कार्नीसँग केही समय नभेट्ने ट्रम्पको भनाइ
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।
क्यानडासँगको व्यापार वार्ता केवल भ्रामक विज्ञापन अभियान बनेको भन्दै राष्ट्रपति ट्रम्पले क्यानडासँगको सबै वार्ता रद्द गरेको बताएपछि कार्नीले पत्रकारहरुसँग भनेका छन्, ‘जब अमेरिका वार्तामा बस्न तयार हुन्छ, हामी अमेरिकासँग बस्न तयार छौँ, हामी राष्ट्रपति ट्रम्प र अमेरिकी प्रतिनिधिसँग वार्तामा बस्न तयार छौँ।’
राष्ट्रपति ट्रम्पसमेत सहभागी रहेको मलेसियामा आयोजना गरिएको क्षेत्रीय शिखर सम्मेलनका क्रममा सोमबार कार्नीले यस्तो बताएका हुन् । उनले क्वालालम्पुरमा अमेरिकी राष्ट्रपतिसँग आफ्नो कुनै सम्पर्क नभएको उल्लेख गरे ।
प्रधानमन्त्री कार्नीले बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने तयारी भएको जानकारी पनि दिए । उनले राष्ट्रपति सीसँगको वार्तामा ‘व्यापारिक सम्बन्धका साथै विश्व प्रणालीको विकास’का विषयमा छलफल गरिने बताए ।
यसैक्रममा, अमेरिकी राष्ट्रपति ट्रम्पले कार्नीसँग भेट्ने आफ्नो कुनै योजना नभएको बताएका छन् ।
ज्ञातव्य छ, ट्रम्पको विश्वव्यापी क्षेत्रगत करवृद्धिले विशेष गरी स्टिल, एल्युमिनियम र अटोमोबाइलहरूमा क्यानाडालाई नराम्ररी असर गरेको छ । कर वृद्धिका कारण रोजगारी गुम्ने व्यवसायहरू धराशायी बन्ने अवस्था सिर्जना भएको छ ।
प्रतिक्रिया