गाजा सम्झौता उल्लङ्घन गरे हमासको ‘अन्त्य’ हुने राष्ट्रपति ट्रम्पको चेतावनी

गाजा सम्झौता उल्लङ्घन गरे हमासको ‘अन्त्य’ हुने राष्ट्रपति ट्रम्पको चेतावनी


‘हमासले इजरायलसँगको गाजा सम्झौता उल्लङ्घन गऱ्यो भने यसलाई यसलाई पूर्ण रूपमा ‘अन्त्य’ गरिनेछ, तर प्यालेस्टिनी लडाकू समूहलाई युद्धविरामको सम्मान गर्ने मौका दिनेछन् ।’

ट्रम्पको उपरोक्त टिप्पणीलगत्तै उपराष्ट्रपति जेडी भान्स इजरायल पुगेका छन् । सप्ताहन्तमा भएको हिंसाले युद्धविराम सम्झौतामा प्रश्नचिन्ह खडा गरेपछि भान्ससहित यसपहिले नै इजरायलमा पुगेका दुई शीर्ष अमेरिकी दूतहरू इजरायलमा रहेका हुन् ।

ह्वाइट हाउसमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई स्वागत गर्दै ट्रम्पले भने, ‘हामीले हमाससँग सम्झौता गरेका छौँ उनीहरूले धेरै राम्रो व्यवहार गर्नेछन् अन्यथा उनीहरूले नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ। यदि तिनीहरूले सम्झौताको पालना गरेनन् भने अमेरिका त्यहाँ जानेछ र हामी तिनीहरूलाई निर्मूल पारिनेछ । उनीहरूलाई यो थाहा छ।’

ट्रम्पले करिब दुई साताअघि गाजा सम्झौतामा मध्यस्थता गर्न सहयोग गरेका थिए । तर इजरायलले हमासलाई मृत बन्धक हस्तान्तरण गर्न ढिलाइ गरी आक्रमण सुरु गरेको आरोप लागेको छ । सम्झौताको बारम्बार उल्लङ्घन गरिएमा सम्झौता भङ्ग हुने जोखिम रहनेछ।

यद्यपि, हमासका शीर्ष वार्ताकार खलिल अल-हयाले इजिप्टको अल-काहेरा न्यूजसँग भनेका छन्, ‘समूह अझै पनि युद्धविराम सम्झौतामा प्रतिबद्ध छ । हामीलाई शव निकाल्न निकै गाह्रो भइरहेको छ, तर हामी गम्भीर छौँ र तिनीहरूलाई निकाल्न कडा मेहनत गरिरहेका छौँ ।’

‘गाजा सम्झौता कायम रहनेछ, किनकि हामी यो चाहन्छौं र यसको पालना गर्ने हाम्रो दृढ इच्छा छ’, उनले थपेका छन् ।

ट्रम्पले लडाकू समूहलाई आफ्ना प्रतिद्वन्द्वीहरू र कथित सहयोगीहरूको सार्वजनिक मृत्युदण्ड रोक्न चेतावनी पनि दिएका छन् । हमासले ध्वस्त क्षेत्रमा आफ्नो पकड पुनः स्थापित गर्न खोजिरहेको र प्रतिद्वन्द्वीलाई निशाना बनाइरहेको छ।

तथापि, ट्रम्पले हमासबिरूद्ध अमेरिकी सेना संलग्न नहुने कुरामा जोड दिँदै गाजाको स्थायित्वका लागि अन्तर्राष्ट्रिय सेनामा सामेल हुन सहमत भएका दर्जनौं देशहरूसँग संलग्न हुने र सहयोग गर्ने बताएका छन् । ‘यदि मैले उनीहरूलाई गाजामा प्रवेश गर्न भनेँ भने इजरायल दुई मिनेटमा भित्र जान्छ’, ट्रम्पले थपे, ‘तर अहिले, हामीले त्यसो भनेका छैनौं। हामी समूहलाई मौका दिइरहेका छौँ आशा छ हिंसा कम हुँदै जानेछ । तर अहिले, तपाईंलाई थाहा छ, तिनीहरू हिंस्रक मानिसहरू हुन् ।’

‘तिनीहरू धेरै उग्र भए, उनीहरूले उनीहरूले गर्न नहुने काम गरे भने हामी गाजामा जान इजरायललाई अनुमति दिनेछौँ । त्यसपछिको परिस्थिति धेरै छिटो र धेरै हिंस्रक हुनसक्छ ।’

ट्रम्पले हमास अब निकै कमजोर भएको र खासगरी क्षेत्रीय समर्थक इरानले यस वर्ष अमेरिका र इजरायली आक्रमणपछि आफ्नो पक्षमा कदम चाल्ने सम्भावना नरहेको पनि बताए ।

‘उनीहरूसँग अब वास्तवमा कसैको समर्थन छैन । तिनीहरू सुध्रिनुुपर्दछ र यदि त्यसो गरेनन् भने तिनीहरू निर्मूल हुनेछन्’, राष्ट्रपति ट्रम्पले जोड दिए।

प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताका अनुसार ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र सल्लाहकार ज्वाइँ जारेड कुश्नरले सोमबार नेतान्याहूसँग भेट गरी ’क्षेत्रीय विकास र अपडेट’ बारे छलफल गरेका थिए ।

भान्स र उनकी पत्नी बिहानै पत्रकारहरूसँग कुनै टिप्पणी नगरी वाशिङ्गटनबाट इजरायल गएका छन् । उनीहरुले नेतान्याहुसँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।