पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मंगलबार (२ मङ्सिर) देखि भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले हुन नसकेको अवस्थामा उडान थालिएको हो ।
यसअघि असोज १२ सहित १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय गरिएको थियो । भुटान एयरको पोखरा-पारो (भुटान) सिधा उडान आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।
भुटान एयर र नेपालस्थित प्रतिनिधि युनभर्सल टुर्स एण्ड ट्राभल्सको निमन्त्रणामा आफू पहिलो उडानमार्फत थिम्पु पुगेको जानकारी दिँदै महानगरपालिकाका प्रमुख आचार्यले भने,’भुटानस्थित पारो अन्तरराष्ट्रिय विमानस्थलबाट पोखरा खाली आएको विमानले पोखराबाट नौ जना पाहुना तथा क्रु मेम्बरसहित पारो विमानस्थलमामा सुरक्षित अवतरण गरेको छ । आज केही प्राविधिक कारणले पूर्व निर्धारित टिमसहितको यात्रा हुन नसके पनि, छिट्टै नियमित उडान सञ्चालन हुने अपेक्षा राखेको छु ।’ भुटान एयरलाइन्स र युनभर्सल टुर्स एण्ड ट्राभल्सले यसअघि गरेको प्रतिबद्धता निकट भविष्यमै नियमित उडानमा पूरा हुने उनले विश्वास व्यक्त गरे ।
अक्टोबरदेखि सुरु हुने बताइएको पूर्वनिर्धारित कार्यक्रम नेपालमा भएको अघिल्लो आन्दोलनका कारण पुनतालिकीकरण भएको र आज पहिलो उडान सफलतापूर्वक शुभारम्भ भएको उल्लेख गर्दै उनले बाँकी नियमित सिधा उडान २०२६ अप्रिलदेखि पुनः सुरु हुने भुटान एयरलाइन्सबाट जानकारी प्राप्त भएको बताए ।
भुटान एयरलायन्स एक सय २६ सिट क्षमताको हो । ट्राभल्सले चार्टर उडानसहित ट्राभल्स प्याकेजसमेत बनाएको छ । सो प्याकेज चार रात र पाँच दिनको रहेको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडान सुरु हुनुले दुवै देशको पर्यटन प्रवर्द्धन सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् ।
विमानस्थलबाट यस्ता किसिमबाट उडान हुुनुपर्ने बताउँदै उनले यो यहाँको पर्यटन प्रवर्द्धनका लागि सकारात्मक भएको धारणा राख्नुुभयो । पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ । जसअनुसार यहाँबाट हुने अन्तरराष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ । नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नुपर्दैन ।
यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो । सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो । यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु तीन हजार रूपैयाँको यात्रु सेवा शुल्कमा छुट छ । यी दुवै विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ ।
हाल भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भुटान एयरलायन्सले सातामा चार वटा उडान भर्दै आएको छ । यसअघि गत असार ७ गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ ।
त्यस्तै, सिचुवानले पोखरा-सिचुवान-अष्ट्रेलिया उडानको पहलसमेत गरिरहेको छ । यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलो पटक २०८० असार ६ गते पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो । असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल-चाइना फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो । हाल हिमालय एयरलायन्सले ल्हासाको नियमित उडान गरिरहेको छ ।
हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ । काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौंं जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान थालेको थियो ।
हिमालयका साथै सिचुवान र भुटान एयरलाइन्सको उडान भएमा यसबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बन्ने र विश्वका विभिन्न गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने विश्वास लिइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुस २०७९ मा उद्घाटन गरिएको थियो ।
तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल करिब २२ अर्ब लागतमा निर्माण भएको हो । वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।
photo: rss
प्रतिक्रिया