‘खण्डहरजस्तो भएको मुद्रण केन्द्रको धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ’ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर)बाट सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइकार्यको औपचारिक शुभारम्भ गरेका छन् ।
काभ्रेपलाञ्चोकको बनेपास्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा पुगेर उनले प्रिन्टिङ प्रेस लाइसेन्स छपाइको शुक्रबार (२१ कात्तिक) शुभारम्भ गरेका हुन् । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र छपाइकार्य स्वदेशमै प्रारम्भ हुनु राष्ट्रिय आत्मनिर्भरताका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै उनले यस कार्यले आमसेवाग्राहीले भोगेका सास्तीलाई अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री खरेलले भने, ‘विभिन्न कानुनी र प्राविधिक जटिलताका बाबजुद संवेदनशील कागजातका रूपमा रहेको लाइसेन्स छपाइ स्वदेशमै सुरु गर्नु सरकारको ठूलो सफलता हो । यसले राष्ट्रिय तथ्याङ्कको सुरक्षामात्र गर्दैन, छपाइका नाममा बाहिरिने अर्बौंको विदेशी मुद्रासमेत बचत गर्नेछ ।’
सुरक्षण मुद्रण केन्द्रबाट धुलो टकटक्याएर लाइसेन्स छपाइ सुरु गरिएको जिकीर गर्दै सञ्चारमन्त्री खरेलले भने, ‘वर्षौंदेखि धुलाम्मे अवस्थामा थन्किएका मेसिन र उपकरणको धुलो टकटक्याएर छपाइ सुरु गरिएको छ । तीन वर्षदेखि मेसिन उपयोगविहीन थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहरजस्तो भएको थियो ।’
मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको उल्लेख गरे । उनका अनुसार २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको र चिट कागजमा मात्र सीमित रहेको अवस्यामा लाइसेन्स छपाइ सुरु गरेर जनतालाई सुशासनको प्रत्याभूति दिने सरकारको उद्देश्य रहेको बताए ।
सो अवसरमा सञ्चार सचिव एवं सुरक्षण मुद्रण केन्द्रका अध्यक्ष राधिका अर्यालले आजको दिन विशेष रहेको बताउँदै ‘हजार माइलको यात्रा पहिलो पाइलाबाटै सुरु हुने’ र सोको शुभारम्भ आज सवारीचालक अनुमतिपत्र छपाइबाट सुरु गरिएको बताइन् ।
केन्द्र ऐनले दिएको म्यान्डेटअनुसार काम गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै सचिव अर्यालले क्रमशः सबै प्रकारका सुरक्षण मुद्रणका सामग्रीहरू स्वदेशमै छपाइ गर्ने दिशामा अघि बढ्न कार्यकारी निर्देशकलाई निर्देशन दिइन् ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले केन्द्रमा जडित अत्याधुनिक मेसिनरीले सवारी चालक अनुमतिपत्रमात्र नभइ नागरिकता, अन्तःशुल्क स्टिकर, भिसा स्टिकर, लालपूर्जा, हुलाक टिकट र अन्य संवेदनशील सुरक्षण कागजात छाप्न सक्षम रहेको जानकारी दिए । उनले पहिलो चरणमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको समझदारीपत्र (एमओयु) बमोजिम केन्द्रले १२ लाख थान स्मार्ट लाइसेन्सको छपाइ आगामी ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिए ।
केन्द्रका अनुसार नयाँ लाइसेन्समा अघिल्लो संस्करणको जस्तो ‘चिप’ भने नहुने भए पनि यसमा उच्चस्तरको सुरक्षा प्रणाली हुने भएको छ । केन्द्रले ६ महिनाभित्र करिब १२ लाख नयाँ लाइसेन्स छाप्ने सहमति गरेको छ । केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले नयाँ कार्डमा ‘क्यूआर कोड’ हुने र त्यसमा ६ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुने बताइएको छ । उनले भने, ‘नयाँ कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमा केही दृश्य र केही अदृश्य रहनेछन् । ट्राफिक प्रहरीले अफलाइनमै क्यूआर स्क्यान गरेर जाँच गर्न सक्नेछ ।’
ढुङ्गानाका अनुसार यो कार्ड ‘स्मार्ट’ हुने भए पनि अघिल्ला चिपयुक्त कार्डभन्दा अझ परिष्कृत सुरक्षा प्रविधि भएको हुनेछ । गत जेठ महिनामा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच छाप्न बाँकी २८ लाख हाराहारी लाइसेन्स छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो ।
photo: rss
प्रतिक्रिया