(राजनीतिक बक्रोक्ति)
✍ ज्ञानमणि भुर्तेल
दाइको कामतमा आज विशेष चहलपहल छ ! यस क्षेत्रका एकमात्र देवतुल्य ‘सर्वोच्च नेता’को आगमनको खबरले क्षेत्रमा उत्साह छाएको छ ! दाइले बुढानीलकण्ठको अपुङ्गो ल्याउने चर्चाले रौनकता थपेको छ ! नेताजीको आगमन साँझमा हुने भए तापनि घामको झुल्कोसँगै भक्तजनको घुइँचो थामीनसक्नु छ ! भक्तमध्ये कोही गोठ सोहोर्न ब्यस्त देखिन्छन् भने कोही भान्सामा आलु-प्याजका छिल्का उधिन्नमा मस्त छन् ! कोही झाडु समातेर आफ्नो कर्तव्य पूरा गर्दैछन् ! उहाँको सवारीमन्त्री ट्याइलेटबाहिर पानीको बाल्टी र सेनिटाइजर बोकेर तैनाथ छ ! पान चपाउँदै पिच्च-पिच्च थुक्दै बेला-बेला अरुलाई उर्दीसमेत जारी गर्न भ्याउँदैछ ! कुनै समय दाइको बाहुलीबाट अविर धसेर वरिष्ठ काङ्ग्रेसमा दरिएका घिरौँले काङ्ग्रेसको फुर्ती हेर्नलायक देखिन्छ ! माले मण्डले मशाले सबै मिसिएको त्यो जमात हेर्दा किच्चकबध मेलाभन्दा भिन्न माहोल छैन ! कामत क्षेत्रका खोरेत सभापतिबाट मेलाको गरिमा कायम राख्न खोरेत समूहभित्र नपरेका खोरेत दास्वत्व नस्विकार्ने पुराना काङ्ग्रेस गोठबाहिर जान उर्दी जारीपछि निरीह काङ्ग्रेस खोरेत मेलाको गरिमा कायम खातिर बाहिर निस्किए !
‘दाइको आगमन भो !’ – खोरेत समुहबाट जयजयकार गुन्जयमान भो ! दाइले दाहिने हात हल्लाउँदै जवाफी अभिवादन फर्काउनुभो ! उहाँको अभिवादनभाव हेर्दा लाग्थ्यो कि उहाँ भन्दैहुनुन्थ्यो- ‘हम लंकेश हैं’ ! उहाँको भावबाट कामतका खोरेतजन मस्त थिए ! ब्यस्त थिए ! आल्हादित थिए !!
दाइको आशनग्रहण भो ! सवारीमन्त्रीबाट पाउधुलन सम्पन्न भो ! अन्य खोरेतबाट कर्कल ध्वनिका साथ स्वागत समर्पण व्यक्त भो ! दाइ दङ्ग ! छेउमा विराजमान दाइ कामतका उत्तराधिकारी नवराजकुमार झनै दङ्ग ! भुइँबाट एकैपटक केन्द्रमा पुगेका आफ्ना नवराजकुमार केन्द्रिय तरुण दङ्ग देखेर तरुण खोरेत अझ बढी दङ्ग ! ‘जेन्जी आउ ! झापा बचाउ’ गुन्जायमान !!
दाइबाट खोरेत मन्तव्य प्रारम्भ ! खोरेत श्रोतागण ध्यानमग्न ! दाइको पहलमा अहिलेसम्म उहाँको कामतमा भएका विकाश-निर्माणका नमुना बखानबाट कामतबासी उत्साहित !
मन्तव्य समापनपश्चात दाइबाट एउटा पोको सार्वजनिक ! खोरेतगण आश्चर्यचकित ! दाइबाट ठुलै चमत्कारको आश ! पोकोबाट कुनै लेस्याइलो पहेँलो बस्तु प्रदर्शन !
पुनः खोरेत प्रवचन जारी – यो बुढानीलकण्ठको चमत्कारिक अपुङ्गो ! राजनैतिक शक्तिवर्द्धक अपुङ्गो !! शीर्षनेताको शरीरबाट बिसर्जित यो अपुङ्गो सेवनले राजनैतिक शक्ति प्राप्त हुन्छ ! विगतमा कोइराला अपुङ्गो सेवनबाट मैले ठुलै राजनैतिक शक्ति प्राप्त गरेको हो ! कोइराला रहन्जेल मलाई बुढानीलकण्ठको अपुङ्गोसँग एलर्जी थियो ! त्यसबेला बुढानीलकण्ठको अपुङ्गो सेवनकर्ताको खेदो गर्ने मलाई कोइरालाको अवसानपछि बुढानीलकण्ठको यो अपुङ्गो सेवनले ढोकाबाट छिर्न नसकेपनि झ्यालबाट राष्ट्रियसभामा पुग्ने शक्ति प्रदान गरेको छ ! विगत केही समयदेखि यसको सेवनले मैले चुनाव हारे तापनि शक्तिबाट विमुख हुनुपरेको छैन ! यसको सेवनबाट राजाको छोरो राजा हुन पाउनुहुन्न तर नेताको दुधमुखे छोरो नेता हुन पाउनुपर्छ भन्ने दिब्यज्ञान प्राप्त हुन्छ ! त्यसैले यो पवित्र अपुङ्गो सेवन गर्न कामतका तमाम सेवकलाई आदेश दिइन्छ !
कामत मेलामा ०४६ सालको जनआन्दोलन ताकाका प्रतिकार समितिका अध्यक्ष अग्रपंक्तिमा विराजमान थिए ! जीवनको अधिकांश समय पञ्चायतको हण्डी सेवनकर्ता त्यस मेलाका हर्ताकर्ता देखिन्थे ! दक्षिणक्षेत्र जाँदा काङ्ग्रेस खेद्ने पूर्वअखिले वरिष्ठ काङ्ग्रेसको उपाधि भिरेर अगाडिको कुर्सीमा विराजमान थिए !! क्याम्पसमा अखिल हुँदै विभिन्न पार्टी चहार्दै अहिले महासमिति भ्याएका महापुरुषको पनि गरिमामय उपस्थिति थियोे ! कुनै समय माओवादी भएर काङ्ग्रेस कुट्ने काङ्ग्रेस काट्ने त बीपीपछिको वरिष्ठ भैगो ! उसको चुरिफुरी बेग्लै थियो ! सबै खोरेतको जोड्दार स्वागत तालिपछि केही पुराना खोरेत इतर काङ्ग्रेसले त्यो लेस्याइलो पहेँलो बस्तु अपुङ्गो नभएर मानव विकार भएको तर्क पेश गर्ने सम्भावना देखिएकोले ‘मेलाको गरिमा कायम खातिर’ बाहिर जाने उर्दी पहिले नै जारी भैसकेको अवस्थामा रोकटोक तर्क-वितर्कको सम्भावना नरहेकोले खोरेत इतर काङ्ग्रेसको निष्कासनपछि मेलाको गरिमा कायम भो !
यसैबीच सवारी मन्त्रीले बाहिर कोही आएको सूचना सम्प्रेषण गऱ्यो ! दाइबाट जिज्ञासा बक्स भो – ‘को हो ?’ सवारी मन्त्रीले जाहेर गऱ्यो – ‘दाइ ! कोही बिपिको भतिजो रे ! आफूलाई डाक्टर समेत बताउँदैछन् ! खोरेतग्रस्त भएकोले तपाईंलाई भेट्न खोज्दैछन् !’
डाक्टर भित्र पसे ! दाइको आसनमुनिको सुकुलमा थचक्क बसेपछि दाइबाट सोधनी भो– ‘के कामले पाल्नु भो डाक्टरजी ? कुनैबेला त मेरो मुख पनि हेर्न नरुचाउने आज कसरी बाटो बिराउनुभो ?’
दाइको कटाक्षबाट घायल डाक्टर बोल्नुभो- ‘पास्ट ईज पाष्ट ! कुनै समय तितो थियोे होला ! तपाईं काङ्ग्रेसको खतरनाक खोरेत हो भन्ने मैले ढिलैभएपनि बुझेको छु ! अहिले म दोधारमा छु ! विशेष भनौं कि नियमित ? अन्योलमा छु ! जसोगर्दा पनि गगनले मलाई पछार्ने नै देख्दैछु ! के गरौं ? तपाईंकै शरणमा आएँ ! उपाय सुझाउनुस् !’
‘हेर्नुस् डाक्टरजी ! तपाईं राजनैतिक दाउपेच नजानेको सोझो मान्छे ! मोहनबहादुर बस्नेतले भनेझैँ उनको जागिरे ! तमाम काङ्ग्रेस पञ्चायतविरुद्ध आन्दोलनरत रहँदा तपाईं डाक्टरिमा रमाइरहेको मान्छे ! काका प्रधानमन्त्री भएपछि जागीर खान आउनुभो ! काका बितेपछि राजनीतिमा हामफाल्नुभो ! सोझा काङ्ग्रेसले तपाईंले कोइरालाको विरासत थाम्नुहोला भनेर तपाईंलाई नेता मानी टोपले ! तपाईं मोहन बस्नेतको जागीरे न हो ! राजनीति के जान्नु ? कोइरालाको विरासत कसरी थाम्नु ? तपाईंमा हामीजस्तो छलकपटको ज्ञान थिएन ! तरपनि देर आए.. दुरुस्त आए !! अब म तपाईंलाई कपट–ज्ञान दिन्छु ! हामीसँग आउने हो त ?’ दाइले जिज्ञासा राख्नुभो !
भन्नुस् न ! कस्तो ज्ञान हो ?
यो अपुङ्गो सेवन गर्नुस् ! राजनैतिक शक्तिवद्र्धक अपुङ्गो हो !
डाक्टरले आशंका व्यक्त गर्नुभो– ‘यो अपुङ्गो होइन ! मानव विकार पो हो त !!’
‘हेर्नुस् डाक्टरजी ! गाउँमा हुँदा पाइखाना, ट्वाइलेट, मैदान अनेक नाम दिन्छन् ! शहर पसेपछि यसलाई वासरुम भन्छन् ! वास भनेको सफा अनि रुम भनेको कोठा हो ! सफा कोठाबाट निस्केको नेताको बस्तु विकार हुन्न ! अपुङ्गो हुन्छ !! यो बुढानीलकण्ठको अपुङ्गो हो ! हामी सबै यसको सेवनबाट अहिलेसम्म तन्दुरुस्त छौँ !’ दाइले आफूछेउ रहेका अरु ६ भाइतिर चोरऔंलो तेर्स्याउनुभो ! ६ भाइले एक स्वरमा ‘हो मा हो’ मिलाए !
डाक्टरजी निकैबेर घोरिनुभो !
‘यो अपुङ्गो सेवनबाट म नेता हुन सक्छु त ? गगनलाई रोक्न सक्छु त ?’ डाक्टरले आशंका व्यक्त गर्नुभो !
विशेष होइन चुनावपछि नियमित हुनुपर्छ मात्रै भन्नुस् न ! २०-३० पर्सेन्ट दिने जिम्मा मेरो भो ! देउवापछिको सभापति तपाईं नै हो ! हाम्रो ज्ञारेन्टी भो !! ६ भाइ खोरेतले सहमतिमा टाउको हल्लाए !! लु हात थाप्नुस् !
डाक्टरले हात पसार्नुभो ! दाइले अपुङ्गो पस्किदिनुभो ! डाक्टरले सेवन गर्नुभो ! थोरै मुख बिगार्नुभो ! गगन पछार्न खातिर दुर्घन्ध पचाउनुभो !
दाइ कामतका खोरेतले नारा घन्काए – ‘खोरेत एकता जिन्दावाद ! जेन्जी आउ झापा बचाउ !!’
खोरेत समुहले नारा घन्कायो – ‘सात भाइ थियौँ, अब आठ भाइ भयौं ! खोरेत एकता जिन्दावाद !’
मोहन बस्नेतले भनेझैँ उनका जागिरे जागिरे नै रहे !!
प्रतिक्रिया