कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही, बदलिएको समयअनुसार कांग्रेस चलाउन खोज्दा कारवाहीमा परेको विश्वप्रकाशको टिप्पणी
नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मूल्ला मन्सुरलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज (३० पुस) सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उनीहरुलाई निष्कासन गरेको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।
महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरले कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको अगुवाइ गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यमा संलग्न रहेको आरोप छ ।
बैठकबाट बाहिरिनेक्रममा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी पेस गरेको १५औँ महाधिवेशनको कार्यतालिकासहित सबै निर्णयहरु पारित गरेको बताएका छन् ।
उता, कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता विश्वप्रकाश शर्माले आफू जिन्दगीमा पहिलो पटक कारबाहीमा परेको टिप्पणी गरेका छन् । विशेष महाधिवशेन गरेर पार्टीको हितविपरीत काम गरेको भन्दै कांग्रेस संस्थापन पक्षले पाँच वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी काराबहीको निर्णय गरेपछि उक्त निर्णयमा प्रतिक्रिया दिँदै उनले बदलिएको समय अनुसार कांग्रेस चलाउन खोजेको तर कारबाहीमा परेको जिकिर गरेका हुन् ।
बदलिएको समय अनुसार कांग्रेस चलाऔं भन्दा कारबाहीमा पर्नुपर्ने स्थिति आएको उनले उल्लेख गर्दै उनले कारबाही गरेर आफूलाई पुरस्कृत गरिएको टिप्पणी गरे ।
प्रतिक्रिया