कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको तयारी तीव्र

कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको तयारी तीव्र


नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । उक्त महाधिवेशनको मिति दुई दिनमात्र बाँकी रहँदा काठमाडौं उपत्यकाका विभिन्न सडक पार्टीका झण्डाले सिँगारिएका छन् ।

यही पुस २७ गतेदेखि सुरु हुने विशेष महाधिवेशनस्थल भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायतका प्राविधिक पक्षका कामहरू अघि बढाइएको आयोजक समितिले जनाएको छ ।

स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले विशेष महाधिवेशनमा करिब एक हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिँदै भनेका छन्, ‘भृकुटीमण्डपमा शुक्रबार (२५ पुस) देखि नै मुख्य मञ्च निर्माण सुरु भइसकेको छ ।’

यसैगरी महाधिवेशनमा सहभागिताका लागि देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौं आउनेक्रम सुरु भएको आयोजक समितिको भनाइ छ ।

जनपरिचालन समितिका संयोजक जगदिश्वरनरसिंह केसीले उद्घाटन सत्रमा हजारौँको सङ्ख्यामा सहभागिता रहने दाबी गरे ।

कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

photo: rss