सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोंगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् ।
काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुऱ्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज (१९ कात्तिक) नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका हुन् ।
सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौं उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए । ‘मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ, यसलाई विस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्दै लैजानेछौँ’, सञ्चारमन्त्री खरेलले स्पष्ट गरे।
सरकारले राजधानी काठमाडौंसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको जानकारी दिँदै उनले भने, ‘दार्चुला, बझाङ, जाजरकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पुऱ्याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा प्रभावकारी इन्टरनेट सेवा पुऱ्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ ।’
सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुऱ्याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँ-शहर, सुगम-दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुऱ्याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिए ।
सञ्चारसचिव राधिका अर्यालले सूचना प्रविधिको क्षेत्रमा भएको विकास, स्रोतसाधन र सेवाग्राहीको मागलाई समेत दृष्टिगत गरी देशभर इन्टरनेटको क्षमता विस्तार गर्ने बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले सञ्चार मन्त्रालयको निर्देशनअनुसार नयाँ बसपार्क, काठमाडौंस्थित विभिन्न ठूला अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थललगातयका संवेदनशील एवं महत्वपूर्ण स्थलहरूमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार गरिएको जानकारी दिए ।
नयाँबसपार्कस्थित लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले निःशुल्क इन्टरनेट सेवा सुरु भएसँगै नयाँबसपार्क आउने सेवाग्राहीलाई राहत पुग्ने विश्वास व्यक्त गरे ।
यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको तथा तीन निर्माणाधीनसहित विभिन्न आठ स्थानमा नयाँ जडान गरिएको प्राधिकरणले जनाएको छ ।
यसैगरी ठूलोभऱ्याङस्थित यातयात व्यवस्था कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ ।
सञ्चारमन्त्री खरेलको अग्रसरतासँगै अब नयाँबसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निःशुल्क एवं प्रभावकारी रुपमा वाइफाइ सेवा सञ्चालन हुने भएको छ ।
निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने भएका छन् ।
यसैबीच सञ्चारमन्त्री खरेल आजै इन्टरनेट सेवा सञ्चालनका क्रममा अनुगमन गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पशुपति मन्दिर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
photo: rss
प्रतिक्रिया