उरुग्वेबाट पठाइएका करिब तीन हजार गाईहरू टर्कीको उत्तरपश्चिमी तटमा तीन हप्तादेखि अलपत्र परेका टर्कीका अधिकारी र पशु कल्याण समूहहरूले जानकारी गराएका छन् । टर्कीका अधिकारीहरूले कागजात अनियमिततालाई लिएर उनीहरूको प्रवेशमा रोक लगाएका छन् ।
टर्कीको सञ्चार निर्देशनालयलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार ५० दिनअघि मोन्टेभिडियोबाट हिँडेको स्पिरिडोन २ लाई अक्टोबर २१ मा मार्मारा सागरको दक्षिणी किनारमा रहेको बान्दिरमा बन्दरगाहमा पुग्दा प्रवेश गर्न रोक लगाइएको थियो।
यसैबीच, बेलायतस्थित ‘एनिमल वेलफेयर फाउन्डेसन (एडब्ल्यूएफ)’ले डुङ्गालाई आइतबार छोटो समयका लागि फिड र ओछ्यान लोड गर्न अनुमति दिइएको जनाएको छ। जहाजका मालिकले ४८ जनावरको मृत्यु भएको र जहाजमा रहेको खाद्यान्न सामग्री सकिएको बताएका छन् ।
‘सार्वजनिक भिडियोमा जहाजको माथिल्लो डेकमा सेतो झोलाहरू देखिन्छन् र ती सम्भवतः मृत जनावर हुन्’- एडब्ल्यूएफले भनेको छ।
टर्कीका स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दिरमाका बासिन्दाहरूले डुङ्गाको वरिपरि झिङ्गा भन्किन थालेको गुनासो गरेका छन्।
बन्दरगाहले अक्टोबर २१ मा १५ कम्पनीका लागि दुई हजार ९०१ गाई आयात गर्न आवेदन पाएको सञ्चार निर्देशनालयले जनाएको छ ।
पशु चिकित्सा निरीक्षकहरूले केही गाइमा कानमा ट्याग वा इलेक्ट्रोनिक पहिचान चिप्स नभएको र अन्य ४६९ वटाको कागजी सूची र विवरणसँग मेल नखाएको भन्दै गाईवस्तुलाई समुद्र किनारमा रोकेको बताएका छन् । ‘यी अनियमितताका कारण अलपत्र जनावरको ढुवानीको प्रवेशलाई अनुमति नमिलेको हो’- निरीक्षकहरूले एक्समा भनेका छन् ।
यो निर्णय अक्टोबर २३ मा भन्सारलाई सूचित गरिएको थियो र आयातकर्ताहरूले अदालतमा चुनौती दिइरहेका थिए। जहाज आवश्यक कानुनी प्रक्रियाको क्रममा सामुद्रिक तटमा रहेको छ। एडब्ल्यूएफले अधिकारीहरूलाई हस्तक्षेप गर्न र जनावरको थप क्षति हुनबाट बचाउन आग्रह गरेको छ।
‘हप्तौँसम्म समाधानविहीन भएपछि हामी तुरुन्तै पशु चिकित्सकबाट जनावरहरूको जाँच गर्न र बिरामी वा कमजोर जनावरहरूलाई उनीहरूको दुःखबाट बाहिर निकाल्न अपील गर्दछौं’, एडब्ल्यूएफले भनेको छ, ‘बाँकी जनावरहरूलाई थप ढिलाइ नगरी किनारमा ल्याउनुपर्छ।’
यी जनावरहरू टर्की र मध्य पूर्व, विशेष गरी इजरायलका प्रजननकर्ताहरूका लागि रहेको एडब्ल्यूएफले जनाएको छ ।
प्रतिक्रिया