‘पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने’

‘पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने’


रूसका प्रथम उपप्रधानमन्त्री डेनिस मन्तुरोभले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिँदै यसलाई ‘वार्षिक उच्चस्तरीय शिखर सम्मेलनको परम्परामा पुनरागमन’ भएको बताएका छन् ।

पुटिनको लामो समयपछि हुन लागेको यो पहिलो भारत भ्रमणका लागि दुवै पक्षका अधिकारीहरूले डिसेम्बर ४-५ मा हुने उच्चस्तरीय बैठकहरूलाई सफल बनाउने उद्देश्यले एजेन्डा सूक्ष्मरूपमा तयारी गरिएको मन्तुरोभको भनाइ छ । उनका अनुसार भ्रमणले दुवै देशबीच दशकौँदेखि कायम रहेको विश्वास, आत्मीयता र रणनीतिक सहकार्यलाई नयाँ गति दिनेछ ।

भारत-रूस फोरम पनि यही अवसरमा नयाँदिल्लीमा आयोजना हुँदैछ, जसमा दुवै देशका प्रमुख सरकारी प्रतिनिधि तथा व्यावसायिक क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको सहभागिता रहनेछ । फोरमले भारतीय कच्चा पदार्थ, उपकरण र खाद्य सामग्रीको निर्यात विस्तार, द्विपक्षीय व्यापारको विविधीकरण, संयुक्त लगानी परियोजना र उच्च प्रविधि क्षेत्रमा सहकार्य वृद्धिका विषयमा गहन छलफल गर्नेछ । मन्तुरोभले फोरम व्यवसाय-व्यवसायबीच प्रत्यक्ष संवाद र साझेदारी विस्तार गर्ने प्रभावकारी मञ्च बन्ने अपेक्षा रहेको बताए ।

अर्को दशकमा भारत-रूस सम्बन्धबारे सोधिएको प्रश्नमा मन्तुरोभले दुवै राष्ट्र ‘साँचो र दीर्घकालीन मित्रता’ मा आधारित भएर अझ लचिलो, सक्षम र भविष्यमुखी सहकार्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार विश्व राजनीति र अर्थतन्त्र तीव्र गतिमा परिवर्तन भइरहे पनि भारत र रूस आपसी हितका क्षेत्रमा (विशेषतः उच्च प्रविधि उद्योग, वैज्ञानिक अनुसन्धान र रणनीतिक समन्वयमा) गहिरो रूपमा जोडिनेछन् ।

रूसी उपप्रधानमन्त्रीका अनुसार ग्लोबल साउथको प्रभाव बढिरहेको अवस्थामा मस्को-नयाँदिल्ली सहकार्यले विश्वव्यापी सन्तुलनमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । संयुक्त प्रयासका कारण दुवै राष्ट्रको आवाज अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावकारी बन्दै जाने उनको अपेक्षा छ ।

रुसी राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा डिसेम्बर ४-५ मा भारत भ्रमण गर्न लागेका हुन् । उनले २३औँ भारत-रूस वार्षिक शिखर सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय वार्ता गर्नेछन् । भारतका राष्ट्रपतिबाट पनि शिष्टाचार भेटका साथै सम्मानमा विशेष भोजको व्यवस्था हुनेछ ।

यस भ्रमणले सन् २०२१ पछि पुटिनको पहिलो भारत आगमनलाई चिह्नित गर्नेछ । दुवै नेताबीच पछिल्लोपटक यस वर्ष सेप्टेम्बरमा चीनको तियानजिनमा भएको एससिओ शिखर सम्मेलनको क्रममा भेटघाट भएको थियो । यो उच्चस्तरीय भेटघाटले द्विपक्षीय सम्बन्धको प्रगतिको समीक्षा, ‘विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’को दिशानिर्देश तय गर्ने तथा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा आपसी समन्वय बढाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।