रुपन्देहीबाट पुनः सुरु गरियो रोड ट्याक्स असुली !

रुपन्देहीबाट पुनः सुरु गरियो रोड ट्याक्स असुली !


नेपालमा रोकिएको सडक उपभोग दस्तुर सङ्कलन रुपन्देहीबाट पुनः सुरु भएको छ । सडक बोर्ड नेपालले रुपन्देहीस्थित भैरहवा-भूमही सडकखण्डमा रहेको सङ्कलन केन्द्रबाट आज (१ मंसिर)देखि दस्तुर सङ्कलन सुरु गरेको हो ।

यसअघि ठेक्का लगाएर दस्तुर सङ्कलन गरिए पनि अहिले सडक बोर्ड नेपालले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर सङ्कलन गरिरहेको छ । सडक बोर्ड ऐन, २०५८ को दफा ‘६’ र ‘४’ को अधिनमा रही “सडक उपभोग दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१” बमोजिम दस्तुर सङ्कलन गरिएको बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए । उजले अहिले भैरहवा-भूमहि सडकखण्डमा सुरु गरिए पनि अबको केही दिनमै अन्य तीन स्थानबाट पनि दस्तुर सङ्कलन सुरु गरिने बताए ।

‘२०८१ जेठ १७ गतेको मन्त्रिपरिषद्कै निर्णयअनुसार टोल ट्याक्स उठाउने निर्णय भएको थियो, टोल ट्याक्स पनि डिजिटाइलज माध्यमबाट उठाउने कुरा हो । सोहीअनुसार भैरहवाबाट यसको सुरुआत गरेका छौँ’, केसीले भनेका छन्- ‘यो सडकखण्ड छोटो रहेको र भन्सार विन्दु पनि रहेको हुँदा यहीँबाट सुरु गर्ने निर्णयमा पुगेका हौँ ।’

उनले भैरहवा भन्सारबाट निस्केका ओभरलोड गाडीहरुले सडक बिग्रेका कारण त्यसको अनुगमन पनि गर्ने र सो गाडीहरुले बिगारेको बाटो सङ्कलित करबाट मर्मत गरिने बताए । उनले भैरहवाबाट सुरु गरेको सडक दस्तुर सङ्कलन अब वीरगञ्ज-पथलैया, धरान विराटनगर र नारायणगढ-मुग्लिङ बाटोमा पनि सुरु गरिने बताए । यससँगै नागढुङ्गासडक खण्डमा पनि सवारी साधनबाट ‘रिड’ गर्न मिल्ने ‘आरएफआइडी’ प्रविधि जडान गरी दस्तुर सङ्कलन गरिने उनले जानकारी दिए ।

सङ्कलित रकमको कम्तीमा दुई तिहाइ रकम सोही सडकखण्डको मर्मतसम्भारमा उपयोग गरिने केसीको भनाइ छ । दस्तुर सङ्कलनलाई व्यवस्थित गर्न बैंकिङ प्रणाली विद्युतीय माध्यमबाट गरिएको र भुक्तानी नगदको साथै ‘क्युआर कोड’बाट पनि गर्न मिल्ने बनाइएको छ ।

भैरहवा-भूमही सडकखण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्वीपमेन्टको रु ३०, कार, जिप, पिकअप भ्यान र ट्र्याक्टरको रु २० र तीनपाङ्ग्रे तथा मोटरसाइकलको रु १० सडक उपभोग दस्तुर तोकिएको छ । यो सडकखण्डमा भने तिनपाङ्ग्रे तथा मोटरसाइकलको दस्तुर अहिले सङ्कलन नगरिएको कार्यकारी निर्देशक केसीले जानकारी दिए ।