सुरक्षा चुनौती निस्तेज पार्ने रणनीति बनाउन महानिरीक्षक कार्कीको निर्देशन

सुरक्षा चुनौती निस्तेज पार्ने रणनीति बनाउन महानिरीक्षक कार्कीको निर्देशन


प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतीको विश्लेषण गर्दै त्यसको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि उनले ‘भर्चुअल’रुपमा आइतबार (१ मङ्सिर) मातहतका कमिटीलाई व्यावसायिक रूपमा आआफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक रहेको बताएका उनको सचिवालयले जनाएको छ । वस्तुनिष्ठ अपराध अनुसन्धान, सीमानाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई उच्च प्राथमिकता दिन उनले निर्देशन दिएका छन्।

महानिरीक्षक कार्कीले आसन्न निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘आ-आफ्नो जिम्मेवार क्षेत्रमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवं सरोकारवाला सबै पक्षसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुहोला’, निर्देशन सम्बोधनमा प्रहरी महानिरीक्षक कार्कीले भने ।

त्यसक्रममा वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो भने काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधि भर्चुअल रुपमा सहभागी थिए ।