बिसाइनसक्नुका अथाह बहहरू

बिसाइनसक्नुका अथाह बहहरू


श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । यो प्रबन्ध व्यक्ति विशेष लक्ष्यित हैन; प्रहार हो समग्र प्रवृत्तिउपर । नकारात्मकताले हाम्लाई छोडेन । आफू उन्नति नगर्ने ; अर्कोलाई धारे हात लगाउने । प्रवासी कटुवालले सुन्दर रचना दिएर गए तर हाम्राले त …। लेख्दावर्दा  नकारात्मकता उधिन्नुपर्ने; डोकोभरिको खप्की खेप्नुपर्ने । आगो त नठोसि बल्दैन; नकारात्मकतालाई सकारात्मक तुल्याउने सत्प्रयास । कुहिएको माछोले तलाऊ गन्हाउँछ; दूषित व्यक्तिले वातावरण धमिल्याउँछ ।

ब्रम्हाण्ड फुक्ने; ब्लैक होल खुम्चिने । गफक्कडको बगमफुसे गफ कसले पत्याउने ? मुलुकको दुरावस्था । कुन बिन्दुसम्म खस्किने हो ? भूस्वर्ग हो नेपाल । भूराजनीतिले तङ्ग्रिन दिए पो । धोएर धुन नसकिएका क्विन्टले पीरहरू ।  आशा नजाग्ने; निराशा नफट्कारिने । जीवन त धौ पो भो बा । औपचारिकता/अनौपचारिकतामा गुजुल्टिएको मान्छे टसिलो । आफू सद्दे अरू विसद्दे ठान्ने दरिद्र मानसिकता । परधर्मी/विधर्मीको मोक्ष हुन्न – भगवान श्रीकृष्णले पुष्टि गर्नुभएको छ । अध्ययन/विश्लेषण मरु हावा गफ गरु ।

यहाँ त एक जना मान्छे नै फौबन्जार, तहबिल्दार, उपरनेता, अलपत्रकार, महाजन, उद्यमी, माड्साब भएर पो माऱ्यो । नेताले नेतागिरी, माड्साबले शिक्षण, उद्यमीले उद्योग, महाजनले व्यापार र कर्मचारीले सेवा गरे पो फलिफाप हुँदो हो । चुबुरे ज्ञान; विज्ञता छैन ।

पार्टीको चाकडीबाजलाई हनुमान भन्दिनाले रामभक्त हनुमानको अपमान हुन गो । स्वभावैले चाकडीबाज स्वार्थी हुन्छ नै – स्वार्थ पुरा नहुन्जेल गीत गाउँदो; स्वार्थ पुरा भएसि बाटो तताउँदो । अर्कोले नपुछे उसलाई किन पुछ्ने हो र ? निरर्थक सम्बन्ध टुटेकै राम्रो । फुटेको सीसा र छुटेको सम्बन्ध फेरि जोडिएला र ?!

मान्छेपिच्छे भेजा; भेजापिच्छे फरक विचार । मतैक्य हुन सकोइन । यदाकदा झैझगडा गरे जस्तो गरे नि हिरण्यगर्भको माम्लामा एकाकार हुने स्वार्थीहरूको मनोप्रवृति । अवसाद भन्या बुझ्दैन; डिप्रेसन नै भन्नुपर्ने । डुलुवाको डिप्रेसिभ शिकारहरू । अर्काको उन्नति आरिस गर्ने डाढेहरू । डाढेहरूको अन्त्य गतिलो हुन्न है । भुक्ति कहिले सकिने; नेपालले कहिले मुक्ति पाउने ?

विवेकशील मनुष्यले विरलै गल्ती गर्दो । जो गल्ती दोहोर्याउँदो ऊ विवेकशील होइन । आफूले आफैलाई विवेकशील विशेषण झुण्ड्याएर मात्र हुन्छ र ? वर्षौंदेखि आत्मा र शरीरको अस्तित्वबारे निरर्थक बहस चल्दो । ईश्वरको तारतम्यमा ब्रम्हाण्ड/ जगतको सञ्चालन । उहाँले धर्मात्मा ( Soul ) र पापात्मा ( Spirit ) छुट्याउनु भएको । आत्मा ईश्वरीय, यो छऊन्जेल शरीर जीवित; यसले छोडेसि शरीर निर्जीव । आफ्नो विचार पुष्ट्याउन मान्छे वैज्ञानिकताको दुहाई दिंदो । के विज्ञानले अहिलेसम्म ईश्वरीय भविता, आत्मा/परमात्माको निरुपण गर्न सक्या छ र ? आफू यी सकल प्रश्नहरूको उत्तर दिन नसक्ने अनि अध्यात्मशास्त्रतिर किन औलो ठड्याउने ? हामी नै कस्ता परजीवी ?! आफ्नो विचार प्रतिपादन गर्न अन्कनाउने; बातैपिच्छे गौराङ्गको विचार हवाला दिनुपर्ने । गोराले कागती निचोरे जस्तो चुसे नि उसैको भत्केरु बन्नुपर्ने । सनातनी धर्मशास्त्र विद्रुपता निषेध गर्दो, अरूको चर्तिकला हेरिनसक्नुको । सनातनीको ठेक्का अभिषेकले मात्र लिनुपर्ने हो र ? अरू हाडा लागे कि कसो ?

दल छ; दलन छ : विचार/सिद्धान्त छैन । परचक्री सूक्ष्म व्यवस्थापन गर्दो; विदेशीको क्रिडाभूमि । कतै माताको बचाइ निख्रिने त होइन ?! एटिच्युड ठिक भए पो दृष्टिकोण ठिक हुने । नकारात्मकता शिवाय केही नदेख्ने हनबेर्नु । चोरको गोडा काट् … भएसि झ्याउँलो त बल्झिंदो । विगत बिर्सने सितिकसा भुँइफु्ट्टा बैगुनीहरू ।

स्वत्व बेगर के छ ? विश्व हेरे भैगो नि । मन्दिरमा पूजा अर्चना गर्न्या हो ।  रामराज्य थियो; राजसले राजकीय सत्ता जम्बुमन्त्रीको सिङ झैं गायब भो ।  आत्मारुपी विचार अजरामर । बज्रठिंगाको बिज्याइँले उसैलाई पोल्दो । अनेकतामा एकताको जय होस्; नश्लता, जातीयता, क्षेत्रीयता र साम्प्रदायिकताको पराजय होस्  । गल्तीको अछुत कोही छैन । सुगौलीदेखि विप्पातक राष्ट्रघाती भड्खारो खन्दो; अझै उही ठुलो कुरा गर्दो । पाङदुरे भ्रष्टाचारीहरू ।

निमिष-निमिषको मूल्य हुन्छ । हाम्रोमा त समयको महत्व नबुझेर हो वा बुझ पचाएर हो आफ्नो अमूल्य समय अकार्थमा खर्चेका छन् – नानाभाँतिका अराजनीतिक गफ चुटेर होस् वा जुवातास खेलेर होस् वा क्यारम हेरेर होस् । भूगोल त अम्रिका हो; दुई शताब्दीअघि घटित घटना । पुस्तक पसलमा ग्राहक आयो; उसले बिक्रेतासित आफूलाई चाहिएको किताबको मूल्य सोध्यो- ‘यसको मोल कति ?’

प्रत्युत्तरमा बिक्रेताले भन्यो , ‘एक डलर ।’

ग्राहकले भन्यो , ‘केही रकम छुट गर्दिनु हुन्छ कि ?’

बिक्रेताले भन्यो , ‘सक्दिनँ !’

‘उसोभए पसल मालिकलाई डाक्दिनोस् न त ।’  यति भनेर ग्राहकले  मालिक नआउन्जेलसम्म अरू किताबहरू हेऱ्यो ।

मालिक आएसि ग्राहकले फेरि किताबको मोल सोध्यो, ‘यो किताब कतिमा दिनुहुन्छ ?’

उसले भन्यो , ‘सवा डलर ।’

उदेकिंदै ग्राहकले भन्यो, ‘अघि तपाईंको बिक्रेताले त एक डलर भन्दै थियो नि त ।’

मालिकले रहस्यको पेटारो उघार्दै भन्यो, ‘ठिक हो । यो मेरो समयको मूल्य हो । तपाईंले ढिल्याइँ गर्नुभो भने किताबको मोल बढ्दै जान्छ ।’

आखिर हार खाएर ग्राहकले त्यो पुस्तक डेढ डलरमा किन्यो । अरू कोही नभएर पसलमालिक त बेन्जामिन फ्रान्कलिन थिए जो पछि गएर प्रसिद्ध वैज्ञानिक र राजनीतिज्ञ भए ।

रैमट्टिएको राजनीति सङ्लियोस्; जनता जनार्दनमा सकारात्मकताको बीजारोपण होस् । नेपाल/नेपालीको जय होस् । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !