साउदी राजकुमारको सम्मानमा ह्वाइट हाउसमा ट्रम्पद्वारा भव्य रात्रिभोज

साउदी राजकुमारको सम्मानमा ह्वाइट हाउसमा ट्रम्पद्वारा भव्य रात्रिभोज


साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आयोजित भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहे । अमेरिका भ्रमणमा रहेका साउदी राजकुमारका लागि ह्वाइट हाउसमा गरिएको उक्त रात्रिभोज चर्चित व्यक्तित्वहरूको उपस्थितिका कारण निकै ध्यानाकर्षक बन्यो ।

साउदी क्लब अल नासर का लागि खेल्दै आएका र धेरै वरिष्ठ खेलाडीहरूसँगै साउदी अरबको आकर्षक प्रस्तावका कारण त्यहाँ पुगेका रोनाल्डोको सम्झौता यसै गर्मीयाममा समाप्त हुँदैछ । ४० वर्षीय रोनाल्डो राष्ट्रपति र साउदी क्राउन प्रिन्स प्रवेश गर्नु केही क्षणअघि नै ट्रम्पको टेबलनजिकै आफ्नो सीटमा बसेका देखिन्थे ।

राष्ट्रपति ट्रम्पले रात्रिभोजको भाषणमा भने, ‘तपाईंहरूलाई थाहा छ, मेरा छोरा ब्यारन रोनाल्डोका ठूला प्रशंसक हुन् ।’ १९ वर्षीय ब्यारनले दिग्गज खेलाडीलाई भेट्न पाउँदा निकै उत्साहित भएको राष्ट्रपति ट्रम्पले खुलासा गरे । उनले हाँस्दै थपे, ‘मलाई लाग्छ, अब उसले आफ्नो बुबालाई अलिक बढी सम्मान गर्छ, किनकि मैले उसलाई जसको परिचय गराएँ, त्यो कारणले ।’

रात्रिभोजमा उपस्थित खेल सम्बन्धित अर्को प्रमुख व्यक्तित्व थिए- फिफाका अध्यक्ष जियानी इन्फान्टिनो । इन्फान्टिनो सन् २०२६ को विश्वकप (संयुक्त राज्य अमेरिकासहितका राष्ट्रहरूले सह-आयोजना गर्ने) को तयारीकै क्रममा पुनः ह्वाइट हाउस पुगेका हुन् । रोनाल्डोले आइतबार पोर्चुगलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेसँगै आगामी प्रतियोगिता ‘निश्चित रूपमा आफ्नो अन्तिम’ हुने बताएका छन् ।

समारोहमा कालो–टाई पोशाकमा उपस्थित एलन मस्क पनि निकै चर्चा बटुल्ने पाहुना बन्न पुगे । मस्क र राष्ट्रपति ट्रम्पबीच गत जुलाईमा सार्वजनिक रूपमा मतभेद बढेपछि सम्बन्ध चिसिएको थियो । मस्कले सरकारी दक्षता विभाग (डिओजिई) अन्तर्गत लागत कटौती विभाग प्रमुखका रूपमा पाँच महिना काम गरेका थिए । साथै उनी गत मे महिनामा साउदी अरब भ्रमणमा पनि राष्ट्रपति ट्रम्पसँगै सहभागी भएका थिए । तर ट्रम्पको ‘ठूलो र सुन्दर’ (बिग ब्युटिफुल) खर्च विधेयकको मस्कले गरेको आलोचना तथा एपस्टेनसम्बन्धी फाइलका विषयमा टिप्पणीपछि दुवैबीच सम्बन्ध चिसिएको थियो । त्यतिबेला राष्ट्रपति ट्रम्पले मस्कलाई देशनिकाला गर्ने धम्कीसमेत दिएका थिए ।

तथापि, उक्त रात्रिभोजमा टक्सेडोधारी मस्कलाई अन्य पाहुनाहरू सँगै क्यान्डललिट टेबलमा सहज रूपमा कुराकानी गरिरहेको अवस्थामा देखियो, तर उनी राष्ट्रपति ट्रम्पको टेबलमा भने थिएनन् ।

रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले सन् २०१८ मा असन्तुष्ट पत्रकार जमाल खशोग्जीको हत्या सम्बन्धी विवादमा साउदी क्राउन प्रिन्सको पक्षसमेत लिए । उनले राजकुमार मोहम्मद बिन सलमानलाई ‘नेतृत्वको व्यक्तित्व’ भन्दै प्रशंसा गरे ।