ह्वाइट हाउसनजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप
राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसनजिकै दुई नेसनल गार्ड सैनिकमाथि भएको घातक गोलीकाण्डलाई ‘आतङ्ककारी कार्य’ भन्दै तालिबान शासनबाट भागेर अमेरिका प्रवेश गरेका एक अफगान नागरिकलाई मुख्य संदिग्धको रूपमा आरोपित गरेका छन् ।
राष्ट्रपति ट्रम्पद्वारा भिडियो सन्देशमार्फत गरिएको यो अभिव्यक्तिले अमेरिकी सैन्य तैनाथी, आप्रवासन नीति र अफगानिस्तान युद्धको दीर्घ प्रभावजस्ता राजनीतिक रूपमा संवेदनशील मुद्दाहरूलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ ।
ट्रम्पका अनुसार आक्रमण ‘दुष्ट, घृणित र राष्ट्रविरुद्धको’ थियो । ह्वाइट हाउसबाट मात्र दुई ब्लक टाढा गोली चलाएपछि पक्राउ गरिएका व्यक्ति ‘अफगानिस्तानबाट प्रवेश गरेका विदेशी’ भएको उनको दाबी छ । सन्दिग्ध सन् २०२१ मा अफगानिस्तान पतनपछि अमेरिकी निकासी उडानमार्फत अमेरिका आएको उल्लेख गर्दै ट्रम्पले उक्त प्रक्रियाको कठोर पुनःमूल्याङ्कन आवश्यक रहेको बताएका छन् ।
मेट्रो स्टेसन नजिकै व्यस्त समयमै भएको यो आक्रमणले ट्रम्पद्वारा विभिन्न डेमोक्रेट-नियन्त्रित शहरहरूमा तैनाथ गरिएका सैनिकहरूको भूमिकाबारे उठेका कानूनी चुनौती र आलोचनालाई झनै प्रबल बनाएको छ । यसै क्रममा ट्रम्पले ‘अवैध आप्रवासी उखेल्ने अभियान’लाई फेरि तीव्र गर्ने सङ्केत दिएका छन् ।
उनको भनाइपछि युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेसले अफगान नागरिकसँग सम्बन्धित सबै आप्रवासन प्रक्रियाहरू अनिश्चितकालका लागि रोक्ने घोषणा गरेको छ ।
वासिङ्टनका सहायक प्रहरी प्रमुख जेफ्री क्यारोलका अनुसार आक्रमण पूर्ण रूपमा ‘एम्बुस’ शैलीको थियो । बन्दुकधारीले कुनाबाट निस्कँदै सिधै सैनिकलाई लक्ष्य बनाएको थियो । एफबिआई निर्देशक कास पटेलले दुवै सैनिक गम्भीर घाइते रहेको पुष्टि गर्नुभयो । प्रत्यक्षदर्शीहरूले अचानक धेरै गोली चलेको, मानिसहरू आतङ्कमा भागिरहेको र केही नेसनल गार्ड सदस्यहरू हतियारसहित मेट्रोतिर दौडिरहेको बताए ।
आक्रमणपछि सुरक्षाकर्मीहरूले क्षेत्र पूरै घेराबन्दी गरे । हेलिकप्टरले आकाशबाट निगरानी गरिरहेको अवस्थामा आपतकालीन टोलीले घाइते सैनिकलाई उद्दार गरी एम्बुलेन्सतर्फ लैजाँदै गरेको दृश्य एएफपी पत्रकारहरूका लागि अत्यन्तै ब्यग्र देखिन्थ्यो ।
अफगान शरणार्थीहरूको सहायतामा संलग्न समूह ‘अफगानइभाक’ले कुनै पनि एक व्यक्तिको हिंसात्मक कार्यलाई सम्पूर्ण समुदायमाथि दोषारोपण गर्ने आधार नबनाउन आग्रह गर्दै अमेरिका आउने प्रत्येक अफगानले कडा सुरक्षा जाँचबाट गुज्रिनैपर्ने बताएको छ ।
प्रतिक्रिया