‘आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य’ : प्रधानमन्त्री कार्की

‘आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य’ : प्रधानमन्त्री कार्की


प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले शनिबार (२२ कात्तिक) काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै उनले उक्त क्षतिबाट मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत दिँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै प्रयास बाँकी नराख्ने प्रतिवद्धता जनाइन् ।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागिपरेको जिकिर गर्दै भनिन्, ‘घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य छैन, लोकतन्त्रका नाममा लुटतन्त्र हामीलाई स्वीकार्य छैन, इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था रहनुहुँदैन ।’

सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय तथा आर्थिक वृद्धिको पूर्वसर्त भएको र राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट, निजी क्षेत्रमाथि लादिएका शङ्का एवम् दोहनकारी सङ्कटपूर्ण प्रणालीप्रति सरकार सजग रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

‘व्यवसायीका पिर, मर्का हाम्रै पिर, मर्का हुन्, उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन्, उनीहरूले रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितताबाट राज्यको ठूलो दायित्व पनि बहन गरिदिएका हुन्छन्, तसर्थ, उद्योग व्यवसायबिना देश बन्दैन, उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न सक्दैन, निजी क्षेत्रको मागलाई सम्बोधन गर्न निरन्तर सहकार्य गरिरहेका छौँ’, उनले भनिन् ।

नेपाल राष्ट्र बैङ्कमार्फत बैङ्क तथा वित्तीय क्षेत्रको स्थिरताका लागि कडा कदम चालिएको जानकारी दिँदै प्रधानमन्त्रीले व्यवसाय गर्ने वातावरण सुधार गर्न नीतिगत जटिलता हटाइन लगिएको खुलासाा पनि गरिन् ।

सो अवसरमा अर्थमन्त्री डा. रामेश्वर खनालले जेनजी आन्दोलनको प्रभावबाट निजी क्षेत्रलाई पूर्ववत् अवस्थामा ल्याउन वर्तमान सरकारले पहिलो दिनदेखि नै काम थालनी गरेको स्पष्ट पार्दै भने, ‘सरकारले पटकपटक निजी क्षेत्रसँग छलफल गरिरहेको छ, निजी क्षेत्र मैत्री व्यवहार गर्न सरकार लागिपरेको छ, व्यवसायीलाई कुनै पनि दुःख नदिईकन सेवा दिन सरकार तत्पर छ ।’

यस्तै, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले उच्च मनोबलका साथ निर्धक्क भएर व्यावसायिक क्रियाकलाप अघि बढाउन निजी क्षेत्रलाई आग्रह गर्दै भने, ‘उच्च मनोबलका साथ काम गर्नुस् । एउटा दुर्घटनाजस्तो भयो । त्यसपछि वैधानिक सरकार बनेको छ, यो अवसरलाई तपाईंरुले सकारात्मक रुपमा लिएर यसलाई सदुपयोग गर्नुहोला ।’

photo: rss