के भारत बास्को डी गामाले खोजेका हुन् ?

के भारत बास्को डी गामाले खोजेका हुन् ?


आज युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशहरू निर्धन जनता र निर्धन देशहरूका लागि सुशासन, उदारता, विकास तथा उच्च जीवनशैलीको पर्याय बनेका छन् । अमेरिका र अस्ट्रेलियाको इतिहास जानाजान मेटिएको छ । विश्वभरिका इतिहासका कितावमा अन्याय र बडो अपमान जनक तवरले ‘भारत, अस्ट्रेलिया, अफ्रीका र अमेरिकाको खोज गरिएका’ वर्षहरू तोकिएका छन् । मानौं, युरोपेली आउनुभन्दा पहिला यी भूभागहरूमा, देशहरूमा मानवबस्ती नै थिएनन् । देशहरूको अस्तित्व नै थिएन !

जब मैले सन् २०१७ मा पहिलोपटक युरोपको यात्रा गरेँ, त्यहाँ भएको विकास र ब्यवस्थाका पक्षहरू देखेँ – सुशासन र उच्च जीवनशैली देखेर प्रसन्नताको अनुभूति गरेँ भने भौतिक विकास देखेर मन खिन्न भयो ! सायद पाठकलाई मेरो कुरा मन परेन । जसले ‘भारतको खोज भास्को डी गमाले १४९८ गरेका थिए’ भन्ने इतिहास पढ्दै आएको छ र त्यसमा विश्वास गर्छ, उसका लागि मेरो कुरा मन नपर्नु स्वभाविक हो ।

आज पनि नेपाली र भारतीय पाठ्यपुस्तकहरूमा डी गामा र कोलम्बसले क्रमशः भारत र अमेरिका पत्तो लगाएको कुरा बालबालिकाले पढ्नुपर्छ । के यी दुई व्यक्तिहरू नजन्मेको भए भारतवर्ष, चीन र अमेरिकाको अस्तित्व नै हुने थिएन ? मेरो प्रश्न यहीँबाट आरम्भ हुन्छ । मानव सभ्यताको सम्पूर्ण इतिहास र अस्तित्व युरोपेलीले स्थापित गरेका हुन् त ?

अँ, मैले लेख्दै थिएँ- ‘युरोप र अमेरिकाको भौतिक विकास देखेर मेरो मन धेरै कुँडियो । यो विकासमा भारत, चीन, हालको अमेरिकाबाट अन्याय पूर्वक, त्यहाँका आदिवासीहरूको सामूहिक कत्लेआम गरेर लुटेको सम्पत्तिको जग छ भने त्यो जगचाहिँ अफ्रीकाबाट पशुझैँ ‘दास-दासी’ बनाएर ओसारेका कालाजातिका मान्छेहरूको रगत लत्पतिएको छ ।

यदि साँच्चिकै युरोपेलीहरू मानवसभ्यता र मानवताको पक्षमा छन् भने लुटको सम्पत्तिमा कालाजातिका मान्छेको रगतले लत्पतिएको विकासका चिन्हहरू नष्ट गरेर युरोपको निर्माण आफ्नै शक्तिमा गरेर देखाउनुपर्छ ।

आज युरोपले हिटलरको नामसँग घृणा गर्छ । हिटलरले असंख्य यहुदीहरूको हत्या गरेका थिए । तर, १४९८ पछिका दिनहरूमा अफ्रीका, भारतवर्ष, अमेरिका तथा चीनमा पुगेर असंख्य युरोपेली हिटलरहरूले मानवीय विनाश गरेको इतिहास खै ? तिनै हिटलरहरूले लेखिदिएको ‘खोज’को इतिहास पढ्ने म आफैले आफूलाई क्षमा गर्नु नपर्ने होइन र ?

क्यानाडा, ब्राजिल, अस्ट्रेलिया, आजको युएसए र भारतवर्षका अनेकौँ आदिवासीहरू नै आमहत्याका कारणले लोप भएका होइनन् र ? अनि, युरोपको भौतिक विकास होस् वा अन्य सम्पन्नता एउटा प्राचीन इतिहास भएको र कुनै पनि देश वा जनताउपर कलोनी नगरेको नेपालजस्ता देशहरूका लागि कसरी उदाहरणीय हुन सक्छ ? आजको उन्नत समयमा इतिहासका पानाहरू खुल्दै छन्– युरोपेलीहरूले इसाई धर्म लादेका हुन् र धर्मका नाममा नै कलोनीको सम्पत्ति लुटेर आफ्नो देश बनाएका हुन् ।

धेरैले भन्नु होला- आजको युरोपेली जनसंख्यालाई दोष किन दिनु ? के आजका युरोपेलीहरूले आफ्नो दुष्टतापूर्ण इतिहासका लागि क्षमा मागेका छन् ? के अस्ट्रेलिया र अमेरिका वा क्यानाडाका युरोप मूलका गोराहरूको मानसिकता स्थानीयप्रति परिवर्तित भएको छ ? अहँ, कत्ति छैन । त्यहाँका जनता र कलोनीका रूपमा लुटिएका देशहरूका लागि मानवतावाद, समानता, लोकतन्त्र, मानवाधिकारजस्ता लाच्च्छेदार शब्दहरू रचिएका छन् र ती शब्दहरूले लुटिएको सम्पत्तिमा काला ‘दासदासी’को रगतमा उभिएको युरोपेली माइण्ड-सेटको विकासलाई प्रतिमान मान्दै स्तुति आराधना गर्न अभिप्रेरित गरिएको छ ।

आजका युरोपेलीप्रति मेरो थोरैमात्र गुनासो छ तर मेरो गुनासो त मेरोजस्तो छाला भएका, नेपाली वा भारतीय नागरिकता भएका तर माइण्ड-सेटचाहिँ युरोपेली भएकाहरूप्रति छ । उनीहरू आजको मितिमा पनि युरोपेली-अमेरिकी विकास, स्वतंत्रता र जीवनशैलीको वकालत गर्छन् । भारत, र नेपालजस्ता देशहरू आफै निर्धन भएका होइनन्, सयौंवर्ष अगाडि ‘भारतको पत्तो हामीले लगाएका हौँ र भारत वा नेपाली हाम्रो निजी सम्पदा हो’ भन्दै यहाँको मौलिक उद्योग र सिस्टमहरू नष्ट परेर धनसम्पत्तिको धारा आफ्नुतिर फर्काएका कारणले भएका हौँ । मैले भन्नु नपर्ला- युरो, पाउण्ड र डलर किन बलियो छ, नेपाली रुपैयाँ किन कमजोर छ ? यसको उत्तर खोजे भैहाल्छ ।

युरोप र युरोपेली मूलले कब्जाएका देशहरूको उन्नति देखिन्छ तर उन्नतिका क्रममा उनीहरूले गरेका नरसंहार, अन्याय र हिटलरपना देखिन्न । उनीहरूले आफ्नो अन्यायपूर्ण इतिहास बडो चलाखीपूर्ण तरिकाले लुकाएका छन् । अफ्रीकाबाट युरोप र अमेरिकाका लागि व्यापार गरिएका काला मानिसहरूको रगत, भारत, अमेरिका, अफ्रीकाजस्ता देशहरूको अपार सम्पदा र श्रमको अन्यायपूर्ण जगमा उभिएको युरोपेली अमेरिकी विकासलाई प्रतिमान मान्ने भारतीय, अमेरिकी, अफ्रिकी राष्ट्रहरू सधैं अस्थिर, निर्धन र अन्यायपूर्ण अवस्थामा छन् । किनभने, अन्यायपूर्ण इतिहासका जगमा उभिएको युरोपेली प्रतिमानको विकासको अनुकरण वा अनुशरण नै अन्यायपूर्ण छ । दुष्टतापूर्ण साधन प्रयोग गरेर उन्नतिको साध्य प्राप्त गर्न सकिन्न ।

समय बदलिएको छ, आवश्यकता बदलिएका छन् तर युरोपले खोजेको इतिहासबाट सिक्ने र उनको विकासलाई पच्छ्याएमात्र विकसित हुन सकिन्छ भने माइण्ड-सेटको मनोरोगका कारण हामी बिरामी छौँ । अविकसित छौँ र अर्काको कोट लगाएर हिँड्ने मगन्ते सावित भएका छौँ । धर्मका मामिलामा होस् वा आर्थिक क्षेत्रमा हामी अन्यायपूर्ण इतिहासकारका इतिहासलाई पत्याउँदासम्म उन्नति देख्न, भोग्न सक्ने छैनौँ । सुन्न र देख्न त सञ्चारमध्यमले सजिलो बनाएको छ । जनतामा ‘युरोपेली र अमेरिकी विकास’को महत्वकांक्षा जगाइदिने तर युरोपेली प्रतिमानको लागि साधन जुटाउन नसक्नुको कारणले नेपालजस्ता देशका सरकारहरू सधैं अस्थिर नै रहने पक्का छ ।

के भन्नु हुन्छ ?