वर्षाका कारण बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा आज (१४ असोज) सडकमाथिबाट लेदो आएर सडक अवरुद्ध भएको छ ।
रोशी-७ स्थित चारसय बेँसी, वडा नं ९ को बिरुवाडाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा सडक माथिबाट लेदो र ढुङ्गा खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले बताए ।
जोखिम हुन नदिन स्थानीय प्रशासनले बिहीबार साँझ ५ देखि आज बिहान ६ बजेसम्म बिपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग-भकुण्डेबेसी-सिन्धुली सडकखण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेकका सवारीसाधन आवागमनमा निषेध गरेको थियो ।
नारायणगढ-मुग्लिन सडक सञ्चालन
पहिरोका कारण अवरुद्ध नारायणगढ-सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना-५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवगमन अवरुद्ध भएको थियो ।
सडक विभागको मेसिनले पहिरो पन्छाएपछि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको उनले जानकारी दिए । उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया