मात्र तिमी, तिमी जस्तै

मात्र तिमी, तिमी जस्तै


मात्र तिमी तिमी जस्तै छौ,

चन्द्रमा तिमीजस्तो छैन

कोइलीको गायन खल्लो, रुखो र शुष्क

तिम्रो स्वरसँग दाँजिन्न कुहु

कोइलीले तिम्रो स्वर पाए

बसन्ती सौन्दर्यले स्तुति गर्थ्यो

उफ्री-उफ्री रमाउँथ्यो होला

तिम्रो झैँ हुन पाएको भए

मधुरीमा धन्य हुन्थ्यो होला

तिम्रो आँखाको रङ भइ

निलो निलो हुन पाए

तिम्रो गहिराइमा डुब्न पाए

धन्य हुन्थ्यो प्रशान्त महासागर

तारामा तिम्रो चमक भए

आत्माग्लानी र हीनताबोधले तल-तल झर्दैनथ्यो

उल्का पिण्ड बनेर कहाँ खस्थ्यो र ?

अँधेरो रातमा सारा संगी छोडी

उर्वशीलाई पश्चाताप छ ।

मानविकरण भएकोमा, धर्तीमा नजन्मिएकोमा

तिमी नबनेकोमा

सायद धर्तीमा तिमी झैँ बन्थिन्

तिम्रो हँसिलो मुहार,

कसिलो जिउडाल

कुञ्जको हरिणलाई विस्मात छ

आफ्ना आँखासँग सन्तुष्ट छैन

बुट्टेदार शरीरको संगठन, उसलाई असन्तोषको कारण

तिमीसँग दाँज्दा

सुक्खा र फिक्का बन्छे

केही नपुगेझैँ केही हराएझैँ पिल्सिन्छे ।

खिन्नता आभासले  मृग तृष्णा  रहिरहन्छ

अतृप्त अधुरो रहन्छ ।

तिमी त मात्र तिमी जस्ती छौ अरु केही तुलना हुन्न तिमीसँग ।