नयाँदिल्लीमा कार विस्फोट हुँदा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु

नयाँदिल्लीमा कार विस्फोट हुँदा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु


भारतीय फरेन्सिक टोलीहरूले राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी कार विस्फोटको खोजी कार्य जारी राखेका छन् । सोमबार राति भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको र १९ जना घाइते भएको पुष्टि गरिएको छ ।

विस्फोट पुरानो दिल्लीको भीडभाडयुक्त क्षेत्रमा, ऐतिहासिक लालकिल्ला नजिकै भएको थियो । विस्फोटपछिको आगलागीले वरिपरिका अन्य सवारी साधनहरू पनि जलेका थिए । प्रहरीले अहिलेसम्म विस्फोटको कारणबारे कुनै आधिकारिक विवरण दिएको छैन ।

गृहमन्त्री अमित शाहले पत्रकारहरूसँग कुरा गर्दै भनेका छन्, ‘सुरक्षा निकायहरूले सबै कोणबाट अनुसन्धान गरिरहेका छन् । फरेन्सिक नमूनाहरूको विश्लेषण नभएसम्म घटनाको वास्तविक कारण बताउन कठिन छ ।’

मङ्गलबार (२५ कात्तिक) बिहान एएफपीका पत्रकारहरूले विस्फोटस्थलमा प्रहरीद्वारा सेतो कपडाले घेरेर राखिएको क्षेत्रमा जलेका गाडीहरूको भग्नावशेष देखेका थिए । घटनास्थलमा फरेन्सिक विज्ञ र आतङ्कवादविरोधी एकाइका अधिकारीहरू प्रमाण सङ्कलनमा व्यस्त थिए । नयाँदिल्लीभरि सुरक्षा कडा पारिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गररेका छन् । उनले गृहमन्त्री अमित शाहसँग ‘स्थितिको प्रत्यक्ष समीक्षा’ गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री मोदीले भनेका छन्, ‘दिल्लीमा भएको यो विस्फोट अत्यन्त पीडादायक छ । आफ्ना प्रियजनहरू गुमाउने परिवारहरूप्रति समवेदना व्यक्त गर्दछु, घाइतेहरू चाँडै निको होऊन् ।’

१७औँ शताब्दीमा निर्माण गरिएको लालकिल्ला भारतको सबैभन्दा प्रतिष्ठित ऐतिहासिक स्मारक हो । यही किल्लाको प्राचीरबाट प्रत्येक वर्ष स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीहरूले राष्ट्रलाई सम्बोधन गर्ने परम्परा रहिआएको छ ।

कारभित्रका मानिसहरू जलिरहेका थिए

नयाँदिल्लीका उप प्रमुख अग्नि अधिकारी ए.के. मलिकले भने, ‘अहिलेसम्म आठ जनाको मृत्यु भएको छ र १९ जना घाइते भएका छन् ।’ यद्यपि, प्रेस ट्रस्ट अफ इन्डियाले पछिल्लो विवरण अनुसार मृतकको सङ्ख्या नौ पुगेको जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले घटनाको भयावह क्षणको वर्णन गर्दै ट्राफिकको बीचमा अचानक कार विस्फोट हुँदा आगोले वरिपरि रहेका मानिसहरू र सवारी साधनहरूलाई पनि घेरेको बताएका छन् ।

‘मैले कार चलिरहेका बेलामा विस्फोट भएको देखेँ । मानिसहरूमा आगो लागेको थियो, हामीले सकेसम्म उद्धार गर्ने प्रयास गर्‍यौँ । तर केही मानिसहरू कारभित्रै जलिरहेका थिए’, २७ वर्षीय धर्मेन्द्र धागाले भने, ‘मैले वरिपरिका जनतालाई उद्धारमा सघाउन भनेको थिएँ, तर धेरैजना भिडियो र फोटो खिच्नमै व्यस्त थिए ।’

विस्फोटपछि सहरको एलएनजेपी अस्पतालको आपतकालीन कक्षमा अराजकता फैलिएको थियो । घाइतेहरू एकपछि अर्को गरी ल्याइएका थिए र चिकित्सकहरूले तत्काल उपचार सुरु गरेका थिए । एक महिला आफ्ना पतिलाई अस्पतालमा गम्भीर अवस्थामा देखेर रोइरहेकी थिइन् । उनका भाइले सान्त्वना दिने प्रयास गर्दै उनलाई अँगालो हाल्दै भन्दै थिए, “सब ठीक हुन्छ ।”

यस घटनाले राजधानीको सुरक्षासम्बन्धी चिन्ता पुनः बढाएको छ । यद्यपि अनुसन्धान प्रारम्भिक चरणमा नै रहेको र फरेन्सिक प्रतिवेदन नआएसम्म विस्फोट आतङ्कवादी आक्रमण हो वा आकस्मिक दुर्घटना भन्ने स्पष्ट हुन बाँकी रहेको अधिकारीहरूले जनाएका छन् ।