टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको मृत्यु भएको टर्की सरकारले पुष्टि गरेको छ ।
टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त सी-१३० हर्कुलस विमानले मङ्गलबार (११ नोभेम्बर) दिउँसो अजरबैजानको पश्चिमी शहर गन्जाबाट उडान भरेको थियो र केही समयपछि जर्जियाको आकाशीय क्षेत्र पार गर्दै गर्दा दुर्घटनामा परेको हो ।
विमानमा रहेका सबै २० जना सुरक्षाकर्मी र प्राविधिक जनशक्तिको मृत्यु भएको जनाइएको छ । टर्कीका रक्षामन्त्री यासर गुलरले आफ्नो आधिकारिक एक्स खातामा विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘अजरबैजानबाट स्वदेश फर्कंदै गरेको हाम्रो सी–१३० सैन्य कार्गो विमान दुर्घटनामा परेर ११ नोभेम्बर २०२५ मा हाम्रा वीर सहकर्मीहरू शहीद हुनुभएको छ । देशले उहाँहरूको बलिदानलाई सधैँ सम्झनेछ ।’
दुर्घटनाको कारणबारे टर्कीले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन । तर अजरबैजानका सञ्चारमाध्यमहरूले प्रकाशित गरेका प्रत्यक्षदर्शी दृश्यहरूमा विमान हावाबाट तीव्र रूपमा खस्दै जमिनमा ठोक्किएपछि ठूला–ठूला टुक्रामा फुटेको र वरिपरि धुवाँको मुस्लो उठेको देखिन्छ ।
जर्जियाको गृह मन्त्रालयका अनुसार दुर्घटना अजरबैजान सीमाबाट करिब पाँच किलोमिटर टाढा सिघनाघी क्षेत्रमा भएको हो । मन्त्रालयले स्थानीय सुरक्षा निकाय र उद्धार टोलीहरू घटनास्थलमा पठाइसकेको छ र आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।
जर्जियाको एयर ट्राफिक कन्ट्रोलका अधिकारीहरूले विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै राडार सम्पर्क हराएको जानकारी दिएका छन् । दुर्घटनामा परेको सी–१३० हर्कुलस विमान अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित हो । यसलाई विश्वभरका सेनाहरूले मालसामान र जनशक्ति ढुवानीका लागि प्रयोग गर्ने गर्छन् ।
टर्की र जर्जियाका अधिकारीहरूले संयुक्त रूपमा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् । प्रारम्भिक मूल्याङ्कन अनुसार खराब मौसम वा प्रविधिगत समस्या दुर्घटनाको सम्भावित कारण हुनसक्ने बताइएको छ ।
टर्की सरकारले शहीद सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति समवेदना प्रकट गरेको छ ।
प्रतिक्रिया