लुभ्रको गहना चोरीमा मुख्य सहित पाँच जना नयाँ संदिग्ध पक्राउ

लुभ्रको गहना चोरीमा मुख्य सहित पाँच जना नयाँ संदिग्ध पक्राउ


पेरिस (फ्रान्स)स्थित विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयमा यस महिनाको चर्चित गहना डकैतीमा संलग्न ठानिएका पाँच जना नयाँ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकजना मुख्य अभियुक्त रहेको पेरिसका सार्वजनिक अभियोजक लरा बेकुआउले जानकारी दिएका छन ।

अभियोजक बेकुआउका अनुसार ती मुख्य संदिग्धमाथि प्रहरीले लामो समयदेखि निगरानी राखिरहेको थियो ।

करिब १० करोड २० लाख अमेरिकी डलर मूल्य बराबरका चोरी गरिएका गहनामध्ये कुनै पनि बस्तु हालसम्म बरामद गर्न नसकिएको बताइएको छ ।

बेकुआउका अनुसार डिएनए प्रमाणले उक्त मुख्य अभियुक्तलाई अक्टोबर १९ मा भएको निर्भीक चोरीसँग सीधा रूपमा जोडेको छ । ती व्यक्ति चार सदस्यीय टोलीका एक थिए, जसले अत्याधुनिक उपकरण र योजनाबद्ध तरिकाले चोरीको कार्य सञ्चालन गरेका थिए ।

अभियोजकले भनेका छन्, “अन्य पक्राउ परेकाहरू ती व्यक्तिहरू हुन्, जसले घटनाको क्रम र सञ्चालनबारे अनुसन्धानकर्तालाई उपयोगी जानकारी दिन सक्ने सम्भावना छ । अहिले नै विस्तृत विवरण दिनु उचित हुने छैन ।”

पाँचैजनालाई बुधबार पेरिस र वरपरका क्षेत्रमा, विशेष गरी राजधानी बाहिर रहेको सेन–सेन्ट–डेनिस क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि गत शनिबार पक्राउ परेका दुई अन्य व्यक्तिलाई पनि बुधबार चोरी र आपराधिक षड्यन्त्रको आरोप लगाइएको अभियोजन कार्यालयले जनाएको छ । ती दुवै जनाले ‘आंशिक रूपमा’ आरोप स्वीकार गरेका छन् र उनीहरूलाई पूर्व–परीक्षण हिरासतमा राखिएको छ ।

फ्रान्सेली प्रहरीका अनुसार दर्जनौँ जासुसको टोली अहिले पनि ती चारजना मुख्य चोरहरूको खोजीमा खटिएको छ । ती व्यक्तिहरूले चल्ती लिफ्ट र काट्ने उपकरणयुक्त ट्रकको प्रयोग गरी सङ्ग्रहालयको पहिलो तलाको ग्यालरीमा प्रवेश गरेर आठवटा अत्यन्त बहुमूल्य गहना लिएर भागेका थिए ।

चोरी गरिएका वस्तुमध्ये एक पन्ना र हीराले जडित हार पनि रहेको बताइएको छ । यो नेपोलियन प्रथमले आफ्नी पत्नी महारानी मेरी–लुइसलाई उपहार दिएका थिए । त्यसैगरी, महारानी युजेनीको मुकुट पनि चोरी भएको पुष्टि भएको छ । यसमा करिब दुई हजार हीरा जडित छन् ।

फ्रान्सेली अधिकारीहरूले चोरीमा संलग्न सम्पूर्ण समूहको पहिचान र चोरी गरिएका अमूल्य ऐतिहासिक गहनाको पुनः प्राप्तिका लागि विस्तृत अनुसन्धान जारी रहेको बताएका छन् ।