नेपालगन्ज बाँके कुसुम–२ कि रिया श्रेष्ठ यतिबेला नेपाली चलचित्रमा जम्ने तयारीमा छिन् । विशेष गरेर नृत्य विधामा पोख्त रियाले अभिनय गरेको पहिलो चलचित्र ‘अभिमन्यू’ हो । एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी रियाले मालतीको भट्टी, बोस र तृष्णा नामक चलचित्रमा काम गरिन् । मालतीको भट्टी र बोस प्रदर्शनका लागि तयार भएका छन् भने रियाले तृष्णाको छायाङ्कन हालै सकाएकी छिन् । तृष्णा र बोसमा उनी नायिकाको रूपमा प्रस्तुत भएकी छिन् ।
० कलाकारितामा लागेको दश वर्ष भइसकेछ, रियाको चर्चा त त्यति सुनिँदैन नि ?
– म कुनै निर्माता वा निर्देशकको आफन्त या प्यारी बन्न सकिनँ, त्यसैले चर्चा नभएको होला नि ।
० भनेपछि हातमा आएका चलचित्रहरू आफ्नै क्षमताले पाएको हो ?
– हो नि । चाँडै लोकप्रिय हुने र काम पाउने लोभमा मैले कुनै सम्झौता गरिनँ ।
० अरू नायिकाहरूले पनि काम पाउन सम्झौता नै गरेका हुन् त ?
– सबैलाई यस्तो आरोप लगाउन त नमिल्ला तर यहाँ त्यस्ता धेरै छन् भन्न
खोजेको मैले ।
० रियालाई सिनेमाको गीत र म्युजिक भिडियोमा किन बढी कामुक पहिरनमा
देखाइन्छ होला ?
– क्यामेरामा म बढी सेक्सी देखिएर होला । तर, म क्यामेरामै मात्र त्यस्ती देखिएको हुँ वास्तविक जीवनमा म सेक्सी र कामुक छैन नि †
० सिनेमा खेल्ने लोभमा यहाँ जस्तो दृश्य दिन पनि पछि नपर्ने युवतीलाई के छ सल्लाह ?
– त्यो त कथाले मागेअनुसार दिनैपर्छ र अहिलेका दर्शकहरूको माग पनि यस्तै छ ।
० दर्शकहरू सिनेमा हलमा फिल्मको कथा हेर्न आउँछन् कि युवतीहरूको नग्न शरीर ?
– हुन त सिनेमाको कथा र प्रस्तुति हेर्न आउनुपर्ने हो तर अहिले ग्ल्यामर्सको जमानामा त्यस्ता कुराहरूले पनि दर्शक तान्ने गरेको छ ।
० रिया पनि सिनेमाका लागि बेड सिन वा किस सिन दिने हो ?
– दर्शकहरूले पचाउन सक्ने जति दिन्छु, किन नदिने ?
० आजभोलिका सिनेमामा कथाभन्दा पनि ग्ल्यामर्स र सेक्स बढी बिक्न थालेका छन्, हो ?
– यो एउटा लहड हो । एक–दुईवटा त्यस्ता सिनेमाहरू चल्यो भन्दैमा सबै यस्तै सिनेमा चल्छ भन्ने छैन । अन्तत: सिनेमामा कथा, अभिनय र प्रस्तुति नै चल्ने हो ।
० सेक्स प्रस्ताव कत्तिको आउँछ नि ?
– त्यो त आउँछ । जवान छु, राम्री छु, अनि त्यस्तो प्रस्ताव आउनु के आश्चर्य भयो र ?
० त्यसो भए सेक्सको अनुभव छ ?
– अनुभव त छ तर एकैजनाको मात्रै । यसबारे अरू कुरा गोप्य नै राखौँ कि ?
पर्दाकी छुच्चीबूढी
सिनेमा र टेलिभिजनका पर्दाहरूमा निकै छुच्ची लाग्छिन् गोमा केसी । यस्ता भूमिकामा खेल्दाखेल्दै बजारमा ‘ए छुच्चीबूढी’ भनेर बोलाउनेहरूको सङ्ख्या बढ्दै जान थालेको छ । तर, कलाकार गोमा केसीलाई भने खासै फरक पर्दैन । उनले भनिन्– जसरी चिने पनि दर्शकहरूले चिन्नुपर्यो । कलाकारितामा लागेपछि दर्शकहरूले यो भन्नुभयो वा ऊ भन्नुभयो भनेर चित्त दुखाउन मिल्दैन,’ गोमाको भनाइ छ ।
सिनेमाको पर्दामा जति अभद्र अनि असभ्य भूमिकामा प्रस्तुत भए तापनि गोमा वास्तविक जीवनमा भने निकै भद्र, शालीन र सभ्य छिन् । उनलाई चिन्नेहरू पनि त्यस्तै भन्छन् । उसो भए गोमाचाहिँ के भन्छिन् त ? ‘किनभने मलाई सुरुदेखि नै यस्तै भूमिकामा अफर आयो र मैले अफरलाई लत्याउन पनि सकिनँ । आफ्नी बुहारीलाई त म साथीजस्तो व्यवहार गर्ने मान्छे कहाँ साँच्चिकै छुच्ची छु र भन्या,’ उनले स्पष्ट पारिन् ।
गोमाले हत्तेरिका, देवी, चेतना, जीवन चक्र र कसलाई आफ्नो भनुँ टेलिफिल्म र कर्मवीर, मुग्लानलगायत ठूलो पर्दाको चलचित्रमा काम गरिसकेकी छिन् । ०५० सालबाट कलायात्रा सुरु गरेकी गोमा अभिनय पेसाभन्दा पनि सौख हो भन्छिन् । ‘कलाकारितामा लागेर कसले के कमाएको छ र मैले कमाउनु ?’ उनको अनुभव छ ।
श्रीमान्, दुई छोरा र एक छोरीका साथ सुखमय जीवन बिताइरहेकी गोमा परिवारबाट पनि आफूलाई रामै्र सपोर्ट मिलेकोमा दङ्ग छिन् । ‘त्यही भएर त यो उमेरमा पनि निर्धक्क भएर कलाकारिता क्षेत्रमा लाग्न पाइरहेकी छु,’ परिवारलाई धन्यवाद दिन्छिन् गोमा ।
कलाकारितासँगै विद्यालयकी शिक्षिका पनि हुन् उनी । लामो समयदेखि पाटनमा रहेको सुस्त मनस्थिति विद्यालयका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आइरहेकी छिन् उनी । सामाजिक कार्यकर्ता गोमाको कलाकारिता र सामाजिक क्रियाशीलताले यतिबेला रामै्र स्थान पाइरहेको छ । ‘यी दुवै क्षेत्रलाई एकसाथ अगाडि बढाइरहनेछु,’ उनको उद्देश्य छ ।
प्रेमीहरूको सहर यो
गायिका सुनिता दुलालका प्रशंसकहरू उनको बारेमा भन्ने गर्छन्, ‘सुनिता जति मीठो गीत गाउँछिन् राम्री पनि उत्तिकै छिन् ।’ त्यसो त उनलाई सिनेमाको नायिका बन्ने अफर पनि नआएको भने होइन । ‘अहिलेलाई गायन क्षेत्र नै ठीक छ । सिनेमाको हिरोइनबारे त पछि नै सोचौँला,’ उनले भनिन् ।
अहिलेसम्म सुनिताले करिब एक दर्जन जति लोकदोहोरी गीतको एल्बम बजारमा ल्याइसकिन् । अब भने आफ्नो गायन विधालाई फराकिलो पार्ने उद्देश्यले सुनिताले आधुनिक गीतको एल्बम बजारमा ल्याएकी छिन् । ‘लोकगीत मात्र होइन म आधुनिक गीत पनि गाउन सक्छु भन्ने कुरा देखाउनु पनि थियो, त्यस कारणले पनि यो एल्बम बजारमा ल्याएकी हुँ,’ सुनिताले भनिन् । सुनिताले बजारमा ल्याएको एल्बम ‘शिरमा फूल’भित्र जम्मा सातवटा गीत समेटेकी छिन् ।
गीत गायनकै सिलसिलामा अन्य गायिकाभन्दा बढी मुलुक घुमेकी सुनिताले एल्बम शिरमा फूलभित्र विशेष गरेर मायाप्रेमका गीतलाई बढी प्राथमिकता दिएकी छिन् । ‘अहिले संसार नै प्रेममा अडिएको छ । प्रेमले नै सबै कुरा ठीक पार्छ । प्रेमीहरूको यो देशमा मैले पनि प्रेममय गीत ल्याएँ,’ उनले भनिन् ।
लोकगीतहरूको एल्बम नियाल्दा सीमित श्रोताहरूका लागि मात्र भएको गुनासो आएपछि सुनिताले सबैखाले गीत सुन्न इच्छुक श्रोताहरूको इच्छालाई बुझेर आधुनिक गीतहरूको एल्बम बजारमा ल्याएको कुरा बताइन् । नेपालको साथसाथै सुनिता शिरमा फूललाई विदेशमा रहेका आफ्ना प्रशंसकहरूसक्षम पनि पुर्याउने तयारीमा छिन् ।
आउँदै छ सम्झिराख है
आफूले खेलेको पहिलो चलचित्र रिलिज नहुँदा निकै तनावमा परिन अस्मिता कँडेल । करिव १ महिना अगाडि नै उनले खेलेको चलचित्र सम्झिराख है रिलिज हुनुपर्ने थियो । तर, मुलुकको प्रतिकुल अवस्थाका कारण चलचित्र रिलिज नहुँदा आफूले गरेको काम दर्शकहरुमाझ पुग्ने हो कि होइन भन्ने शंकामा रहेकी अस्मिताको यो हप्तादेखि भने त्यो शंका दुर भएको छ । किनकी उनले अभिनय गरेको चलचित्र सम्झिराख है जेठ १९ गते शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । यो चलचित्रलाई रिम विश्वकर्माले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया