रुस-युक्रेन युद्धको अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिसारेको शान्ति योजनाप्रति कडा आपत्ति जनाउँदै अमेरिकी सांसदहरूले अहिलेको स्थितिबारे गम्भीर चिन्ता प्रकट गरेका छन् ।
सांसदहरूका अनुसार उनीहरूले विदेशमन्त्री मार्को रुबियोसँग गत शुक्रबार भएको संवादमा रुबियोले नै ट्रम्प प्रशासनले किएभमाथि स्वीकार गर्न दबाब दिइरहेको योजना कुनै औपचारिक अमेरिकी प्रस्ताव नभइ ‘रूसी पक्षको इच्छा-सूची’ जस्तै भएको बताए ।
तर, यस दाबीलाई अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट रूपमा असत्य भन्दै खण्डन गरे । त्यसपछि रुबियोले समेत असाधारण रूपमा अनलाइन प्रतिक्रिया दिँदै सांसदहरूले आफूलाई गलत बुझेको सङ्केत गरे । यद्यपि ती सांसदहरूले भने उक्त जानकारीको स्रोत रुबियो आफैं भएको दाबी गरिरहे । रुबियोले मस्कोको हितमा अत्यधिक झुकेको देखिने शान्ति प्रस्तावका सम्बन्धमा वासिङ्टनकै जिम्मेवारी रहेको बताउँदै आफ्नो थप अडान सार्वजनिक रूपमा दोहोर्याए ।
ट्रम्प प्रशासनको अनुमोदन पाएको, व्यापक रूपमा चुहिएको २८ बुँदे अमेरिकी शान्ति योजना ह्वाइट हाउसका अनुसार रुबियो र राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफबीच झन्डै एक महिनासम्म चलिरहेको परामर्शको नतिजा हो । उक्त प्रस्तावमा युक्रेनले ठूलो भूभाग त्याग्नुपर्ने जस्ता धेरै रूसी मागहरू समावेश गरिएका छन् । भूभाग त्याग्नुपर्ने प्रस्तावलाई युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले धेरैपटक अस्वीकार गर्दै आएका छन् । राष्ट्रपति ट्रम्पले युक्रेनले अर्को हप्ताको अन्त्यसम्ममा योजना स्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।
क्यानाडामा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै दक्षिण डकोटाका रिपब्लिकन सांसद माइक राउन्ड्सले वर्तमान स्वरूपमा सार्वजनिक भएको योजनाका लागि प्रशासन जिम्मेवार नरहेको दाबी गरे । उनका अनुसार यो योजना मात्र एक प्रारम्भिक रूपरेखा हो । सांसद राउन्ड्सले कडा शब्दमा टिप्पणी गर्दै भने, ‘यो त रूसी भाषामै लेखिएको जस्तो देखिन्छ ।’
रुबियो जेनाभा प्रस्थान गर्दै गर्दा सांसदहरूसँग गरिएको सम्पर्कपछि उनलाई उद्धृत गर्दै स्वतन्त्र सिनेटर एङ्गस किङले योजना ‘प्रशासनको आधिकारिक प्रस्ताव नभइ रूसी पक्षको चाहनाको सूची मात्र’ रहेको बताउनु भएको दाबी गरे । विदेशनीति र सुरक्षा विषयमा लामो अनुभव भएका द्विदलीय सांसदहरूको समूहले प्रेस सम्मेलनमार्फत यही धारणा साझा गर्दै रुबियोले आफ्नै जवाफमा दिएको सङ्केत नागरिकहरूलाई सुनाए ।
एक अमेरिकी अधिकारीका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेशमन्त्री दुवैको भूमिकामा रहेका रुबियो जेनाभामा हुने आगामी बैठकमा अमेरिकी प्रस्तावबारे छलफल गर्न सहभागी हुने अपेक्षा गरिएको छ । यद्यपि उनले सार्वजनिक रूपमा सिनेटरहरूको दाबीलाई अस्वीकार गर्दै एक्समा लेखेका थिए, ‘शान्ति प्रस्ताव अमेरिका द्वारा लेखिएको हो । यो रूसी तथा युक्रेनी दुवै पक्षबाट प्राप्त इनपुटमा आधारित छ । यही प्रस्तावलाई निरन्तर वार्ताका लागि बलियो ढाँचा रूपमा प्रस्तुत गरिएको छ ।’
विदेश मन्त्रालयलका प्रवक्ता टोमी पिगटले सांसदहरूको सार्वजनिक दाबी ‘स्पष्ट रूपमा झुटो’ भएको पुनः औँल्याए । त्यस्तै ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले पनि नाम गोप्य राख्दै प्रशासनले सुरुदेखि यस प्रस्तावलाई दीर्घकालीन शान्ति प्रक्रियातर्फ अघि बढ्ने प्रारम्भिक सहमतिको रूपमा रहेको बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार ढिलो प्रतिक्रिया दिँदै यदि अमेरिका युक्रेन र युरोपेली सहयोगीहरूलाई सहमत गराउन सक्षम हुन्छ भने यो प्रस्ताव ‘अन्तिम शान्ति सम्झौताका लागि आधार बन्न सक्ने’ आशा व्यक्त गरेका थिए ।
प्रतिक्रिया