ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज (८ कात्तिक) बिहान ह्यात रिजेन्सी व्यवस्थापनसँग कुराकानी गरी जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बताइएअनुसार त्यसक्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका थिए । सम्बन्धित ब्यवसायीलाई आश्वासन दिँदै अर्थमन्त्री खनालले भनेका छन्, ‘तपाईंहरू आत्तिनुभएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’
यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने जनाएको छ ।
प्रतिक्रिया