देउवा-नेतृत्व कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बिहान बस्ने
नेपाली कांग्रेसका ‘नवनिर्वाचित सभापति’ गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल गरेका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै आज (२ माघ) एक विज्ञप्ति जारी गरी एकताबद्ध भएर अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् ।
‘नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन, निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार निर्णय गरेको छ, यसप्रति हामी आभारी छौँ’ भन्दै उनले कांग्रेसका सदस्य र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल भएको उल्लेख गरेका छन् ।
सभापति थापाले भनेका छन्, ‘पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ, अब कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ ।’ विशेष महाधिवेशनमा सहभागी हुनुभएका र नहुनुभएका सबैलाई विधि विधानले प्रधानता पाएको र जय पराजयको विषय नभएको उनको भनाइ छ ।
‘कुनै अलमल नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ, विश्वास र भरोसा राख्नुहोस् अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ, रिफर्मको यात्रा सुरु भइसकेको छ, अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ’, थापाले भनेका छन् ।
अहिलेको परिस्थितिमा कांग्रेसलाई अगाडि बढाउन पार्टीका पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका सबैबाट पार्टीको लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहने विश्वास उनले लिएका छन् । कांग्रेस आमनेपाली जनताको अपेक्षा र नवयुवाको परिवर्तनको आकांक्षा अनुरूप अगाडि बढ्ने उनले बताए ।
यसैबीच, शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार (३ माघ) बिहान ८ बस्ने भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ः०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया