फ्लोरिडामा युक्रेन-अमेरिका उच्चस्तरीय वार्ता

फ्लोरिडामा युक्रेन-अमेरिका उच्चस्तरीय वार्ता


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि युक्रेन-रूस युद्धमा मध्यस्थता गर्न दबाब बढाइरहेका ट्रम्प प्रशासनका उच्च अधिकारीहरू यस सप्ताहन्त फ्लोरिडामा युक्रेनी वार्ताकारहरूसँग निरन्तर वार्तामा बसेका छन् । यो भेटवार्ताले आगामी दिनहरूमा मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने महत्त्वपूर्ण छलफलका लागि आधार तय गर्ने लक्ष्य राखेको छ ।

यस उच्चस्तरीय बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ तथा ज्वाइँ जारेड कुशनरले युक्रेनी प्रतिनिधिमण्डलसँग प्रस्तावित शान्ति संरचनाको मुख्य बुँदाहरूलाई थप स्पष्ट पार्न विस्तृत छलफल गरिरहेका छन् । सन् २०२२ मा सुरु भएको रूसी आक्रमणविरुद्ध हाल युक्रेनले प्रतिरक्षा मोर्चामा दबाब बढाइरहेको अवस्थामा यो वार्ता युक्रेनका लागि अत्यन्तै संवेदनशील घडीमा आएको हो ।

यहीबीच, फ्लोरिडा वार्ताको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो शक्तिशाली चिफ अफ स्टाफ एन्ड्री यर्माकले पदत्यागको घोषणा गरेका छन् । यर्माक यतिबेलासम्म संयुक्त राज्य अमेरिकासँग चल्दै आएको वार्ताका प्रमुख प्रतिनिधिका रूपमा रहेका थिए । उनको निवासमा भ्रष्टाचारविरोधी अनुसन्धानकर्ताहरूले छापा मारेपछि उत्पन्न परिस्थितिले जेलेन्स्की सरकारमाथि थप आन्तरिक दबाब सिर्जना गरेको छ । ऊर्जा क्षेत्रमा ठेकेदारहरूले उपलब्ध गराएको अवैध किकब्याक मार्फत १० करोड डलरभन्दा बढी रकम हिनामिना भएको आरोपपछि सरकार आलोचनाको केन्द्रविन्दुमा रहेको छ ।

रुबियो र यर्माकबीचको जेनेभास्थित भेटभएको एक हप्तामात्रै भएको थियो, जसमा दुवै पक्षले संशोधित शान्ति योजनाको दिशामा भएको प्रगति सकारात्मक रहेको बताउनुभएको थियो । तर अहिले भने युक्रेनी वार्ताकारहरूको टोली पुनःव्यवस्थित गरिएको छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार नयाँ टोलीमा युक्रेनका सशस्त्र बलका प्रमुख एन्ड्री हेनाटोभ, विदेशमन्त्री एन्ड्री सिबिहा तथा सुरक्षा परिषद्का प्रमुख रुस्टेम उमरोभ समावेश छन् ।

यसबीच वासिङ्टन र मस्कोबीच विकसित गरिएको ट्रम्पको २८बुँदे प्रस्तावित योजना परिमार्जनमा कूटनीतिज्ञहरूको ध्यान केन्द्रित छ । रूसपक्षीय मागहरूतर्फ अत्यधिक ढल्किएको भन्दै आलोचना गरिएको उक्त प्रारम्भिक ढाँचाले डोनबासको सम्पूर्ण क्षेत्र रूसलाई हस्तान्तरण गर्ने कल्पना गरेको थियो, जुन युक्रेनका लागि सर्वाधिक विवादित विन्दु बनेको छ । प्रस्तावमा युक्रेनको सेनाको आकारमा सीमा निर्धारण गर्ने, नाटोमा सदस्यता नदिनेजस्ता प्रावधानहरू थिए भने १०० दिनभित्र निर्वाचन आयोजना गर्नुपर्ने बाध्यता पनि समावेश थियो । वार्ताकारहरूले केही बुँदामा परिमार्जन भएको सङ्केत गरिरहेका छन्, तर परिवर्तनको स्पष्ट स्वरूप हालसम्म खुलाइएको छैन ।

यही क्रममा, शनिबार किएभ र आसपासका क्षेत्रमा रूसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् । युद्धको दबाबबीच भइरहेको वर्तमान वार्ताले स्थिति झन् जटिल बनाएको छ ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा युक्रेनी प्रतिनिधिमण्डलले ‘युद्ध अन्त्यका लागि आवश्यक कदमहरू छिटो र प्रभावकारी रूपमा अघि बढाउनेछ’ भनेर आशा व्यक्त गरेका छन् ।

पेरिसमा सोमबार जेलेन्स्की-म्याक्रोन भेट हुने

रुस–युक्रेन युद्धको शान्ति सम्झौताका लागि चलिरहेको कूटनीतिक प्रयास तीव्र भएसँगै फ्रान्सले सोमबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पेरिसमा स्वागत गर्न तयारी पूरा गरेको छ ।

फ्रान्स २४ले जनाएअनुसार राष्ट्रपति जेलेन्स्की फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्दै युद्धपछिको सबैभन्दा कठिन राजनीतिक तथा सैन्य परिस्थितिमा रहेको युक्रेनका चुनौतीबारे गम्भीर छलफल गर्ने कार्यक्रम छ ।

शनिबार फ्रान्सेली राष्ट्रपति कार्यालय (एलिसी)का एक अधिकारीले म्याक्रोन र जेलेन्स्कीबीच ‘न्यायपूर्ण र स्थायी शान्तिका लागि आवश्यक सर्तहरू’ बारे गहन विचार-विमर्श हुने जानकारी दिएका थिए । अमेरिकामा युक्रेनका लागि तयार गरिएको शान्ति योजनाबारे छलफल गर्न एक उच्चस्तरीय युक्रेनी प्रतिनिधिमण्डल प्रस्थान गर्ने तयारीमा रहेका बेला यो भेटवार्ता तय गरिएको हो ।

यसैबीच, युक्रेनमा प्रमुख राजनीतिक हलचल सिर्जना भएको छ । राष्ट्रपति जेलेन्स्कीका निकट सहयोगी तथा अत्यन्त प्रभावशाली राजनीतिक हर्ताकर्ता मानिने राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यर्माकले भ्रष्टाचारविरोधी निकायहरूले उनको निवासमा छापा मारेको केही घण्टामै राजीनामा दिएका छन् । किएभले अमेरिकाको दबाबका बीच रूससँग शान्ति सम्झौता स्वीकार गर्नुपर्ने अवस्था झन् जटिल बन्दै गइरहेको छ ।