गत वर्ष डोनाल्ड ट्रम्पविरुद्ध दोस्रो पटक राष्ट्रपति पदका लागि चुनाव प्रचार गर्दा बाइडेनको स्वास्थ्य बिग्रँदै गएको अनुभव गरिएको थियो ।
सन् २०२४ जुलाईमा बाइडेनले ट्रम्पसँगको बहसमा कमजोर प्रदर्शनपछि उनले दौडबाट बाहिरिने घोषणा गरेका थिए र राष्ट्रपति पदका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका थिए ।
डेमोक्र्याटिक नेता ह्यारिसले छोटो समयमा राष्ट्रपति ट्रम्पसँगको प्रतिस्पर्धालाई उत्कर्षमा लगेपनि अन्ततः ट्रम्पसँग पराजित भएकी थिइन् भने ट्रम्पले सन् २०२५ को जनवरीदेखि आफ्नो दोस्रो कार्यकाल सुरु गरेका थिए ।
अमेरिकी क्यान्सर सोसाइटीका अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा सबैभन्दा सामान्य क्यान्सर हो । यो समस्या ८० वर्षभन्दा माथिका ८० प्रतिशत पुरुषको प्रोस्टेट ग्रन्थीमा हुने गरेको अनुसन्धानहरूले देखाएका छन् ।
प्रारम्भिक चरणमा रोग लागेको पत्ता लागेमा यसको उपचार सम्भव भए पनि यो पुरुषमा क्यान्सरको मृत्युको दोस्रो प्रमुख कारण भएको सङ्गठनले जनाएको छ ।
हार्मोन थेरापी एक सामान्य उपचार हो जसले ट्यूमरलाई खुम्च्याउन सक्छ र क्यान्सरको वृद्धिलाई ढिलो गर्न सक्छ, तर यो उपचार होइन।
प्रतिक्रिया