नेपाल-चीन सिमाना उत्तरी कोरलानाका (मुस्ताङ)स्थित दशगजा क्षेत्रमा हाटबजार पूर्वाधार निर्माण गरिँदै छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले कोरलानाकामा स्थानीयका लागि हाटबजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने जनाएको हो ।
नेपाल–चीन कोरलानाकामा स्थानीय हाटबजार पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जगदीश जोशीले जानकारी दिनुभयो । उहाँले कोरलास्थित सीमानाकामा हाटबजार निर्माणका लागि प्रारम्भिक सर्वे अध्ययन गरिएको उल्लेख गर्नुभयो ।
‘हाटबजार लागि सर्वे अध्ययन, लागत अनुमान र डिजाइनको काम सुरु गरेका छौँ । साथै स्थानीय जनप्रतिनिधि र हाटबजार चलाउने व्यापारीको धारणा बुझ्दै छौँ’, उहाँले भन्नुभयो- ‘यसलाई कस्तो डिजाइनको बनाउने भन्ने अहिले यकिन भइसकेको छैन ।’
नेपाल–चीन उत्तरी कोरलानाका विसं २०८० कात्तिक २७ गते औपचारिक रूपमा उपल्लो मुस्ताङका नागरिकका लागि खुल्ला गरिएको थियो । सीमावर्ती क्षेत्रका स्थानीय नागरिकका लागि बाह्रै महिना कोरलानाकाको ढोका खुल्ला गरिएसँगै चिनियाँ मालसामान बिक्री गर्न अस्थायी रूपमा त्रिपाल टाँगेर हाटबजार सञ्चालन गर्दै आइरहेका छन् । नाका आसपास करिब दुई दर्जन बढी नागरिकले हाटबजारमार्फत व्यापार सञ्चाल गर्दै आएका छन् ।
समुन्द्री सतहबाट चार हजार ६२० मिटरको उचाइमा अवस्थित कोरलानाकामा हाटबजारका साथै स्थानीय युवालाई वैकल्पिक व्यापार व्यवसाय चलाएर आर्थिक जीविकोपार्जनमा योगदान पुगेको छ । नाकामा हाटबजार चलाउने स्थानीयका लागि भरपर्दो पूर्वाधार नहुँदा हिमपात, चिसो र हावाहुरीको सामाना गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले पूर्वाधार निर्माणको पहल थालिएको जोशीले बताउनुभयो ।
पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जोशीले कोरलानाकामा स्थानीय हाटबजार पूर्वाधार निर्माणका लागि विनियोजित बजेट अपुग हुने देखिएमा प्रदेश सरकारसँग थप माग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विसं २०८१ कात्तिक १४ गते नेपाल–चीन सिमाना कोरलास्थित अध्यागमन कार्यालयको उद्घाटनमा पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरला नाकामा अव्यवस्थित रूपमा सञ्चालन भएका हाटबजारलाई व्यवस्थित गर्ने बताउनुभएको थियो । त्यसपछि उहाँले नाकामा हाटबजार व्यवस्थापन गर्न आंशिक बजेट विनियोजन गर्नुभएको हो । प्रदेश सरकारबाट विनियोजित बजेट न्यून भएको स्थानीय सरोकार भएकाहरूको भनाइ छ ।
पछिल्लो समय कोरलानाका व्यापारिक केन्द्रका रूपमा मात्रै नभई पर्यटकीय गन्तव्यसमेत बनेको छ । नाकामा हुने अनुकूल मौसमका कारण दिनहु सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् । गत ३० भदौदेखि यस नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै पर्यटकीय चहलपहल पनि बढेको स्थानीय बताउँछन् ।
नाकामा नेपाल पक्षबाट आवश्यक भौतिक पूर्वाधार निर्माण नहुदा यहाँ पुग्ने पर्यटक तथा हाटबजार चलाएर बस्ने नागरिकलाई सास्ती हुँदै आएको छ । नाकामा खानेपानी, शौचालय र हाटबजारका स्टललगायत पूर्वाधार नहुँदा समस्या हुँदै आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताउनुभयो । नाकामा पूर्वाधार निर्माणका लागि स्थानीय तह एक्लैले काम गर्न गाह्रो हुने भएकाले प्रदेश सरकारसँग समन्वय गरिएको उहाँको भनाइ छ ।
file photo: rss
प्रतिक्रिया