फिजीबाट १३२ वर्षपछि आफ्ना पुर्खाको थातथलो आइपुगेपछि…

फिजीबाट १३२ वर्षपछि आफ्ना पुर्खाको थातथलो आइपुगेपछि…


रोजगारीको सिलसिलामा १३२ वर्षअगाडि फिजी पुगेका नेपाली परिवार आफ्ना पुर्खाको थातथलो खोज्दै नेपाल आएर परिवारसँग पुनर्मिलन हुँदा सञ्जीवकुमार घर्तीका आँखा रसाए ।

रफत सञ्चार क्लब भक्तपुरको सभाकक्षमा आयोजना गरिएको पुनर्मिलन कार्यक्रममा सन् १८९२ मा आफ्ना जिजु हजुरबुबा कालुसिंह घर्तीले छाडेर गएको भूमि टेक्दा सञ्जीवका आँखा मात्रै रसाएनन् निकै बेर गला अवरुद्ध भयो ।

उनले भने, ‘मेरो जन्मभूमि फिजी भए पनि मेरो मातृभमि नेपाल हो, मेरो मातृभूमिमा पाँच पुस्तापछि टेक्न पाउँदा निकै भाग्यमानी ठानेको छु, यो देशमा टेक्ने बित्तिकै मैले एक मुठ्ठी माटो निधारमा लगाएँ, अब फर्कंदा यहीँको माटो फिजी लगेर पूजा गर्नेछु ।’

नेपाल र आफ्ना पुर्खाको गाउँ टेक्न पाउनु जीवनकै ठूलो अहोभाग्य भएको उल्लेख गर्दै उनले नेपालमा रहेका आफ्ना आफन्तबीचको ऐतिहासिक पुनर्मिलनले माटो र आफन्तको मायाको मूल्यको पहिचान भएको बताए ।

विश्व साइकल यात्रीद्वय भगत खत्री र अजय मिश्रले पुनर्मिलनको अवसर जुराएका थिए । पुनर्मिलन कार्यक्रममा मिश्रले भने, ‘विश्व साइकल यात्राकै क्रममा अष्ट्रेलियाको यात्राका क्रममा फिजीमा सञ्जीवसँग हाम्रो भेट भयो, भेटका क्रममा सञ्जीवले नेपालमा रहेका आफ्ना पुर्खालाई भेट्ने उत्कृट इच्छा व्यक्त गर्नुभयो, यही इच्छालाई साकार पार्न साइकल यात्रीद्वयले महत्वपूर्ण भूमिका खेल्दै एक वर्षको प्रयासपछि सञ्जीवको सपना पूरा भयो ।’

नेपाल आएपछि सञ्जीवले चितवनमा बसोबास गर्ने आफ्ना काका जयबहादुर घर्ती, बहिनी रश्मी जिसी लगायतका परिवारहरुसँग भेट गरे । १३२ वर्षपछि भएको यो पुनर्मिलनले अत्यन्तै भावुक बनायो ।

काकासँग अँगालो मार्दै सञ्जीवले बहिनी र आफन्तसँग भेट्दा आफ्नै घर फर्किआएको जस्तो लागेको अनुभूति सुनाए । नेपालको १० दिनको बसाइ सकेर फिजी फर्कंदा अविस्मरणीय क्षण लिएर फर्कने उनको भनाइ छ । अब नेपाल र फिजीबीचको आफ्नो नाता सम्बन्ध कहिल्यै नटुट्ने उल्लेख गर्दै उनले सुन्दर नेपाललाई त्यहाँका आफ्नो परिवारले सधैँ छातीमा राख्ने बताए ।

कार्यक्रममा बोल्दै विश्व साइकल यात्री खत्री र मिश्रले यो पुनर्मिलनले विदेशमा बसेका नेपालीलाई आफ्नो जरासँग जोड्न प्रेरणा मिलेको उल्लेख गर्दै विश्व साइकल यात्राका क्रममा धेरै प्रवासी नेपालीसँगको भेटमा देशको माया र सम्झनाका अनगिन्ती कथा रहेको सुनाए ।