लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना नियन्त्रणमा

लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना नियन्त्रणमा


लागुपदार्थ सेवन गरी काठमाडौं उपत्यकामा सवारी चलाउने ६ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार काठमाडौंको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालकलाई नियन्त्रणमा लिइएको हो । उपत्यकाभरिमा ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्दै आएको छ ।

नियन्त्रणमा लिइएकाहरूमा पठाओ मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका-६ का ३९ वर्षीय शेखरनाथ घिमिरे, बाराको पचरौता नगरपालिका-६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोटको बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-३ का ४७ वर्षीय सुरजकुमार बजगाइँ, भाडाको बसचालक मकवानपुरको थाहा नगरपालिका-४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक सल्यानका २२ वर्षीय भीमबहादुर खड्का रहेको प्रवक्ता सुवेदीले बताए ।

नियन्त्रणमा लिएकाहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी मापद पदार्थ र लागुपदार्थलगायतका जाँचमा सधै सक्रिय रूपमा खटिएको र नसालु पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

उनले भनेका छन्, ‘सार्वजनिक सवारीसाधन चलाउने चालकले धेरै व्यक्ति बोकेका हुन्छन्, मापसे, लापसे गरी सावरी चलाए धेरैको ज्यान जोखिममा हुन्छ । उक्त कार्य नगर्न हामी आग्रह गर्दछौँ, अवज्ञा गरे कानुनबमोजिम कारबाही हुन्छ ।’