धर्मनिरपेक्षताको झोलामा हराएको गाउँ !

धर्मनिरपेक्षताको झोलामा हराएको गाउँ !


गाउँ कुनै भूगोल मात्र होइन । त्यो एउटा चेतनाको संरचना हो । बिहान घाम झुल्किनुअघि नै गाउँ ब्युँझिन्थ्यो । त्यो ब्युँझाइ शरीरको होइन, जीवनको थियो । गोठबाट आउने बास्ना, अगेनुको धुवाँ, भिजेको घाँसको सुवासले मानिसलाई प्रकृतिसँग जोड्थ्यो । त्यो सुवास कुनै सम्झना होइन, एउटा जीवनपद्धति थियो ।

त्यो समय गाउले र बाटोबीच द्वन्द्व थिएन । मानिसलाई काँडाले घोच्थ्यो, ढुंगाले दुखाउँथ्यो, माटोमा चिप्लन्थे, तर कसैले बाटोलाई दोष दिइँदैनथ्यो । त्यो पीडा जीवनको अनुशासन थियो । गाउँलेजीवन कठिन भएपनि अर्थपूर्ण थियो । आजको सजिलो र सुखी देखिने तर अस्तयस्त जीवनजस्तै त्यहाँको जीवन थिएन ।

शिक्षा पनि त्यहीँ गाउँमा थियो । खेतमा, गोठमा, खोल्सामा र आँगनमा थियोे । विद्यालयका भित्ताले भन्दा माटोले धेरै कुरा सिकाउँथ्यो । त्यतिबेलाको शिक्षाले काम गरेर खानु लाज होइन, आत्मसम्मानको अभ्यास भन्ने सिकाउँथ्यो । हातमा माटो र गोबर लाग्नु अपमान होइन, पहिचान हो भनेर बुझाउँथ्यो । श्रम कुनै देखाउनुपर्ने कर्म थिएन, जिउनुपर्ने अवस्था थियो । श्रम ध्यानजस्तै स्वाभाविक र आनन्दजस्तै आत्मीय थियो ।

मेलापात गाउँको सामूहिक चेतनाको रूप थियो । खेतमा हिलोसँगै गीत मिसिन्थ्यो । झ्याउरे, देउडा, चुट्का र ठट्टा कामकै बीचमा हुन्थे । त्यहाँ ‘मेरो पालो’ भन्ने प्रश्न उठ्दैनथ्यो, किनकि सबैको पालो सबैकै थियो । पसिना साझा थियो, थकान साझा थियो । हाँसो त झनै सबैको साझा थियो ।

समयसँगै शब्दहरूको अर्थ फेरिन थाल्यो । श्रम गर्ने मान्छेलाई ‘पाखे’ भनिन थाल्यो । आफ्नै बारी खनेर खाने, खेतमा उब्जाएर बाँच्ने जीवनलाई ‘गरिबी’को नाम दिइयो । उल्टै गाउँ छोडेर अर्काको देशमा पसिना बेच्नेलाई ‘सफल’ र ‘सुखी’ मान्न थालियो । यहीँबाट मूल्यहरूको विचलन सुरु भयो ।

शिक्षा पनि बदलियो । ज्ञानभन्दा डिग्री भारी बनाइयो । साना बालकको काँधमा जीवन बुझ्ने विवेक होइन, भविष्यको बोझ राखियो । शिक्षा अब माटोसँग जोड्ने साधन रहेन, गाउँबाट टाढा लैजाने सिँढी बन्यो । सपना खेतमा फल्ने बालीमा होइन, परदेशको भिसामा अड्किन थाल्यो ।

हिजो गाउँमा सोध्दा, ‘ठूलो भएर के बन्छौ ?’ भन्ने प्रश्नको उत्तर जीवनसँग जोडिएको हुन्थ्यो, बैद्य, पण्डित, योगी, सेना वा सेवाको कुनै रूप । आज उत्तर बदलिएको छ । अमेरिका, युके, अस्ट्रेलिया पो बनेको छ । कस्तो दुर्भाग्य ! पेशा होइन, गन्तव्य पो सपनाको नाम बनेको छ !!

धर्मनिरपेक्षताको नाममा यहाँ धर्म मात्र होइन, चेतनाको पनि विस्थापन भयो । आस्था र रैथाने संस्कारलाई निजी बनाउने नाममा समाजबाट झिकियो । परिणामतः आत्मा पनि आयात र निर्यातको बस्तुजस्तै बन्न पुग्यो । स्वधर्मले बाँधेको समाज व्यवस्थाको फितलो झोलाभित्र हराउन थाल्यो ।

पहिले गाउँमा विदेश जाने सपना हुँदैनथ्यो । सपना भनेको राम्रो बाली, स्वस्थ गाईभैँसी, छोराछोरीको हाँसो र चाडपर्वको तयारी थियो । दशैं आउँदा बाटो हेर्ने बानी थिएन, किनकि सबै गाउँमै हुन्थे ।

यो व्यवस्थाको कारण बिस्तारै गोठालो जाने बाटो सुनसान भयो । मेलापातमा गीतको सट्टा मौनता बस्न थाल्यो । गाउँ भन्न थालियो, फलानो शहर गयो, कोही विदेश गयो । यी र यस्ता वाक्यहरू सामान्य बने । सुरुमा लाग्थ्यो– केही कमाएर फर्किन्छन् । तर यो व्यवस्थाले धेरैलाई फर्किन नै दिएनन् । विदेशबाट पैसा आयो, मान्छे आएन । घर पक्की भए, तर घरभित्र आवाज हरायो । गोठमा ताल्चा लाग्यो, खेत बाँझिन थाले ।

आज गाउँ केवल एउटा उदास चित्रपट बनेको छ । भूगोल त बाँकी छ, तर आत्मा क्रमशः मर्दै गएको छ । उज्यालो त अझै छ । त्यो पनि धिप्धिपाउँदो दियो बाल्ने हातहरू छैनन् । हिजो जुन आँगनमा देउडा र चुट्काको गुञ्जन थियो । आज त्यहाँ झारपात र सुनसान मौनताको राज छ ।

सबैभन्दा हृदयविदारक दृश्य गाउँका वृद्ध आँखाहरू परदेशिएको छोरो फर्किने आसमा बाटो हेर्दाहेर्दै अस्ताउँछन् । अहिले गाउँघरमा मृत शरीरलाई काँध दिने चार जोर हात पनि भेटिँदैनन् । मान्छे मर्दा लास उठाएर लैजाने मलामीको अभाव हुन्छ । सुत्केरी महिलालाई अस्पताल लैजान सवारी मात्र होइन, साथ दिने मान्छे खोज्नुपर्छ । बन्द ढोका, एक्लो आँगन र टाढा गएको छोरालाई सम्झँदै रुने आमाबाबु गाउँको मौन चिच्याहट बनेका छन् ।

डलर र डिग्रीको नाममा हामीले त्यो मूल्यवान् चेतना गुमायौँ । जसले मान्छेलाई मान्छेसँग जोड्थ्यो । शहर र परदेशका गगनचुम्बी महलहरू त ठडिए । पुर्खाको विरासत बोकेको मौलिक गाउँ भने आज यो व्यवस्था र धर्मनिरपेक्षताको रित्तो झोलामा कतै हराएको छ ।

अझै सबै सकिइसकेको छैन । माटोले मान्छेलाई बिर्सेको छैन । गाउँका बाटाहरू अझै पर्खिरहेका छन् । यदि कोही फर्केर आएर फेरि गाईको घाँटीमा घण्टी बाँध्यो भने, कसैले खेतमा हिलोसँगै हाँसो मिसायो भने, कसैले पैसा होइन, जीवनलाई प्राथमिकता दियो भने गाउँ फेरि गाउँ बन्छ ।

अन्ततः गाउँ रित्तिनु भनेको बस्ती सर्नु मात्र होइन, एउटा सिङ्गो सभ्यताको अवसान हुनु हो । अब यो व्यवस्थामाथि प्रश्न गर्न सकियो भने, स्वधर्मको मर्म बुझेर, माटोसँगको सम्बन्ध पुनः गाँसेर फर्किन सकेमात्र गाउँ आफ्नै चेतनामा फर्किन्छ । गाउँ र पुर्ख्यौली विरासत, इतिहास बचाएर, पैसा कमाएर होइन, मान्छे बनेर बाँच्छ ।