पूर्व श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहले झण्डै दुई दशकअघि शान्ति ल्याउँछौँ र आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं अनि स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार आफूले ‘श्रीपेच र राजदण्ड’ जनताको नासो जनताकै संरक्षणमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिर रहेको सन्दर्भ स्मरण गर्दै नारायणहिटी राजदरबारबाट आफू बाहिरिएको करिव दुई दशक बित्दा पनि देशले सामाना गरिरहनु परेको संकटले आफूलाई चिन्तित तुल्याएको बताउनुभएको छ ।
बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ– ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ ।’
यस्तो छ राजा ज्ञानेन्द्र शाहद्वारा जारी सन्देशको पूर्णपाठ-
स्वदेश तथा विदेशमा रहे बसेका प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
नेपाल राष्ट्रका निर्माता, नेपाली समाजका समन्वयकर्ता एवम् एकताका धरोहर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आम नेपालीका निम्ति श्रद्धा तथा सदा स्मृतिका व्यक्तित्व होइबक्सिन्छ । मौसुफको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा हामी उहाँलाई नमन गर्दै श्रद्धासुमन अर्पण गर्दछौँ ।
जस्तोसुकै शक्तिसँग पनि संघर्ष गरेर राष्ट्र एकीकरणमा सबै जात, सबै धर्म र सबै क्षेत्रका नेपालीको सक्रिय, सबल र सफल नेतृत्व गरेको शाहवंशीय राजसंस्थाको इतिहास सबैका सामु छर्लङ्ग छ । नेपाली जनताको खुशी र समृद्धिलाई नै आफ्नो रुचि ठान्ने शाहवंशीय परम्परा रहँदै आएको छ । बडामहाराजाधिराजको मार्गनिर्देशनको परिधिमा रही, हामीले नेपालीजनको एकता र वृद्धिमा जोड दिँदै आएका थियौँ र छौँ । तर कालान्तरमा कतैबाट उत्पन्न अवान्छित भ्रमको चपेटामा देश पऱ्यो ।
झण्डै दुई दशकअघि शान्ति ल्याउँछौँ र आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं अनि स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार हामीले ‘श्रीपेच र राजदण्ड’ जनताको नासो जनताकै सुरक्षित संरक्षणमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ । यो दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजोरीको अनुमोदन थिएन, न त यो भावना आमजनतामा नै थियो । नारायणहिटी राजदरवारबाट हामी बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामाना गरिरहनु परेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ ।
बडामहाराजाधिराजबाट बाइस वर्षको युवा अवस्थामै सुरु गरिबक्सेको एकीकरणको सफलतापछि आधुनिक नेपाललाई ‘चार वर्ण छत्तिस जातको साझा फुलबारी’को रुपमा चित्रण गरिबक्सेको थियो । यो मुलुक राजाको मात्र होइन जनता र राजाको समान स्वामित्वको देश हो भन्ने सन्देश पनि दिइबक्सेको थियो ।
भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि । सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरी ‘पृथ्वी पथ’मा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आव्हान पनि छ । नेपाली विश्वमा जहाँ रहेपनि नेपाली मूलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ । मुलुक स्थायी वा अस्थायी रुपले छोड्दैमा देशसंगको सम्बन्ध तोडिन सक्दैन ।
देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविष्यबारे निराशाको संकेत दिइरहेको थियो । अब पुँजी र पुँजीपतिहरू तथा कर्मवीर उद्यमीहरुको समेत पलयान हुन थालेको छ । यो क्रमलाई तत्काल निरुत्साहित र नियन्त्रण गर्न सकिएन भने मुलुक असफलताको संघारमा पुग्न सक्ने सम्भावनालाई लिएर हामी आहत भएका छौं । बडामहाराजाधिराजबाट स्वदेशको पुँजी पलायनमा रोक लगाउनुपर्ने पक्षलाई महत्वका साथ जोड दिइबक्सि ‘जनता सक्षम र बलिया भए मात्र देश बलियो हुन्छ’ भनी दिव्य उपदेशमा उल्लेख गरिबक्सेको छ ।
जब–जब युवापुस्ताको भावना, चाहना र आवश्यकताको सम्बोधन गरिँदैन तब-तब असन्तोष पैदा हुन्छ । जसले विद्रोहको रुप पनि लिनसक्छ भन्ने सत्य नेतृत्वले हृदयङ्गम गर्नै पर्दछ । नेतृत्वले पटक-पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो । जसरी भविष्यका कर्णधारहरूको ज्यान गयो त्यसले सबैलाई स्तब्ध बनाएको छ । युवाहरूमा भ्रष्टाचारप्रति असहिष्णुता र आईटी प्रतिस्पर्धामा अग्रताको जोश देखिनु उज्वल भविष्यको संकेत हुन् । तर, उन्नतिको गन्तव्यमा राजनीति चुक्यो भने अल्छीको सपना मात्र बन्न जान्छ । स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको हित खोज्दै हिँड्छ । राष्ट्रिय सहमति विना निकास खोज्नु समय खेर फाल्नु मात्र हो । सम्मुन्नतिको यात्रामा सबै मिलेर अघि बढौँ ।
नेपालको सम्वेदनशील अवस्था र बदलिँदो भूराजनीतिक परिस्थितिलाई बुझ्न नसक्दा हामी मित्रराष्ट्रहरूको विश्वास र भरोसा गुमाउने अवस्थामा पुगेका छौँ । असन्तुलित बन्दै गइरहेको परराष्ट्र नीति र व्यवहारले राष्ट्रिय हितमा गम्भीर असर पुगिरहेको समयमा दिव्य उपदेश र बौद्धिक दृष्टिकोणहरूको महत्व अझ बढ्दै गएको छ । कतिपय देशले स्वार्थको लागि कुनै न कुनै सुरक्षा-कवज खोज्दछन्, हाम्रो देशको सही छहारी शान्तिको कवज हुनै पर्दछ ।
नेपाल निर्माणमा मार्गदर्शी र सेनापति बडामहाराजाधिराजको विरासत र वंशका प्रतिनिधिका रुपमा मेरो भूमिका स्पष्ट रहेको छ । पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, सबै तहका भ्रष्टाचारलाई दण्डनीय अपराध मान्ने र कसैप्रति घाह नराख्ने शान्तिक्षेत्र नेपाल नै हाम्रा अभीष्ट र मार्गचित्र हुन । जनताको चाहनाबाट ‘कजाई’ निर्धारित हुनुपर्ने परिकल्पना पृथ्वीपथका मौलिक आकाङ्क्षा हुन् ।
अन्त्यमा, जनता र राजाले एकीकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसात गर्दै सबल राष्ट्र बनाउने महान् कार्यमा सबैलाई जुटाउँ र नेपाललाई फेरि उठाउँ । श्री गोरखनाथले हामी सबैलाई सत्बुद्धि दिउन् । जय नेपाल !
प्रतिक्रिया