अहिले मजदुर र उद्योग प्रतिनिधिहरू दुवै पक्ष उद्योग सञ्चालनको वातावरण बनाइदिन माग गरिरहेका छन् । सबैपक्षको माग र कानुनबमोजिम प्रक्रिया अगाडि बढाउन छलफल भइरहेको छ ।
बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत ६ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् ।
‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक ट्रेड युनियनको नाममा भएको आन्दोलनका कारण देखाउँदै व्यवस्थापनले उद्योग बन्द गरेपछि मजदुरको रोजगारी खोसिएको हो । रोजगारी गुमेपछि मजदुरहरू अहिले मजदुर सङ्गठनभन्दा पनि रोजगारीको सुनिश्चितताको माग गर्दै नेपालगञ्जस्थित श्रम कार्यालयमा धाउन थालेका छन् ।
उद्योगमा ट्रेड युनियन गठन भएपछि मजदुरहरू दुई खेमामा विभाजित भएका छन् । कोहलपुर-१५ निवासी मजदुर शोभाराम यादवले ट्रेड युनियनका नाममा भएको आन्दोलनले रोजगारी गुमेकोमा चिन्ता व्यक्त गरे ।
कतिपय मजदुरहरूले भने आफूहरूको सहमतिबिना, उद्योगमा कार्यरत नै नरहेका व्यक्तिको फर्जी नाम राखेर ट्रेड युनियन गठन गरिएको भन्दै त्यसको खारेजीको माग गर्दै श्रम कार्यालयमा निवेदन दिएका छन् । खारेजीको माग गर्ने मजदुरहरूलाई ट्रेड युनियनका नेताहरूले डरत्रास र धम्की दिने गरेको यादवको भनाइ छ ।
कोहलपुर-६ निवासी मजदुर गीता थारुले अहिले आफूहरूलाई सङ्गठनभन्दा पनि रोजगारीको खाँचो रहेको बताइन् । सङ्गठनको आन्दोलनका कारण आफ्नो दुई महिनादेखि जागिर गुमेको उनको भनाइ छ ।
उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले ट्रेड युनियनको नेतृत्व गर्ने अधिकांश सदस्यहरू उद्योगमा कार्यरत नै नरहेको दाबी गर्दै फर्जी नाम राखेर दिएको निवेदनलाई प्रमाणीकरण नै नगरी श्रम कार्यालय, नेपालगञ्जले प्रतिष्ठानस्तरको ट्रेड युनियन गठन गरेकोमा आपत्ति जनाए । श्रेष्ठका अनुसार उद्योग पूर्णरूपमा सञ्चालन हुन नपाउँदै मजदुर सङ्गठनका नाममा अवरोध सिर्जना गरियो । पहिलेदेखि नै पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा दैनिक करिब रु पाँच लाख घाटा व्यहोर्दै आएको उद्योगलाई श्रम कार्यालयले वास्तविकता नबुझी खाता रोक्का गरिदिएपछि बन्द गर्न बाध्य हुनुपरेको उनको तर्क छ ।
“हामी सरकारले तोकेको मापदण्ड पालना गर्दै मजदुरलाई पारिश्रमिक दिँदै आएका छौँ”, श्रेष्ठले भनेका छन्, “घाटामा गएको उद्योगले अहिले तत्काल पारिश्रमिक वृद्धि र बोनस खुवाउन सक्ने अवस्थामा छैनौँ, तर परिस्थिति सुध्रिनासाथ सेवा सुविधा बढाउँदै लैजाने हाम्रो सोच छ ।” उद्योग बन्द हुँदा दैनिक रु १० लाखभन्दा बढी घाटा भइरहेको भन्दै उनले सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन सम्बन्धित निकायसँग अनुरोध गरे ।
श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकले योयो प्लाइउडका मजदुरहरू विभाजित भएको स्वीकार गरे । उनका अनुसार उचित पारिश्रमिक नपाएको भन्दै केही मजदुरद्वारा सङ्गठनका नाममा परेको उजुरीमाथि कारबाही हुँदै जाँदा उद्योगको खाता रोक्का गरिएको थियो । अहिले मजदुर र उद्योग प्रतिनिधिहरू दुवै पक्ष उद्योग सञ्चालनको वातावरण बनाइदिन माग गरिरहेका छन् । सबैपक्षको माग र कानुनबमोजिम प्रक्रिया अगाडि बढाउन छलफल भइरहेको छ ।
ट्रेड युनियन दर्ताको विषयमा भने रजकले दर्ताका लागि आएको निवेदन र मजदुरको हस्ताक्षरको आधारमा सङ्गठन दर्ता गरिएको बताए । मजदुरको हस्ताक्षर कीर्ते भएकोलगायतका विषयमा प्रमाणीकरणको लागि ३५ दिनभित्र श्रम अदालतमा जानसक्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ ।
विगत पाँच वर्षदेखि सञ्चालित यो उद्योगले कोहलपुर नगरपालिका-१४ ढोरपुर र ठाडागाउँका खटिक समुदायको बसोबास रहेको स्थानीयवासीलाई गाउँमै रोजगारीको अवसर दिएको थियो । उद्योग बन्द भएपछि स्थानीयहरूको मुख्य रोजगारीको स्रोत पनि गुमेको छ ।
प्रतिक्रिया