बढ्दो राजनीतिक र सैन्य दबाबबीच जेलेन्स्की सङ्कटको घेरामा

बढ्दो राजनीतिक र सैन्य दबाबबीच जेलेन्स्की सङ्कटको घेरामा


युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की रूसको विनाशकारी पूर्ण-स्तरीय आक्रमण शुरू भएको करिब चार वर्षपछि देशलाई नेतृत्व दिने आफ्नो क्षमताको कडा परीक्षामा परेका छन् । भ्रष्टाचार काण्ड, राजनीतिक अशान्ति, अमेरिकी-रुसी नयाँ शान्ति प्रस्ताव र युद्धभूमिको कष्टकर अवस्थाबीच उनमाथि दबाब दिनप्रतिदिन बढ्दै गएको छ ।

एक साताभन्दा बढी समयदेखि राष्ट्रपति जेलेन्स्की शीर्ष अधिकारी तथा नजिकका सहयोगीहरू संलग्न भएको भनिएको करिब १० करोड डलरको ठूलो भ्रष्टाचार काण्डको असर नियन्त्रण गर्न निरन्तर सङ्घर्षरत रहेका समाचार एजेन्सीहरुले जनाएका छन् । यसबीच संयुक्त राज्य अमेरिकाले युक्रेनबाट व्यापक सहुलियत माग्ने तर रुसलाई थोरै मात्र प्रतिबद्धता प्रदान गर्ने नयाँ शान्ति प्रस्ताव अघि बढाएको छ, जसले जेलेन्स्कीमाथि थप दबाब सिर्जना गरेको छ ।

रुस एक हजार किलोमिटर (६२० माइल) लामो अग्रमोर्चाका केही क्षेत्रमा ढिलो तर निरन्तर रूपमा अगाडि बढिरहेको छ । साथै युक्रेनका पावर प्लान्टहरूलाई निरन्तर प्रहार गरिरहेको छ, जसका कारण चिसो मौसममा बिजुलीको गम्भीर अभाव देखिन थालेको छ ।

राष्ट्रपति जेलेन्स्कीले सामना गरिरहेको चुनौतीहरू बुझ्न आवश्यक मुख्य पक्षहरू यस्ता छन् –

विद्रोह र भ्रष्टाचार काण्डको दबाब

ऊर्जा क्षेत्रसँग सम्बन्धित ठेकेदारहरूले भुक्तान गरेको भनिएको किकब्याकमार्फत करिब १० करोड डलर दुरुपयोग भएको खुलासा भएपछि युक्रेनका भ्रष्टाचार निगरानी संस्थाहरूले मुद्दा सार्वजनिक गरे र त्यसपछि राष्ट्रपति जेलेन्स्की आफ्नै दलभित्रका सांसदहरूको असन्तोष र विद्रोहसँग जुधिरहेका छन् ।

जेलेन्स्कीले अनुसन्धान सार्वजनिक भएपछि दुई शीर्ष अधिकारीलाई पदबाट हटाए र नजिकका सहयोगीहरूमाथि प्रतिबन्ध लगाए । आरोपितमध्ये एकजना तिमुर मिन्डिच देश छाडेर भागेको बताइन्छ । राष्ट्रपति बन्नुभन्दा अघि जेलेन्स्कीको स्वामित्व रहेको एक मिडिया उत्पादन कम्पनीमा मिन्डिच साझेदार रहेका थिए ।

कसै-कसैले राष्ट्रपति कार्यालयका शक्तिशाली प्रमुख, एन्ड्री यर्माकलाई बर्खास्त गर्न आग्रह गरिरहेका छन् । अनुसन्धानकर्ताहरूले न जेलेन्स्की न त यर्माकमाथि प्रत्यक्ष गलत काम गरेको आरोप लगाएका छन्, तर यर्माकको उच्चस्तरीय प्रभाव तथा सरकारी नियुक्तिमा निर्णायक शक्तिका कारण सांसदहरू उनलाई जिम्मेवार ठहरिनुपर्ने व्यक्तिका रूपमा देखिरहेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार यदि यर्माक पदबाट हटेनन् भने जेलेन्स्कीको दल सर्भन्ट अफ द पिपुलले सन् २०१९ मा दुई तिहाइभन्दा बढी सिट जिते पनि हालको अस्थिरताले दलभित्र फाटो वा संसदीय बहुमत गुम्ने जोखिम बढेको छ ।

पूर्व सेना प्रमुख जलुज्नी सम्भावित प्रतिद्वन्द्वी

वर्तमान अवस्थामा कुनै पनि विपक्षी नेता यथार्थ रूपमा जेलेन्स्कीका लागि खतरास्वरूप उभिन सक्ने स्थितिमा छैनन् । तर, सबभन्दा सम्भावित चुनौती भ्यालेरी जलुज्नी हुनसक्ने अड्कल छ । जुलुज्नीले युद्धको प्रारम्भिक चरणमा सफल प्रतिआक्रमणहरू निर्देशन गर्नुभयो र २०२३ को अन्त्यतिर जेलेन्स्कीले उनलाई पदबाट हटाएका थिए । हाल जलुज्नी बेलायतका लागि युक्रेनका राजदूत छन् र उनले राजनीतिक आकांक्षा अस्वीकार गरे पनि सार्वजनिक सर्वेक्षणहरूले उनलाई जेलेन्स्कीको सम्भावित प्रतिस्पर्धीको रूपमा देखाइरहेका छन् ।

अमेरिका-रुसको नयाँ युद्ध अन्त्य प्रस्ताव

संयुक्त राज्य अमेरिका र रुसले तयार पारेको नयाँ प्रस्तावले युक्रेनलाई गम्भीर सहुलियतहरू गर्न आह्वान गर्छ, जसमा केही क्षेत्र रूसलाई हस्तान्तरण गर्नु, केही हतियारहरू त्याग्नु र अमेरिकी सैन्य सहयोगमा कटौती गर्नु समावेश छ ।

प्रस्तावअनुसार पूर्वी डोनबास क्षेत्रको पूर्ण नियन्त्रण रुसलाई दिने योजना छ । यसको ठूलो अंश युक्रेन अझै नियन्त्रणमा राखिरहेको भए पनि मस्कोले वर्षौंदेखि यस क्षेत्रमा दाबी गर्दै आएको छ ।

राष्ट्रपति जेलेन्स्कीले विगतमा यस्तै प्रस्तावहरूलाई ‘असंवैधानिक र अन्यायपूर्ण’ भन्दै अस्वीकार गरेका थिए । उनले नयाँ प्रस्तावबारे अझै टिप्पणी गरेका छैनन् ।

योजनाबारे छलफल भइरहँदा युक्रेनमा भ्रष्टाचार काण्ड बढ्दै जानुले परिस्थितिलाई झनै संवेदनशील बनाएको युक्रेन विशेषज्ञ ओरिसिया लुत्सेविचको भनाइ छ । ‘जेलेन्स्कीको कमजोरी देखेर अमेरिका र रुसले थप दबाब दिन खोजे, तर यो रणनीति अपेक्षित रूपमा नचल्न पनि सक्छ किनकि युरोपेली सहयोगीहरू युक्रेनको पक्षमा जुट्न थालेका छन्’, उनले भनेका छन् ।

अगाडि र देशभरि बढ्दो सैन्य दबाब

यसैबीच रुसी सेनाले अग्रमोर्चामा साथै युक्रेनका ऊर्जा पूर्वाधारहरूमा आक्रमण तीव्र बनाएको छ ।

रुसका सैनिकहरूले उत्तर-पूर्वी खार्किभ क्षेत्रमा कुपियान्स्क र लाइमान सहरमाथि बढ्दो दबाब सिर्जना गरिरहेका छन् । यी दुवै शहर सन् २०२२ मा युक्रेनले रुसबाट फिर्ता गरेको थियो । तर सबैभन्दा कडा युद्ध पूर्वी डोनेट्स्क क्षेत्रको महत्त्वपूर्ण रसद केन्द्र, घेराबन्दीमा परेको पोक्रोभ्स्क क्षेत्रमा भइरहेको छ ।

नोभेम्बर महिनामा युक्रेनका पावर प्लान्टहरूमा भएको निरन्तर आक्रमणले युद्ध शुरू भएदेखि सबैभन्दा गम्भीर बिजुली सङ्कट निम्त्याएको छ ।

यसबीच राष्ट्रपति जेलेन्स्की आन्तरिक राजनीतिक उथलपुथल, बाह्य कूटनीतिक दबाब र युद्धभूमिको बिग्रँदै गएको परिस्थितिबीच देशको भविष्यका लागि कठोर निर्णयहरू लिँदै अघि बढ्न बाध्य देखिएका छन् ।