सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी लामिछानेको मुद्धा फिर्ता लिने निर्णयप्रति ओलीको आपत्ति

सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी लामिछानेको मुद्धा फिर्ता लिने निर्णयप्रति ओलीको आपत्ति


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गरेका छन् ।

नेकपा (एमाले)द्वारा ४२औँ पिस्कर शहीद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले आफूहरु नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका साथ अहिले पनि लागिरहेको स्पष्ट पारे । लोकतान्त्रिक आन्दोलनका क्रममा पिस्कर काण्ड एक ऐतिहासिक तथा वीरतापूर्ण घटना भएको स्मरण गर्दै उनले शहीदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर निडरताका साथ लाग्न आग्रह गरे ।

फरक प्रसङ्गमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी मुद्धा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयप्रति आपत्ति जनाए ।

कार्यक्रममा वामनेता मेघराज पौडेललाई सम्मान गरिएको थियो भने विमोचित पुस्तकका सम्बन्धमा समालोचक डा. देवी नेपालले टिप्पणी गर्नुभएको थियो । सिन्धुपाल्चोकको पिस्करमा २०४० पुस ३० गते माघे सङ्क्रान्ति मेला मनाउनेहरुमाथि तत्कालीन सरकारले दमन गर्दा केही व्यक्ति शहीद हुनुका साथै र दर्जनौँ व्यक्ति घाइते भएका थिए ।