नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्ने महामन्त्री शर्माको उद्घोष

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्ने महामन्त्री शर्माको उद्घोष


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका केस्रा-केस्रा केलाएर छलफल गरिने बताएका छन् ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबार काठमाडौंमा भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा सङ्कलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने उल्लेख गरे ।

महामन्त्री शर्माले भने, ‘आगामी फागुन २१ गते रूख चिह्नमा मतदान गर्नुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, आगामी दिनमा नदोहोऱ्याउने सङ्कल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दैछौँ ।’

उनले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिकलाई सन्तुष्ट गर्न नसकिएको बताए । सरकार परिवर्तनले सत्तामा पुगेकालाई सन्तुष्टि मिलेको भए पनि आमनागरिकले अनुभूति गर्न नसकेको महामन्त्री शर्माको भनाइ थियो ।

उनले विशेष महाधिवेशनलाई केवल सङ्गठनात्मक अभ्यास नभइ जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताए ।

महाधिवेशनले आवेगमा होइन विवेकमा निर्णय गर्ने उल्लेख गर्दै महामन्त्री शर्माले विशेष महाधिवशेनबाट पार्टी नफुट्ने विश्वास दिलाए । उनले भने, “पार्टी विभाजित गर्ने होइन अझ सशक्त बनाउने हो । हामी सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने दृढता व्यक्त गर्दछौँ ।”

आफूले गरेको कर्मको श्रेय पनि लिनुपर्ने र कमजोरी पनि सच्याउनुपर्नेमा उनले जोड दिए ।

जेनजी आन्दोलनपछि बदलिएको अवस्थामा मनलाई जोड्न बदलिएर अघि बढ्न सङ्कल्प गर्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले अबको परिस्थितिमा कांग्रेस नवीन सन्देशका साथ अघि बढ्न र कांग्रेसले नै जेनजी आन्दोलनका क्रममा नवयुवाबाट मागिएको सुशासनलाई सम्बोधन गर्ने ल्याकत राख्ने जिकिर गरे ।

जेनजी आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गर्न नहुने धारणा व्यक्त गर्दै महामन्त्री शर्माले उक्त आन्दोलन गत भदौ २३ गते गुमेका जीवनका बारेमा र भदौ २४ को घटनालाई पनि गम्भीर रूपमा लिएर छानबिन गर्नुपर्नेमा जोड दिए ।

यस्तै, पार्टीमा रुपान्तरणको विषय उठे पनि नेतृत्वले बेवास्ता गरेका कारण पनि आज कार्यकर्ता जागरुक भएको तर्क गर्दै उनले सरकारमा बस्नेहरुले जनतालाई विश्वास जगाउन असफल भएको बताए । सेवाग्राहीले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन नसक्दा जेनजी आन्दोलन भएको धारणा उनको थियो।

photo: rss