न्युयोर्कमा वामपन्थी जोहरान ममदानी मेयर निर्वाचित

न्युयोर्कमा वामपन्थी जोहरान ममदानी मेयर निर्वाचित


अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क शहरमा भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले मेयर पदमा ऐतिहासिक विजय हासिल गरेका छन् । यो परिणामले न्युयोर्कको राजनीतिक दिशा परिवर्तन गरेको मात्र नभइ सन् २०२६ को मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि प्रारम्भिक चेतावनीको रूपमा समेत देखिएको छ ।

ममदानीको यो विजयी परिणामसँगै डेमोक्रेटिक पार्टीले भर्जिनिया र न्युजर्सीको गभर्नर चुनावमा पनि उल्लेखनीय सफलता हात पारेको छ । यी परिणामहरूले ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि कमजोर भएको डेमोक्रेटहरूको मनोबल पुनः उच्च बनाएको छ भने रिपब्लिकनहरूमा भने चिन्ताको घण्टी बजाएको छ ।

व्यापारिक अभिजात वर्ग, रूढिवादी मिडिया र ट्रम्प आफैंले पनि उनको नीति र मुस्लिम पृष्ठभूमिमाथि तीव्र प्रहार गर्दै आएका थिए । तथापि, ती सबै आलोचनाबीच ममदानीको विजयले समावेशी र प्रगतिशील राजनीतिक शक्तिको उदयको सङ्केत गरेको छ ।

‘यदि कुनै स्थानले डोनाल्ड ट्रम्पद्वारा विभाजित राष्ट्रलाई कसरी पुनः एकीकृत गर्ने भनेर देखाउन सक्छ भने, त्यो स्थान यही शहर हो- जसले उहाँलाई जन्म दियो’, ममदानीले विजय भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘राजनीतिक अन्धकारको यस घडीमा न्युयोर्क उज्यालो बन्नेछ ।’

भर्जिनिया र न्युजर्सीमा डेमोक्रेटहरूको गभर्नर पदमा जितले देशको राजनीतिक मुडमा परिवर्तन आएको सङ्केत गरेको छ । यसैबीच, क्यालिफोर्नियामा मतदाताहरूले ट्रम्प समर्थित जेरीम्यान्डरिङ्ग (निरन्तर निर्वाचन क्षेत्र पुनःसंरचना) रोक्ने प्रस्ताव पारित गर्दै चुनावी निष्पक्षतामा जोड दिएका छन् ।

अर्कोतर्फ, ट्रम्पले भने परिणामको जिम्मेवारी लिन अस्वीकार गर्दै आफ्नै ‘ट्रुथ सोसल’ प्लेटफर्ममा अज्ञात पोलस्टरहरू उद्धृत गर्दै रिपब्लिकन पराजयको कारण सरकार बन्द हुनु र मतपत्रमा आफ्नो नाम नहुनु रहेको दाबी गरेका छन् ।

सदनका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले ‘डेमोक्रेटहरूले डोनाल्ड ट्रम्प र उहाँका चरमपन्थी सहयोगीहरूलाई देशभर परास्त गरिरहेका छन्’ भनी एक्समा लेख्दै पार्टीको पुनरुत्थान भएको घोषणा गरे ।

न्युयोर्कको क्विन्स जिल्लाका सांसदसमेत रहेका ममदानीले बढ्दो जीवनयापन लागत, सार्वजनिक यातायात, बाल हेरचाह सुविधा र सहरद्वारा सञ्चालित किराना पसलहरू जस्ता ठोस मुद्दामा जनतालाई आकर्षित गरेका थिए । उनको सरल व्यक्तिगत शैली, सामाजिक सञ्जालमार्फतको सक्रियता र जनस्तरमा प्रत्यक्ष अभियानले व्यापक जनसमर्थन दिलायो ।

ट्रम्पले चुनावको अन्तिम घडीमा ममदानीलाई ‘यहुदी विरोधी’ भन्दै व्यक्तिगत आक्रमण गर्नुभएको थियो, तर त्यो आरोप जनतामाझ प्रभावहीन रह्यो । त्यसैबीच, प्रमुख व्यापारी बिल एकम्यानसहितका आर्थिक वृतका ठूला व्यक्तिहरूले ममदानीका विपक्षीहरूलाई आर्थिक सहयोग गरे पनि परिणाम बदल्न सकेनन् ।

यस वर्षको निर्वाचनमा करिब १४ लाख ५० हजार मतदाताले मतदान गरेका थिए । यो सन् २०२१ को मतसङ्ख्याभन्दा धेरै थियो ।