अध्यक्षका श्रीमतीलाई पिडीत बचतकर्ताले प्रहरीमा बुझाए
काठमाडौंको गैरीधारामा रहेको पद्मकारा सहकारी संस्थाका सञ्चालक रहेका एकाघरका पारिवारिक सदस्यहरु सयौं बचतकर्ताको करोडौं रकमसहित फरार भएका छन् । सो सहकारीमा एकैघरका बाबु सन्तोष लामा अध्यक्ष, आमा कल्पना लामा सञ्चालक सदस्य र छोरा सञ्जय लामा पनि सञ्चालक सदस्य रहेका छन् ।
सहकारीका अध्यक्ष रहेका सन्तोष लामा कुमारी बैंकमा पनि केही समय अध्यक्ष रहेका थिए । सहकारीमा बचत गरेको आफ्नो रकम पटक-पटक फिर्ता माग्न जाँदा नपाएपछि पिडीतको एउटा समूहले कारवाहीका लागि सहकारी विभाग हुँदै प्रहरीलाई गुहारेको सुइँको पाएपछि उनीहरु तीनै जना फरार रहेका बताइएको छ ।
सहकारीका जिम्मेवार पदाधिकारी कोही कसैको सम्पर्कमा नरहेपछि पिडीत बचतकर्ताले प्रहरीकै स्वीकृतीमा पध्मकारा सहकारीका सञ्चालक सञ्जय लामाकी श्रीमतीलाई गत आइतबार प्रहरी वृत मालिगाऊँको जिम्मा लगाएका थिए । पिडीतले प्रहरी कार्यालयमै सञ्चालक सञ्जय लामाको श्रीमतीलाई घेरेर लोग्नेसहित सासु-ससुराको सन्दर्भमा सोधपुछ गर्दा उनीहरुसँग आफ्नो कुनै सम्बन्ध नरहेको नाटकीय जवाफ दिँदै आफ्नो यसअघि नै सञ्जयसँग ‘डिभोर्स’ भइसकेको बताइरहेकी थिइन् ।
यद्यपि, उनी पिडीतहरुको समूहद्वारा नियन्त्रणमा पर्दाको बखत पनि सञ्जयकै घरबाट समातिएकी हुन् । उनको बसोबास सासु-ससुरा र श्रीमानसँग एकैघरमा सगोलरुपमै छ । तर, सहकारी ठगीबाट जोगिन यसअघि नै नियोजित रुपमा उनीहरुले कानूनीरुपमा देखावटी पारपाचुके गरेको पीडित पक्षको भनाइ छ । प्रहरी कार्यालयमा झण्डै पचासको हाराहारीमा पिडीत बचतकर्ताबाट घेरिँदा र केरकारमा पर्दा पनि सञ्जयसँग ‘डिभोर्स’ भएको दाबी गर्ने ती महिला ढुक्कै देखिन्थिन् । उनको मुहारमा देखिएको हाउभाउले उनी विभिन्न व्यक्तिको आडभरोसा छन् भन्ने बुझ्न गाह्रो थिएन, एक पीडितको भनाइ छ । यद्यपि, प्रहरीले सहकारीका सञ्चालकहरु सम्पर्कमा नआउँदासम्म नाटकिय डिभोर्स भए पनि, कानूनीरुपमा उनलाई थुन्न नसकिएता पनि दैनिक बिहानदेखि बेलुकीसम्म तारेखमा राखिराख्ने बताएको छ ।
मालीगाउँ प्रहरी स्रोतका अनुसार पध्मकारा सहकारीमा प्रारम्भिक जानकारी अनुसार नै पचास करोड बढी पिडीतको रकम फसेको देखिन्छ । अनुसन्धानका क्रममा त्यो रकम अर्बकै हाराहारीमा पुग्ने आंकलन गरिएको छ । सहकारीमा जम्मा भएको रकमबाट विभिन्न ठाउँमा घरजग्गा जोडेको र पछिल्लो समय केही स्थानको बेचबिखन गरिसकिएको स्रोतले जानकारी गरायो । स्रोतका अनुसार सहकारीका सञ्चालक रहेका एकाघरका सदस्य उनीहरुले विदेश भाग्ने योजना बनाएको हुनुपर्छ । अन्यथा जग्गा बिक्री गरेको रकम बचतकर्तालाई थोरैथोरै फिर्ता गरेको भए पनि यस्तो अवस्था आउने थिएन । उनीहरुले सकेसम्म बचतकर्तालाई आशा देखाउँदै झुलाउँदै भुलाउँदै गरेको देखिन्छ ।
प्रहरीका अनुसार केही पिडीत बचतकर्तालाई सहकारीमा भिडभाड नहोस्, हल्लीखल्ली पनि नहोस् भन्ने योजना अनुसार ुफिक्स डिपोजितुको ‘म्याचुएड’ भएको रकमअनुसारको चेक पनि दिइएको छ, तर त्यसरी दिइएको चेक पनि लामो समयदेखि सटही हुन नसकीरहेको पिडीतले प्रहरीमा गुनासो गरेका छन् । केहीकेही पिडीतले त चेक बाउन्स पनि गरेको बताइएको छ ।
प्रतिक्रिया