जापानमा भालुको आक्रमण : मृत्यु हुनेको सङ्ख्या दश

जापानमा भालुको आक्रमण : मृत्यु हुनेको सङ्ख्या दश


जापानमा आर्थिक वर्ष सन् २०२५ मा भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दश जना पुगेको रेकर्ड गरिएको छ । पछिल्लो समयमा जापानमा भालुसँग सम्बन्धित घटनाहरूमा वृद्धि भएको त्यहाँको वातावरण मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा अहिलेसम्म भालु आक्रमणमा एक सय भन्दा बढी मानिसहरु परेका छन् । भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक वर्ष सन् २००६ बाट रेकर्ड राख्न सुरु गरिएकोमा सबैभन्दा बढी पछिल्लो वर्षमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो घटना गत शुक्रबार उत्तरपूर्वी जापानको अकिता प्रान्तको एउटा गाउँमा भालुले ३८ वर्षीय व्यक्तिलाई आक्रमण गरी मारेको थियो ।

अकिता प्रान्तमा बासिन्दाहरूलाई भालुको आक्रमणबाट मानिसहरुलाई जोगाउन सेनाको सहयोगको आह्वानसमेत गरिएको छ ।

आक्रमणको अवस्था प्रान्तीय तथा स्थानिय सरकारले नियन्त्रण गर्न नसक्ने स्थितीमा पुगेको गभर्नर केन्टा सुजुकीले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

छिमेकी प्रान्त इवाटेमा अप्रिलदेखि ३० जना भन्दा बढी मानिसहरु भालु आक्रमणमा परेको जनाइएको छ ।