काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार (४ माघ) उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि साहले राजीनामा दिएको चर्चा छ । उनी पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीको चुनावी क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ ।
रवि लामिछानेले आफ्नो पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघिसारेको भनिएका साहले मेयरबाट राजीनामा दिएलगत्तै चुनावी अभियानमा सहभागिता जनाउने भएका छन् ।
साहले राजिनामा पत्रमा भनेका छन्, ‘प्रस्तुत विषयमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्थाबमोजिम, म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२/१०/०४ गतेदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु । यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु । अबका दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु ।’

प्रतिक्रिया